detail-img

आधारभूत स्वास्थ्य सेवाका कामबारे सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागले संविधानमा नागरिकको आधारभूत मौलिक हकको रूपमा रहेको स्वास्थ्य सेवालाई सुव्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि गर्नुपर्ने विभिन्न कामका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको छ । 
पार्टीका स्थायी कमिटी सदस्य, स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको विभागको टोलीले आज उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । 
ध्यानाकर्षण पत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा शुरु गरिएका ३९६ अस्पताल भवनको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरताका साथै विस्तार गर्नुपर्ने लगायत विषयहरू समेटिएको छ । 
ध्यानाकर्षण पत्रमा विगतमा नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकारले शिलान्यास गरेका स्थानीय तहका ५, १० र १५ शैयाका अस्पताल निर्माणको काम सम्पन्न गर्दै जनताको स्वास्थ्य  सम्बन्धी मौलिक अधिकारको सुनिश्चितता गर्न अपील गरिएको छ । 
सबै नेपालीलाई सहज ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढङ्गबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपूर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानीका लागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरूपमा रहेका जटिलतालाई समाधान गरी सेवाको सुनिश्चितताका लागि ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।


ध्यानाकर्षण पत्रमा भनिएको छ–
१.सङ्घीय निजामती सेवा ऐन  संसदमा दर्ता भइसकेको अवस्थामा  स्वास्थ्य सेवाका कर्मचारीहरूको  सेवा प्रवेश ४५ बर्ष र सेवा निबृत अवधि ६३ वर्ष  र यस सेवाका कर्मचारी पनि प्रदेश सचिव, प्रमुख सचिव, सचिव र मुख्य सचिवसम्म हुन पाउने स्पस्ट उल्लेख गरी सबै स्वास्थ्यकर्मीलाई निजामती ऐनमा उल्लेख भए सरह १० वर्षसम्म संघबाट परिचालनको व्यवस्थासहितको एकीकृत स्वास्थ्य सेवा ऐन तयार गरी तत्काल संसदमा पठाउनु पर्ने ।
२.स्वास्थ्य सेवामा बाझिएका कानुनहरूको तत्काल संशोधनको व्यवस्था गर्नुपर्ने ।
३.सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तत्काल कानुनसम्मत वोर्डका पदाधिकारीहरूको पदपूर्ति गर्दै संगठन व्यवस्थापन गर्ने ।
४. नेपालको संविधानको धारा ३५ र पन्ध्रौ योजनाको स्वास्थ्य सम्बन्धी सबै तहमा सबल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्ने लक्ष्य अनुसार देशभरिका स्थानीय तहमा त्यहाँको जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी निर्माण गर्न लागिएका आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूको यथाशीघ्र निर्माण सम्पन्न गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वास्थ्य संस्था दर्ता र स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने ।
५.स्वास्थ्य सेवामा सुशासनको प्रत्याभूति दिन तत्काल स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन गर्न जुन समूहको दरबन्दी जहाँ छ त्यहि समूहको जनशक्ति रहने गरी सरुवा, काज वा प्रतिस्थापन गर्नुपर्ने र आस्थाको आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति तत्काल सच्याएर कर्मचारीको मनोबल उच्च राखी काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने । कर्मचारीहरूलाई आफ्नो सेवा र समूहमा काम गर्ने वातावरण गराई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने ।
६.अस्पतालहरूमा अपरेशन, डाइलाईसीस लगायतका सेवाहरू सर्बसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने  र नेपालको संविधान अनुसार स्वास्थ्य सेवाको पुनर्संरचना र प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएका रोग रोकथाम तथा नियन्त्रण केन्द्र, प्रत्यायन प्राधिकरण जस्ता राष्ट्रिय संरचनाको निर्माण गर्नुपर्ने, स्वास्थ्य प्रतिष्ठान सम्बन्धी छाता ऐन लगायतका कार्यहरू यथाशीघ्र पारित गराई सबै प्रदेशहरूमा बनाउने भनिएका स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु गर्न पहल गर्नुपर्ने ।
७.समायोजनको कारण फाजिलमा रहेका, समायोजन नमिलेका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई जिम्मेवारीका साथ रिक्त स्थानहरूमा पुनः मिलाई स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वाताबरण मिलाउनुपर्ने ।
८.स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दाे बनाउन यस सम्बन्धी कानुनको  कडाईसाथ कार्यन्वयन गर्नुपर्ने ।
९.झाडापखाला, दादुरा, कोभिड, डेंगी लगायतका महामारीजन्य रोगहरूको रोकथाम तथा नियन्त्रण र बाढीपहिरो लगायत जल उत्पन्न विपत्तिको व्यवस्थापन गर्ने कार्यको पूर्व तयारी गर्नुपर्ने ।
१०.जनसङ्ख्याको उमेरगत र लैङ्गिक संरचनामा आएको परिवर्तनले भविष्यमा आउने सामाजिक र पारिवारिक संरचनाका बारेमा स्थानीय तहसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने । बसाइँसराइका अनपेक्षित प्रबृत्तिको उचित सम्बोधन गरी जनसङ्ख्या वितरणको भौगोलिक असन्तुलनमा सुधार ल्याउन पहल हुनुपर्ने । जनसङ्ख्याको क्षेत्रमा आउँदै गरेका विशिष्टिकृत बिषयको पहिचान गरी सो क्षेत्रमा गहन अध्ययन र अनुसन्धानको व्यवस्थामा ध्यान दिनुपर्ने । मन्त्रालयको जनसङ्ख्या महाशाखाको कार्य क्षेत्र र क्षमता अभिबृद्धिमा तुरुन्त पहल हुनुपर्ने ।  द्रूत दरमा बढ्दै गरेको ज्येष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि तीन खम्बे कार्य नीति (सहभागिता, सुरक्षा र उचित स्वास्थ्य सेवा) अवलम्वन गरिनुपर्ने ।
११.बीर अस्पताल लगायत सबै सङ्घीय अस्पतालमा जनशक्ति थप गरी  पूर्ण क्षमतामा सञ्चालनमा ल्याई हाल जनताले भोगीरहेका आइसीयु, अपरेशन÷आकस्मिक सेवाको अभावलाई पूरा गरी जनतामा स्वास्थ्य सेवाको छिटोे र सहज सेवा पाउने व्यवस्था मिलाउने ।
१२.सबै अस्पतालको सेवाको एकीकृत जानकारी गराउने प्रविधि (सफ्टवेयर)  बनाइ सेवा र सुविधाको पारदर्शिता गराउने ।
१३.चिकित्सक, स्वास्थ्यकर्मी लगायत युवा जनशक्तिको विदेश पलायन रोक्न विशेष कार्यक्रमहरू तत्काल ल्याइनुपर्ने ।
१४.हाल तीब्ररूपमा बढिरहेको आत्महत्या नियन्त्रणका लागि स्वास्थ्य  मन्त्रालयको नेतृत्वमा वहुपक्षीय समन्वय संयन्त्र बनाई आत्महत्या दर न्यूनीकरण गर्नका लागि प्रभावकारी कार्यक्रम  सञ्चालन गर्ने ।
१५.दिन प्रतिदिन तीब्ररूपमा बढिरहेको सडक दुर्घटनाबाट भएको मानवीय क्षति र अङ्गभङ्गलाई कम गर्नका लागि राजमार्गको रणनैतिक क्षेत्रहरूमा ट्रमा सेन्टर स्थापना गर्दै नियन्त्रणका लागि स्वास्थ्य  मन्त्रालयको नेतृत्वमा वहुपक्षीय समन्वय संयन्त्र बनाई तत्काल कार्य प्रारम्भ गर्ने ।