detail-img

उपनिर्वाचनमा दुबै ठाउँमा हामी जिल्छौंः अध्यक्ष ओली 

एकताबद्ध र ऊर्जाका साथ निर्वाचनमा लाग्न निर्देशन 
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को प्रतिनिधि सभा सदस्य र बझाङको प्रदेश सभा सदस्यका लागि बैशाख १५ गते हुने उपनिर्वाचनमा दुवै ठाउँमा एमालेले विजय हासिल गर्ने  बताउनुभएको छ । 
बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रदेश सभा उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७९ को निर्वाचनमा एमालेले पार्टीविरुद्धको गठबन्धन बेहोरेर आएको बताउनुभयो । 
अहिले खुल्ला प्रतिस्पर्धा भएकाले एमालेले चुनाव जित्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– यस पटक हामी हार्दैनौँ, यस पटक हामी जित्छौँ र यसपल्ट हामीले हार्नै मिल्दैन । 
विगतमा सबै एकातिर, एमाले एकातिर भएको, एमालेका हस्ती भनिएका नेताहरू पार्टी फुटाएर एमाले विरुद्ध चुनाव लडेको परिस्थितिमा पनि नेकपा (एमाले)ले एक्लै चुनाव लडेर सर्वाधिक लोकप्रिय पार्टी बनेको उहाँले स्मरण गर्नुभयो । । 
उक्त निर्वाचनमा कांग्रेसले केही ठाउँमा निर्वाचन कब्जा गरेर, धाँधली गरेर संसदीय अङ्कगणितमा एमालेको भन्दा केही बढी सिट प्राप्त गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
त्यस बेला बझाङमा कांग्रेसले दौडमा जितेको नभई एमालेलाई डोरीमा अल्झाई लडाएर चुनाव जितको भनाइ उहाँले राख्नुभयो ।  
अध्यक्ष ओलीले बैशाख १५ गते आउन धेरै समय बाँकी नरहेकाले एकताबद्ध भएर थप ऊर्जाका साथ चुनावमा लाग्न आग्रह गर्नुभयो । 
उहाँले इलाम–२ मा एमालेले अत्यधिक मतले जित्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले गत निर्वाचनमा सबै मिल्दा पनि एमालेले एक्लै लडेर चुनाव जितेको स्मरण गराउँदै भन्नुभयो– यस पटक इलाममा हाम्रो कोही प्रतिस्पर्धी छैन, हामी जित्छौं । 
बझाङमा पनि कांग्रेसले माओवादी र समाजवादीको भोटले २०७९ सालको चुनाव जितेको बताउँदै यस पटकको निर्वाचनमा अन्तिममा पुग्दासम्म माओवादीले एमालेलाई समर्थन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस पटक कतै पनि बुथ कब्जा नहुने र हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले चुनावमा फजुल खर्च नगर्न पनि आग्रह गर्नुभयो ।