detail-img

राष्ट्रहितका लागि नयाँ समीकरणः अध्यक्ष ओली

पोखरा । नेकमा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रहितका लागि नयाँ सत्ता समीकरण बनाइएको बताउनु भएको छ ।
अध्यक्ष ओलीले आज पोखरामा नेकपा (एमाले) कास्की जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेससहितको  गठबन्धन सरकारका कारण देशमा चरम सङ्कट देखापरेको र त्यसको निकासका लागि अरु कुनै शक्तिले नभई आफुहरूले नै नयाँ सत्ता समीकरण निर्माण गरेको स्पष्ट गर्नुभयो । 
वर्तमान सत्ता समीकरण बन्नु अघिको समयमा देशमा अराजनीतिक गतिविधि र राष्ट्रहित विपरीतका गतिविधि बढेको, बैंकबाट ऋण लिएर नतिर्ने, नतिर भन्दै हिड्ने, अराजकता फैलाउँदै आफैले आफैलाई हिरोको रूपमा प्रस्तुत गर्दै हिड्ने अराजक व्यक्तिहरूका कारण राष्ट्रिय एकतामा चोट पुगेको  उल्लेख गर्दै त्यस्ता गतिविधिबाट देशलाई जोगाउन नयाँ  समीकरण बनाउनु आवश्यक भएको अध्यक्ष ओलीको भनाइ थियो ।
उहाँले राष्ट्र अशान्त बन्दै गएको, उत्पादन ध्वस्त र आर्थिक अवस्था ओरालो लागेको र देशलाई विभाजन गर्न विभिन्न गतिविधि बढेका कारण देशलाई त्यसतर्फ जान नदिन नयाँ सत्ता समीकरण बनाइएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्ताहरूलाई अहिले आराम गरेर बस्ने बेला नभएको बताउँदै भन्नुभयो– एमालेले यस देशलाई सही बाटोमा अगाडि बढाएर, गरिबी हटाएर भोकमरी हटाएर मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।
उहाँले आफूले अझै केही वर्ष पार्टीको नेतृत्व गर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– कसैले एमालेबिनाको नेपाल भने, कसैले केपी ओलीबिनाको एमाले भने । कठै बरै ! माया लाग्छ, दया लागेर आउँछ ।