detail-img

बरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा ललितपुर जिल्ला कमिटीको नवौं अधिवेशन उद्घाटन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौं अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भव्य समारोहबीच अधिवेशनको उद्घाटन गर्नुभयो । 
अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरलले पछिल्लो समयमा पार्टीको राजनीतिक एजेण्डा बदलिएको र समृद्धि प्राप्तिका लागि पार्टीका हरेक लाग्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले पूरा गर्नुपर्ने कार्यभारका विषयमा चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले मतदाताको कम्तिमा तीनप्रतिशत संगठित सदस्य बनाउने पाटीको योजना पूरा गर्ने कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।  
नेकपा (एमाले) ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरू गुरु बराल र शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, बाग्मती प्रदेश सचिव नवराज सिलवाल लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो 
तीन दिनसम्म चल्ने अधिवेशनले १२० सदस्यीय नयाँ जिल्ला कमिटीको चयन गर्नेछ ।
उद्घाटन समारोहमा विविध लोकनृत्य, गीतसङ्गीत, खैजडी भजन प्रस्तुत गरिएको थियो भने हलबाहिर स्थानीय बाजाहरूले रौनकता थपेका थिए ।
अधिवेशन स्थलमा स्वास्थ्य शिविर राखिएको थियो । उक्त शिविरबाट एकसयभन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए भने रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।