detail-img

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट  नेकपा (एमाले)लाई बदनाम गर्न खोजिएको बताउनुभएको छ । 
पार्टी केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा आफू र प्रधानमन्त्रीबीच भएका भेटवार्ताका बारेमा जानकारी गराउँदै उक्त कुरा बताउनुभएको हो । 
राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले)ले गठबन्धनसँग भागबण्डा खोज्यो भनी गलत प्रचार गरिएको थियो । 
राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऊँ भन्ने प्रस्ताव पहिले प्रधानमन्त्री प्रचण्डले राख्नुभएको र पछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्तरूपमा राख्नुभएको जानकारी गराउँदै अध्यक्ष ओलीले एमालेले केही सिट दिनुपर्यो भनेर नमागेको र विल्कुलै गलत प्रचार गरिएको स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो– सरकारले आफै राष्ट्रिय सभा निर्वाचनमा सबै पार्टी मिलेर जाऊँ भन्ने प्रस्ताव हामीसँग राखेको हो । सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको हो । त्यो प्रस्ताव पछि नेपाली कांग्रेसका सभापतिसँग समेत परामर्श भएर उहाँहरूले निष्कर्ष सुनाउनुभएको थियो । 
‘लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन हामीले आधारभूत रूपमा मिलेरै जानुपर्छ, राष्ट्रिय सभामा हामीले एकलौटी गर्न चाहँदैनौं, नेकपा (एमाले) पनि साथै जाउँ भन्ने हाम्रो प्रस्ताव छ ।,’ प्रधानमन्त्री प्रचण्ड र देउवाको संयुक्त भनाइ सुनाउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्नुपर्ने कारण थिएन र अस्वीकार गरेनौं तर हामीलाई यो प्रस्तावभित्र के छ !? भन्ने आशङ्का नै थियो । 
एमालेसँग मिलेरै जाने हो भन्ने उहाँहरूले बहुत दृढताका साथ सुनाए पनि यो प्रस्ताव वास्तविक प्रस्ताव होइन भन्ने आफूलाई लागिरहेको र त्यो दुईतीन दिनमै छर्लङ्ग भएको उहाँले बताउनुभयो । 
राष्ट्रिय सभा निर्वाचन अलि पछि (माघ ११)मा छ, सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायको विषय भोलि टुङ्ग्याइहालौं भन्ने अर्को प्रस्ताव उहाँहरू (प्रचण्ड÷देउवा)बाट आएपछि राष्ट्रिय सभा सदस्यका केही सिटको ललिपप देखाएर शान्ति प्रक्रियाको बाँकी काम पीडित मैत्री नहुने÷नबनाउने गरी टुङ्ग्याउने चाहना रहेछ भन्ने स्पष्ट भएको अध्यक्ष ओलीले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रिय सभा सदस्यमा केही सिट पाएपछि शान्ति प्रक्रिया टुङग््याउने सन्दर्भमा एमाले आफ्नो नीति, सिद्धान्त र मान्यता छोडेर आइहाल्छ भन्ने उहाँहरूको बुझाई रहेछ तर हामीले भोलि नै नटुङ्ग्याउँदा के हुन्छ ? भनी प्रश्न गरेपछि राष्ट्रिय सभामा सिट बाँडफाँट गरेर जान आफैले राखेको प्रस्तावबाट उहाँहरू पछाडि हट्नुभयो ।  
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले योजना सफल नहुने भएपछि साना र गठबन्धनमा रहेका अन्य दलले मानेनन् भनेर जवाफ दिएको उहाँले केन्द्रीय कमिटीलाई जानकारी गराउनुभयो । 
अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम, सङ्क्रमणकालीन न्यायको समस्या अविलम्ब टुङ्ग्याउनुपर्छ भन्ने मान्यता एमालेको रहेको बताउनुभयो । 
उहाँले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउँदा पीडितलाई थप पीडा दिएर होइन न्याय दिएर, पीडित मैत्री कानुन बनाएर गर्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन चाहेको तर प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा राख्दा तयार नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले द्वन्द्वकालका माओवादी र सरकार दुबैतर्फका पीडक अहिले सत्ता गठबन्धनमा रहेकाले सङ्क्रमणकालीन न्यायको विषय पीडितले न्याय पाउने गरी टुङ्गिने सम्भावना न्यून रहेको बताउनुभयो ।