अखिल नेपाल किसान महासंघ सम्पूर्ण श्रमजिवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक संगठित आवाज र नेतृत्वदायी संगठन हो । यस कार्यका लागि महासंघले आफ्नो स्थापनाकालदेखि नै संघर्षरत रहेको छ । महासंघ नेपाली किसानहरूको प्रतिनिधित्व गर्ने बिभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघहरूकोे साझा छाता संगठन हो ।
कम्युनिष्ट आन्दोलन सँगसँगै २००७ सालबाट संगठित रूपमा मुलुकमा किसान आन्दोलनको शुरुवात भएको थियो । छरिएका आन्दोलनलाई थप संगठित गर्र्दै २००८ साल बैशाख १७ गते काठमाडौंको टुँडिखेलमा आयोजित कम्युनिष्ट पार्टीको भेलाबाट कमरेड तुल्सीलाल अमात्यको नेतृत्वमा कमरेड निरञ्जन गोविन्ध बैद्य, कमरेड नरबहादुर कर्माचार्य, कमरेड कमलराज रेग्मी, कमरेड खड्गबहादुर सिंह, देवेन्द्रलाल (काईलाबा) लगायतका कमरेडहरू समावेश भएको अखिल नेपाल किसान संघ औपचारिक रूपमा घोषणा भएको थियो । सामन्ती निरंकुश व्यवस्थालाई अन्त्य गर्दै सामन्तहरूको शोषण र दमनबाट किसानलाई मुक्त गर्ने अर्थात जनवादी व्यवस्था स्थापनाका लागि किसान परिचालन गर्ने उद्देश्यकासाथ अखिल नेपाल किसान संघको स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा उल्लेखित नारा “पहाडपर्वत, खोलानाला, जग्गाजमिन सबको मालिक हामी दास बन्यांैै किन ? हिस्सा सबमा सबको” भन्ने नाराले त्यतिबेलाको किसान आन्दोलनलाई निर्देशित गरेको थियो । किसान आन्दोलनलाई शुरुवाती अवस्थादेखि नै कम्युनिष्ट आन्दोलनले वैचारिक तथा राजनीतिक रूपमा मार्गदर्शन गर्दै आयो । वर्तमान सन्दर्भमा पनि माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले किसान महासंघले नेतृत्व गरिरहेको किसान आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ र गरिरहने छ ।
किसान महासंघको स्थापना कालमा किसान आन्दोलनले मुख्यतया सामन्ती भूस्वामित्वको अन्त्य गरी क्रान्तिकारी भूमि सुधार मार्फत जोताहा किसानलाई जमिनको मालिक बनाउने मुख्य उद्देश्य रहेको थियो । जुन उद्देश्य प्राप्तीका लागि बेठबेगारी र सलामी प्रथाको अन्त्य, मोहियानी हक कायम, विर्ता तथा जमिनदारी प्रथा उल्मूलन, अनुचित व्याजदरको खारेजी र रे नही जी कहो, मुछ उखाडो, जाली तमसुक च्यात्ने÷फाड्ने र भकारी फोड, जसको जोत उसको पोत, कि जोत हलो कि छोड थलो लगायतका मुख्य विषयमा केन्द्रित भई सामन्ती प्रथा विरुद्ध किसान आन्दोलन गरिएको थियो । जसको प्रभाव बढ्दै गयो र देशव्यापी रूपमा किसानहरू अखिल नेपाल किसान संघमा संगठित हुदै गए । २०११ साल सम्ममा करिब तीनलाख किसान किसान संघको सदस्यता लिइसकेका थिए । यसरी किसानका हक अधिकारका साथसाथै देशको राजनीतिक परिवर्तनका लागि किसान महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
तत्कालीन नेकपा (माले) को गठनपश्चात २०३७ सालमा कमरेड अमृतकुमार बोहोराको अध्यक्षतामा अखिल नेपाल किसान संघलाई पुनर्गठन गरियो । र, देशव्यापिरूपमा किसान संघका समितिहरू निर्माण भए । कम्युनिष्ट पार्टी प्रतिवन्धित अवस्थामा पनि किसान र कृषि क्षेत्रमा संगठनात्मक कामको विस्तार किसान आन्दोलन मार्फत गरिएको थियो । २०४७ सालपछि हलिया, हरूवा, चरुवा र कमैया कम्हलहरीहरूको आन्दोलन, बादी महिलाहरूको आन्दोलन र किसान संघ संगठनहरूका विभिन्न आन्दोलनहरू सम्पन्न भए । अखिल नेपाल किसान संघ किसान महासंघमा रूपान्तरण हुने अवस्थासम्म आईपुग्दा मुलुकको कैयन क्षेत्रमा परिवर्तन र सुधारहरू भए । खासगरी भूदासप्रथामा आधारित सामाजिक–आर्थिक व्यवस्था सम्पूर्ण रूपले समाप्त भएको छ र अवैतनिक श्रममा आधारित श्रम सम्बन्ध ज्यालादारी श्रममा रूपान्तरण भएको छ । परम्परागत निर्वाहमुखी कृषि उत्पादनको ठाउँ व्यवसायिक कृषि उत्पादनमा र सामन्तवादी उत्पादन प्रणाली पूँजीवादी उत्पादन प्रणालीमा रूपान्तरण भएको छ । यसबाट नेपाली समाजमा रहेका कतिपय पुराना वर्ग समाप्त भएका छन् र कतिपय नयाँवर्ग देखापरेका छन् । निर्वाहमुखी कृषि प्रणाली व्यवसायीक तथा औद्योगिक कृषि उत्पादनमा रूपान्तरण हुदै गरेको वर्तमान सन्दर्भमा कृषि उत्पादनको विशिष्टीकरणलाई आधार मानेर विषयगत, सामुदायिक र वर्गीय संगठनहरू निर्माण गर्दै किसान संघलाई २०६४ सालमा कास्की जिल्लाको पोखरामा सम्पन्न पाँचौ महासम्मेलनबाट किसान महासंघमा रूपान्तरण गरिएको हो ।