detail-img

एमालेले शुरु गरेको मधेशको विकास अभियान फेरि अगाडि बढ्ने छः बरिष्ठ उपाध्यक्ष पोखरेल 

बारा । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारको पालामा अघि बढाइएको मधेशको बिकास अभियान फेरि अघि बढाउने बताउनुभएको छ ।
नेकपा (एमाले) बारा जिल्ला कमिटीको आजबाट सुरु भएको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले पछिल्लो सत्ता समीकरणमा एमालेबाट मधेश प्रदेशका तीन मन्त्री रहेका कारण अब मधेश प्रदेशको विकास अभियान पहिला जसरी नै अघि बढाउने बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– एमालेका मन्त्रीहरूले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुरु भएको मधेशको विकास केन्द्रित अभियानलाई फेरि अगाडि बढाउने छन् ।
उहाँले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षामन्त्री बनाइएको हँुदा यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बीउ बिजनको अभाव अन्त्य गर्ने र मल अभावलाई न्युनीकरणका निम्ति काम अघि बढाउने बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले मल कारखना निर्माण गरिने तथा भौतिक पूर्वाधार निर्माण कार्य तीब्र रूपमा अगाडि बढाइने जानकारी पनि दिनुभयो । रक्षा मन्त्रालय अन्तर्गत रहेको काठमाडौं तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्त्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइएको जानकारीसमेत उहाँले दिनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा मधेशले विकासको गति लिएको तथ्यसमेत राख्नुभयो । मधेसी दलले २० वर्षदेखि गीत बनाउँदै आएको हुलाकी राजमार्ग निर्माणका निम्ती अध्यक्ष ओली नेतृत्वको सरकारको समयमा २० अर्व रुपियाँ लगानी गरेर मधेशको मुहार परिवर्तन गरिएको भनाइ उहाँले राख्नुभयो । 
स्वाभिमान र स्वतन्त्रताका साथै सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ एमाले अगाडि बढेको जानकारी दिँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले आगामी निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान् पार्टी भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले पालिकादेखि केन्द्रको राजनीतिमा ४० प्रतिशत युवा समेटेर एमाले अगाडि बढ्ने जानकारी दिनुभयो ।

युवालाई नेतृत्वमा लैजान एमालेले तल्लो तहबाटै वातावरण बनाइरहेको र त्यसको उदाहरणका रुपमा आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा ३२ बर्षीय युवा सुहाङ नेम्वाङलाई अघि सारिएको उहाँले बताउनुभयो । एमालेभित्र विचार र नीतिको कमी नभएको भन्दै जोश र जाँगर भएका युवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको पनि उहाँले बताउनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको अघिल्लो गठबन्धन आफ्नै बोझले ढलेपछि अहिलेको सत्ता समीकरण बनेको स्पष्ट गर्नुभयो । देश विकार र समृद्धिका लागि कांगे्रस बाधक बन्दा समस्या भएको पनि उहाँले प्रष्ट पार्नुभयो । हिजो अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पूरा गर्न पनि एमाले सरकारमा आउन जरुरी रहेको भनाइ बरिष्ठ उपाध्यक्ष पोखरेलले राख्नुभयो । 
वर्तमान सरकार राष्ट्रिय आवश्यता भएको भन्दै उहाँले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको प्रष्ट पार्नुभयो । मधेशलगायत समग्र देशको सर्वाङ्गीन विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उहाँको भनाइ छ ।
उद्घाटन समारोहमा पार्टीका सचिव तथा उपप्रधानमन्त्री रघुबीर महासेठ, अर्का सचिव एवं मधेश प्रदेश ईञ्चार्ज योगेश भट्टराई, पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, कृषिमन्त्री एवं पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह, पोलिटव्यूरो सदस्यहरू सुमन प्याकुरेल, रामदयाल मण्डल, अच्युत मैनाली, मधेश प्रदेश सचिब मनोज पौडेललगायतका बक्ताहरूले मधेशको समृद्धिका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउनुभएको थियो । नेकपा (एमाले) बाराका अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन जिल्ला सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।