detail-img

केन्द्रीय कमिटी सातौं बैठकः दोस्रो दिन अवधारणाहरूमाथि समूहगत छलफल 

काठमाडौ । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकको दोस्रो दिन आज बैठकमा प्रस्तुत गरिएका चारवटा अवधारणाहरूमाथि केन्द्रित भएर समूहगत छलफल भयो । अवधारणाहरूमाथि छलफल गर्न बैठकको पहिलो दिन हिजो विभिन्न नौवटा समूहहरू गठन गरिएको थियो । 
अध्यक्ष केपी शर्मा ओलीले विभिन्न समूहमा भइरहेको अबधारणामाथिको छलफल निरीक्षण गर्नुभयो ।


समूहगत छलफलमा उठेका विषयहरूमा स्थायी कमिटीको समूहबाट संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजंग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासबाट पार्टीका केन्द्रीय सदस्य पेम्बा लामाले आआफ्नो समूहको लिखित प्रतिवेदन केन्द्रीय कमिटीको भोलि बस्ने बैठकमा प्रस्तुत गर्नुहुने छ । 
बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्यहरूले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन र कमिटी प्रणालीलाई स्थापित गर्न छलफलमा जोड दिनुभएको छ । 
छलफलमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाईका साथ पालना गर्नुपर्ने, शुद्धीकरण शुरु हुनुपर्ने, पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्ने जस्ता पार्टी संगठन निर्माणमा महत्व राख्ने विषयमा सहभागीहरूले गम्भीरतापूर्वक सुझाव राख्नुभएको छ । 
साथै संसदको कामलाई प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडाहरूसम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझावहरू सहभागीहरूले राख्नुभएको छ । 
प्रविधि प्रदर्शनी
केन्द्रीय कमिटी बैठकको अवसर पारेर पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी कार्यालय परिसरमा दुई दिने ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको थियो ।


अध्यक्ष केपी शर्मा ओलीले प्रविधि प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिका बारेमा जानकारी लिनुभयो ।  उक्त  प्रदर्शनी पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आउनुभएका नेताहरू लगायतले अवलोकन गरी जानकारी लिनुभएको थियो । प्रदर्शनीका बारेमा विभागका सचिव सन्जिव रोकाहाले जानकारी गराउनुभएको थियो । 
स्वास्थ्य डेस्क
केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठक स्थलमा स्वास्थ्य डेस्क राखिएको छ ।


राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले राखेको स्वास्थ्य डेस्कबाट धेरै नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिनु भएको छ भने औषधी समेत उपलब्ध गराइएको छ । महासंघका अध्यक्ष डा. झलक गौतम लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा उपलब्ध गराइरहनुभएको छ ।