detail-img

अध्यक्ष ओलीको निर्देशनः ‘पार्टी बलियो बनाउन लाग्नूस्, एकता आफै हुन्छ’ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरूद्धको आक्रमण रोक्नका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ । 
अध्यक्ष ओलीले नेकपा (एमाले)मा फर्कनुभएका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्लाका नेता कार्यकर्ताहरूलाई आज पार्टी कार्यालय, च्यासलमा स्वागत गर्दै पार्टीविरूद्ध लागेका शक्तिहरूसँग सङ्घर्ष गर्नुको विकल्प नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पार्टीविरूद्धको आक्रमण रोकिन कि त हामीले अग्रगामी कार्यक्रम छोड्नुपर्छ कि त शान्तिपूर्ण सङ्घर्ष गर्नुपर्छ, लोकतान्त्रिक प्रक्रियाबाट विरोधको सामना गर्दै विजयी हुनुपर्छ । 
उहाँले एमालेलाई सिध्याउनु भनेको राष्ट्रिय शक्तिलाई सिध्याउने भनेको हो भन्नुहुँदै पार्टीमा सक्रिय, योजनाबद्ध र एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 
पार्टी अहिले विरोधीहरूले सिध्याउँछौं भनेको ठाउँबाट सबल ठाउँमा आइपुगेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– अरू दल अस्तित्व जोगाउन गठबन्धनमा रहेका छन्, एमाले अस्तित्व जोगाउन होइन, समृद्धि नेपाल सुखी नेपाली बनाउन सबल र सुदृढ बन्दै अगाडि बढेको छ । 
गठबन्धनमा रहेका दलहरूलाई तिनका विदेशी प्रभुले गठबन्धन नछोड्न भनिरहेको भनाइ उहाँले राख्नुभयो । 
नेकपा (एमाले)लाई मजबुत राष्ट्रिय शक्ति बनाउनका लागि आफूहरू एकता र एकीकरणको पक्षमा रहेको स्पष्ट गर्दै  अध्यक्ष ओलीले त्यसकै श्रृङ्खलाका रूपमा आज साथीहरूलाई स्वागत गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो– पार्टी बलियो बनाउन लाग्नूस्, एकता आफै हुन्छ ।  
अध्यक्ष ओलीले अहिले देशको राष्ट्रिय हित सङ्कटमा रहेको बताउँदै महाकाली सन्धि गर्दा देश बेच्यो भनेर हुण्डरी मच्चाउने तथाकथित देशभक्त शक्ति अहिले कहाँ छन् ? भनि प्रश्न गर्नुभयो । उहाँले महाकाली सन्धि गरेर अघिल्लो सन्धि सच्चिएको र त्यसबाट भारतलाई बाँध बाँध्न दिएको नेपालको जमीन फिर्ता ल्याइएको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले २०७४ सालको निर्वाचन अघि माओवादीसँग चुनावी गठबन्धन र निर्वाचनपछि पार्टी एकता पनि आफ्नै पहलमा भएको बताउँदै त्यसबेला निर्वाचनमा एमाले र माओवादी गठबन्धनले दुईतिहाइको हाराहारी सिट जिते पनि सरकार गठन हुन नदिने षडयन्त्रमा प्रचण्ड लागेका कारण आफूले निर्वाचन परिणाम आएको करिव तीनमहिनापछि फागुनमा मात्र सरकार गठन गर्न सकेको स्पष्ट  गर्नुभयो ।  
उहाँले नेकपाभित्र डरलाग्दो घुसपैठ भएको र त्यो कार्यकर्ता तहलाई धेरै थाहा नभएको बताउँदै पार्टी विभाजन हुनबाट जोगाउन आफूले हरसम्भव कोशिश गरे पनि पार्टीभित्रका मिर कासिम र मिर्जाफरहरूका कारण विभाजन रोक्न नसकेको स्पष्ट गर्नुभयो ।  
त्यस अवसरमा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने अवस्थामा पुगेको पनि बताउनुभयो । 
उहाँले भन्नुभयो– हेर्दा हेर्दै कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेको छ, पात सुकेर, बोक्रा पट पट फुटेर बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन ।