detail-img

आम जनता पार्टीका उपमहासचिव कुशवाह एमालेमा 

काठमाडौं । आम जनता पार्टीका उपमहासचिव तथा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाह, सो पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह र दीपककुमार दुवे नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ  ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा र अवीर लगाई स्वागत गर्नुभयो । 
उहाँहरूसँगै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सुरेन्द्रप्रसाद चौधरी र नेसपाका सरफलाल महतो पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले थोपा थोपा मिलेर सागर बने जस्तै व्यक्ति व्यक्ति संगठित गरेर पार्टीलाई सबै ठाउँमा बहुमतमा पुर्याउने गरी पार्टीका नयाँ पुराना सबै साथीहरू जनतामा जानुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले विगतमा पार्टीलाई सिध्याउन ठूलो षडयन्त्र भए पनि त्यो षडयन्त्रको सामना गर्दै पार्टी आजको सबल अवस्थामा आइपुगेको बताउनुभयो । 
नेकपा (एमाले) महान् उद्देश्य लिएर असाधारण गन्तव्यतर्फ अगाडि बढिरहेकाले सानातिना समस्यामा अल्झिएर नबस्ने बताउँदै अध्यक्ष ओलीले भूलबश, भ्रममा परेर पार्टीबाट बाहिर रहेका साथीहरूञलाई पार्टीमा फर्काउने कुरामा सङ्किर्णता नहुने स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले दुईतिहाइको सरकार ढाल्ने र पार्र्टी फुटाएर दक्षिणपन्थीको सरकार बनाउन सहयोग गर्ने र गल्ती महशुस नगर्नेहरूलाई भने एमालेमा ठाउँ नरहेको बताउनुभयो । उहाँले  त्यस्ता तत्वलाई एमालेमा प्रवेश नदिइने स्पष्ट गर्नुभयो । 
पार्टी विभाजनमा अन्तर्राष्ट्रिय षडयन्त्र रहेको र पार्टी विभाजनमा लाग्नेहरूले विदेशी प्रभुको आदेश पालना गरेको बताउनुभयो । 
पार्टी जीवनमा कहिले काहीँ यस्ता उतार चढाव आउने र त्यसबाट शिक्षा लिनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो निष्ठा देश र कम्युनिष्ट आन्दोलनप्रति छ, समाज परिवर्तनको आन्दोलनप्रति छ  । त्यसकारण अन्तर्राष्ट्रिय षडयन्त्रका वाहकहरूलाई पार्टीमा भित्र्याउनु हुँदैन । 
उहाँले भूलवश र भ्रममा परेर पार्टीबाट बाहिर रहेकाहरूले गल्ती महशुस गर्दै पार्टीमा फर्कनुभएकोमा धन्यवाद दिनुभयो । 
सो अवसरमा नवप्रवेशीहरूको तर्फबाट आम जनता पार्टीका उपमहासचिव कुशवाहले २०७९ को संसदीय निर्वाचनको समयमा पार्टीका विरूद्धमा ठूलो षडयन्त्र भएको र त्यो षडयन्त्र बुझ्न नसक्दा  आफूहरू पार्टीबाट बाहिरिन पुगेको बताउँदै अब बाँचुन्जेल एमालेको एउटा इमान्दार सिपाही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।