detail-img

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता 

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर–२ मा आगामी २०८१ बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सो उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ताको निर्वाचन तालिका रहेको थियो । नेकपा माओवादी केन्द्रको समेत समर्थन पाउनुभएका नेम्वाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको प्रस्तावकमा  नेकपा (एमाले)का रामप्रसाद सुवेदी र समर्थकमा माओवादी केन्द्रका धीरेन्द्र शर्मा रहनुभएको छ ।


उम्मेदवारी दर्ता गर्न जानुअघि नेम्वाङले भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो । 
नेकपा (एमाले)का उम्मेदवार नेम्वाङलाई माओवादी केन्द्रका साथै आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि समर्थन गरेको छ । उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अधिकृतको कार्यालय जाने टोलीमा पार्टीका स्थायी कमिटी सदस्यहरू भानभक्त ढकाल, शिवमाया तुम्वाहाम्फे, हिक्मत कार्की, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भई रिक्त भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । सो उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा प्रदेश सभा सदस्यका लागि पनि आजै उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले)बाट दमनबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउन भण्डारीका साथमा पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापा लगायत नेताकार्यकर्ताहरू र्यालीका  रुपमा निर्वाचन कार्यालय  जानुभएको थियो ।