detail-img

देवकोटाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै रुकुमपश्चिमको नवौं अधिवेशन सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) रूकुमपश्चिमको नवौं जिल्ला अधिवेशन नन्दराम देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 
सर्वसम्मत रूपमा निर्वाचित ६१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा मनवीर घर्तीमगर, सचिवमा शशीराम नेपाली र उपसचिवद्वयमा व्युझना पुन र तिलक बस्नेत हुनुहुन्छ । 
त्यसैगरी, पाँच सदस्यीय लेखा समितिको अध्यक्षमा पलबहादुर खड्का र सचिवमा कृष्णभक्त ओली चयन हुनुभएको छ । 
अधिवेशनको उद्घाटन यही चैत १६ गते पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले गर्नुभएको थियो । जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि ज्ञवाली र विशेषअतिथि पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
बन्दसत्र पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज भट्टको प्रमुख आतिथ्यमा र समापन समारोह पोलिटव्यूरो सदस्य खेममान खड्काको आतिथ्यमा सम्पन्न भएको थियो ।  
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सचिव ध्रुव शाहीको अध्यक्षतामा गठन गरिएको दश सदस्यीय अध्यक्षमण्डलले बन्दसत्र सञ्चालन गरेको थियो भने केन्द्रीय निर्वाचन आयोगका सदस्य सूर्यबहादुर शाहीको उपस्थिति र रोहवरमा अधिवक्ता गणेश हमालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन कमिटीले नयाँ नेतृत्व निर्वाचनका लागि आवश्यक प्रक्रिया सम्पन्न गरेको थियो ।