detail-img

अब देशको ओरालो लाग्ने क्रम रोकियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) ताप्लेजुङको पार्टी कार्यालय भवन बिहीबार उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा एमाले पनि भएकाले देशलाई ओरालो लाग्न नदिने बताउनुभयो । 
उहाँले एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकारले देशलाई बर्बादीमा जानबाट भने जोगाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अब देशको ओरालो लाग्ने क्रम रोकियो, अब देश ओरालो लाग्दैन । 
हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएको बताउँदै सरकारले रोकिएका विकास निर्माणका काम अब फेरि अगाडि बढाउने भनाइ उहाँले राख्नुभयो ।  
एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको अध्यक्ष ओलीले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई सरकारबाट हटाउने जुन तिकडम, षडयन्त्र, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो । 
उहाँले मिसन– २०८४ बाट एमालेलाई सुदृढ र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । राष्ट्रियतालाई बलियो बनाउन, विकास र समृद्धिको गति अघि बढाउन एमालेलाई शानदार बहुमतसहितको निर्णायक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 
एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भूभागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गरेको, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उहाँले स्मरण गराउनुभयो । राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै अध्यक्ष ओलीले त्यसलाई एमालेले असफल गराइदिएको बताउनुभयो । 
उहाँले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालेले जित्ने र जित्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न आग्रह गर्नुभयो । त्यसो गरियो भने मात्र मिसन– २०८४ सफल पार्न सकिने उहाँले बताउनुभयो । कुरा आदर्शका गर्ने तर आफूलाई फाइदा हुने बाहेक अरू काम नगर्नेले पार्टी र देशको लागि काम गर्न नसक्ने उहाँको भनाइ थियो । देशमा विकास र समृद्धि ल्याउन अनुशासित र गतिशील पार्टी बनाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 
उहाँले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउँदै लयबद्ध र गतिशील पार्टी बनाएर मिसन–२०८४ सफल बनाउनुपर्नेमा जोड दिनुभयो । 
सामाजिक सञ्जालमा जथाभाबी नलेख्न पनि उहाँले निर्देशन दिनुभयो । लेख्नै पर्ने सकारात्मक कुरा मात्र फेसबुकमा लेख्न उहाँले निर्देश गर्नुभयो । 
अध्यक्ष ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको सडक छिटो निर्माण गर्नका लागि आफूले पहल गर्ने पनि बताउनुभयो । तीन वर्षभित्रै चीनसँग जोडिने सो सडक पूरा गर्ने गरी बजेट विनियोजन गराएर छिटो काम सम्पन्न गराउन आफूले प्रयत्न गर्ने उहाँले बताउनुभयो ।

ओलाङचुङ्गोला


यसअघि आजै अध्यक्ष ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेर स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्नुभएको थियो ।   
अध्यक्ष ओली पार्टीका सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित ओलाङचुङगोला जानुुभएको हो ।
तीनहजार दुईसय मिटर उचाइको यो बस्तीमा पहिलो पटक दुईदिन अगाडि मङ्गलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका थिए् । 
अध्यक्ष ओलीले तिब्बतसँग जोडिएको नेपालको पूर्वी हिमाली नाका ताप्लेजुङको ओलाङचुङगोलाको वस्तुस्थिति बुझ्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँका समस्या तथा सम्भावनाका विषयमा संवाद गर्नुभएको थियोे । 
ओलाङचुङगोलामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिलो पटक सवारी साधन पुर्याउने सवारी चालकलाई सम्मान पनि गर्नुभयो ।


विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैनः सचिव भट्टराई 
पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रममा पार्टीका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्न नहुने बताउनुभयो ।  
सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनुपर्ने बताउनुभयो । एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको  भन्दै उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो । 
सचिव भट्टराईले भन्नुभयो– विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन । 
कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । 
सचिव भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकाले जिल्लामा धेरै काम गर्नुपर्ने छ भन्दै अहिलेको सरकारमा एमाले सहभागी भएकाले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिको हिसाबले आफू त्यस काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
टिप्ताला नाकासम्मको सडक तीनवर्षभित्र बन्छः उपप्रधानमन्त्री महासेठ
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा पार्टीका सचिव रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । 
उपप्रधानमन्त्री महासेठले सकेसम्म तीन वर्षभित्रै सो सडकको काम सम्पन्न गर्ने गरी काम गराइने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । उहाँले भन्नुभयो– हामी यो सडक सकेसम्म तीन वर्षभित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ । 
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलास्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय नाका भएकाले पनि सो नाकसम्मको सडक सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री महासेठले ताप्लेजुङका रणनीतिक महत्वका दुईवटा ठुला पुलका काम पनि यस वर्षको बजेटबाट अघि बढ्ने जानकारी दिनुभयो । 
समग्र ताप्लेजुङको विकासको लागि आफूले प्राथमिकता दिने उहाँले बचन दिनुभयो ।