मानिस अरू प्राणीभन्दा सजग र सचेत छ । त्यसकारण मानिसलाई सामाजिक प्राणी भनिन्छ । सामाजिक अनुशासन, नियम र प्रबन्धहरूले नै मानिसलाई सर्वश्रेष्ठ बनाएको छ । सामाजिक प्रबन्धहरू अनुशासनबाटै पालना र कार्यान्वयन गरिन्छ । यदि हामीले सामाजिक प्रबन्ध र सुप्रबन्धहरूको उल्लङ्घन गर्यौं भने समाज कायम रहँदैन । त्यो समाज र सामाजिक जीवन कायम राख्न, मानिसलाई सामाजिक प्राणी बनाइरहन र अझ उन्नत बनाउन अनुशासनको असाधारण महत्व हुन्छ । हरेक समाज अनुशासनका नियम बनाएर नै निर्माण भएको छ । मानिसले अनुशासनको पालना गरेर नै समाजलाई विकास गर्दै यहाँसम्म ल्याइपुर्याएको हो । समाज एकातिर संविधान, कानुन, नियम आदि शासनको विधिबाट चलेको हुन्छ भने अर्कातिर अनुशासनको विधिबाट । अनुशासन देखिने वा लिखित कानुनभन्दा धेरै माथिको कुरा हो । शासनभित्र लिखित नियम–कानुन मान्छु भनेर अगाडि बढिन्छ । नैतिक बन्धनमा बाँध्न शपथ ग्रहण गराइएको हुन्छ । तर, अनुशासनका निम्ति त्यस्ता बाह्य प्रबन्धबाट निर्देशित भइरहनु पर्दैन । आफ्नो कर्तव्य, अधिकार र नियमको स्वतः पालना गरिएको हुन्छ । मानिस र अन्य जीवमा अलिकति फरक छ । अन्य जीव प्राकृतिक नियमबाट चल्दछन् । त्यो जैविक र मौलिक किसिमको छ । तर, मानिस प्राकृतिकभन्दा बढी सामाजिक नीतिनियमबाट चल्दछ । जीवका नाताले जीविका र जीवनका लागि प्राकृतिक नियम पालना गर्नु बेग्लै कुरा हो । सामाजिक नियम, प्रबन्ध र बन्धन राज्यका प्रबन्धजस्तो कठोर हुँदैनन् । तर, ती अदृश्य तर अनुल्लङ्घनीय हुन्छन् । र, धेरै बलिया र दूरगामी महत्वका हुन्छन् । हरेक मानिसले आफूले आफूलाई त्यसभित्र बाँधेर राखेको हुन्छ । आत्मानुशासन, आत्मबन्धन र आत्मपालनामा चलेको हुन्छ । तिनलाई नैतिक बन्धन, वाचाबन्धन, धार्मिक बन्धन आदि भन्न सकिन्छ । सामाजिक मूल्य र मान्यता आफैमा एउटा बन्धन हो । त्यसमा कसको बिहेमा को जानुपर्छ भनिएको हुँदैन । तर, आफन्तको बिहेमा कोही गएन भने आफन्तजन रिसाइदिन्छन् । त्यसैले गइदिनुपर्छ । त्यो सामाजिक बन्धन हो । मर्दापर्दा मलामी जानैपर्छ भन्ने बाध्यता हुँदैन तर मानिसहरू मलामी गइदिन्छन् । त्यसरी समाजको अदृश्य बन्धनबाट डोरिएको हुन्छ मानिस । सामाजिक बन्धनका विविध रूप छन् । त्यसलाई मानिसले स्वेच्छाले पालना गर्दछ । समाजले उसलाई नैतिक बन्धनहरूका बारेमा राम्ररी सम्झाएको हुन्छ— यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन । कसले कति व्याख्या गर्न जानेको छ वा जानेको छैन, त्यो बेग्लै कुरा हो तर सामाजिक प्रबन्ध सबैले स्वीकार गरेका हुन्छन् । मानिसलाई कहिलेकाहीँ ‘मनपरी नगर्न’ सम्झाइएको हुन्छ । त्यसको अर्थ मानिसको मन जैविक प्रवृत्तिको हुन्छ । जैविक प्रवृत्तियुक्त विचार प्रशोधित हुँदैन । त्यसलाई हामी मन भन्ने
गर्दछौं । मन भनेको जैविक प्रवृत्तियुक्त विचारको अप्रशोधित अवस्था हो । जैविक र प्राकृतिक हिसाबले मात्र चल्ने तर सामाजिक प्रबन्धमा खासै ध्यान नदिने वा गम्भीर नहुने विषयलाई मनमौजी गरेको भन्ने अर्थ लगाइन्छ । समाजले बाल्यावस्थादेखि नै शिक्षा दिइरहेको हुन्छ— कसो गर्नु हुन्छ, कसो गर्नु हुँदैन । यसरी बच्चादेखि नै विकास गरिएका सामजिक प्रबन्धको स्वैच्छिक पालना, त्यसको स्थूल र सूक्ष्म रूप नै अनुशासन हो अनुशासनले समाजलाई सुप्रबन्धमा राखेको हुन्छ । नत्र भने समाज विकृतियुक्त, छली, अपत्यारिलो र अविश्वसनीय हुन पुग्दछ । मानिस चरम स्वार्थी, हिंस्रक र विश्वासघातीका रूपमा प्रकट हुन्छ । मानिसको लोकप्रियता, विश्वसनीयता र इज्जत रहँदैन । कहिलेकाहीँ हामी देख्छौं— शासनको डन्डा वा संगठित शक्तिको आडमा कतिपय मानिसले आफ्ना कुकर्महरूलाई देखादेखी मसिनो पर्दाभित्र ढाकेर राखेका हुन्छन् । तर, एउटा समय आएपछि राजा नाङ्गै छ भन्ने मानिसहरू पनि देखा पर्छन् । राजा नाङ्गो छ, नाङ्गो छ भन्ने प्रचार हुन्छ नै । उसबाट नचाहिँदो काम भइरहेको हुन्छ तर उसले कसैले देखेको छैन भन्ने ठानिरहेको हुन्छ । त्यस्तो कुराबाट बच्नु नै आत्मानुशासन हो । कसैले देखोस् वा नदेखोस्, अनुचित कुरा गर्नु हुँदैन । कसैले नदेखे पनि गर्न नमिल्ने काम गर्नु हुँदैन । कसैको मिहिनेत र पसिनाको कमाइ र कसैको जीउधनमा अनधिकृत हस्तक्षेप गर्नु हुँदैन । कसैको कुनै कमजोरीको फाइदा उठाएर गरिने छलछाम अनुशासनभित्र पर्दैन । प्राप्ति मात्र सब थोक होइन । उचित बाटोबाट गरिने प्राप्ति मात्र ग्राह्य र प्रशंसनीय हुन्छ । सबै प्राप्ति प्रशंसनीय हुँदैनन् । यद्यपि अहिलेको समाजमा जसले प्राप्त गर्यो, त्यो नै ठूलो र पूजनीय मानिन थालेको छ । वास्तवमा ऊ पूजनीय भएको हुँदैन तर पूजनीय रूपमा देखाइएको मात्र हुन्छ । त्यसको भित्री उद्देश्य सत्यलाई ढाकछोप गर्नु मात्र हुन्छ । खालि यातायातका साधन, सडक, सूचना प्रविधिको विकास र प्रतिव्यक्ति आय बढेका आधारमा समाजलाई अत्याधुनिक भन्न सकिँदैन । सामाजिक संस्कृतिको विकास अनुशासनले नै देखाउँछ । उन्नत संस्कृति उन्नत अनुशासनबाट मात्र प्राप्त गर्न सकिन्छ । सामाजिक जीवन, संस्कृति र अर्थतन्त्रका लागि अनुशासनअत्यावश्यक छ ।
संसारमा हरेक चिज आफ्नो लयमा चलेको हुन्छ । गणित आफ्नै नियम वा सूत्रमा चलेको हुन्छ, जस्तो— दुई दुना चार हुन्छ । हामीले १७ लाई पाँच गुना गर्यौं भने ८५ नै हुन्छ । त्यो न ८४ हुन्छ, न त ८६ । प्रकृति नियममा चलेको छ । गतिको आफ्नै नियम छ । कुनै एउटा चीज कतैबाट खस्यो भने कुनै ठाउँमा गएर अडिन्छ । गति रोक्ने अर्को चीज नभएसम्म गतिशील भइरहन्छ । गतिको निश्चित नियम छ, त्योभन्दा पर जाँदैन । आगोले आफ्नो क्षेत्रभन्दा पर गएर राप, ताप र उज्यालो दिँदैन । आगोको धेरै निकट गइएन भने त्यसले जलाउँदैन । आगो मात्र होइन, पानीको पनि आफ्नै नियम छ । कसैले पम्पिङ गरेर माथितिर खिच्नु बेग्लै कुरा हो । नत्र पानी ओरालोतिर नै बग्छ । आफ्नै सतहमा बस्दछ ।
जिन्दगीका नियमहरू छन् । प्रकृतिका नियमहरू छन् । रूखबिरुवा वनस्पतिका उम्रने नियम छन्, हुर्कने र बढ्ने नियम छन् । फुल्ने र फल्ने नियम छन् । ती फल छिप्पिने, पाक्ने र झर्ने नियम छन् । रूख बूढो हुने नियम छ, ढल्ने नियम छ । मानिस जन्मिएपछि हुर्कने, बढ्ने र बुढ्यौलीमा पुग्ने र मर्ने प्राकृतिक नियम छ । हाम्रो पृथ्वी नियममा घुम्छ । भोलि घाम कति बेला झुल्कन्छ ? कति बेला अस्ताउँछ ? कति महिनापछि सूर्यमा ग्रहण लाग्छ ? कति महिनापछि चन्द्रमामा ग्रहण लाग्छ ? त्यो सजिलै भन्न सकिन्छ । किनकि तिनीहरू कति घुम्छन्, कति अगाडि बढ्छन्, त्यसको नियम छ । हामी त्यसका आधारमा नाप्न सक्छौं । उहिल्यै भाष्कराचार्यले पृथ्वीको गोलाइ कति छ भनेर हिसाब निकालेका थिए । पृथ्वीको गतिलाई नापेर एक वर्षमा यति हिँड्छ र २४ घण्टामा यति पल्टिन्छ, उनले भनिदिएका थिए । सूर्य, ग्रह, उपग्रहहरू लयमा छन् । चन्द्रमा र ऋतु वा मौसम लयमा छन् । मनसुन कहिले आउँछ, हामी ठोकुवा गर्न सक्छौं । त्यसै आधारमा किसानहरूले धानको बीउ राख्छन् । असार १ गते सूर्य मिथुन राशिमा प्रवेश गर्दा नेपालमा मनसुन प्रवेश गर्छ भन्ने तय नै छ । अहिले हामी जसलाई विक्रम सम्वत् भन्छौं, त्यो विक्रमादित्यले सुरु गरेको मान्छौं । तर विक्रमादित्यले चलिरहेको सम्वत्लाई नै आफ्नो सम्वत् बनाएका मात्र हुन् । ज्योतिषशास्त्रले मेष राशिलाई पहिलो राशि मान्छ । सूर्य पहिलो राशिमा प्रवेश गरेको दिन नयाँ वर्ष सुरु हुन्छ । आकाशलाई १२ खण्ड वा राशिमा बाँडिएको छ । यी राशिका आधारमा विक्रम सम्वत् चलेको छ । आखिर विक्रम न गणितज्ञ थिए, न त हिसाब नै खुट्याउन सक्थे । यसको अर्थ के हो भने, पृथ्वी, सौरमण्डल, अन्तरिक्ष सबै आ–आफ्नो लयमा छन् । हाम्रो वरिपरि आकाशगङ्गा अर्थात् मिल्की–वे छ । हामीनजिक रहेको तारापुञ्ज (ग्यालेक्सी) आकाशगङ्गा लगभग चार अर्ब वर्षमा पृथ्वीसँग ठोक्किन्छ भन्ने वैज्ञानिकहरूले तय गरेका छन् । आकाशगङ्गाको टकरावका बेला धेरै ‘ब्ल्याक–होल’ बनी पृथ्वीमा महाप्रलय सिर्जना हुन सक्छ भन्ने अनुमान गरेका छन् । किनभने अन्तरिक्ष, ब्रह्माण्डको आफ्नै लय छ । अनुशासन भनेको पनि लय हो । बेथिति हुन नदिनु हो । थिति कायम गर्नु भनेको अनिष्ट वा बिग्रह आउन नदिनु हो । अनुशासन भनेको उपयुक्त गतिशीलता हो । तसर्थ हामीले अनुशासनलाई हाम्रो जीवनको सफलता र अस्तित्वका रूपमा बुझ्नुपर्छ । अहिले हाम्रो समाजको पहिचान, अनुशासन र सुप्रबन्ध कमजोर हुँदै गएकाले देशभक्ति कमजोर हुँदै गएकामा सर्वत्र चिन्ता छ । यसले मानिसको वैयक्तिक र सामाजिक स्वास्थ्य बिगार्छ । मानिस पनि स्वस्थ छैन, समाज पनि स्वस्थ छैन भने हामी कहाँ पुग्छौं ? अस्वस्थ मानिस र अस्वस्थ समाजका कारण हाम्रो सामाजिकता, मानवता र न्याय व्यवस्था कमजोर हुनु स्वाभाविक हो । अनुशासनको सम्बन्ध जीवनसँग छ, न्यायसँग छ, शान्ति, सुव्यवस्था र सुशासनसँग छ । तसर्थ व्यक्ति, समाज संघसंस्था र राज्यका लागि अनुशासन आवश्यक छ । अर्केस्ट्रा बजाउने टिममा अनुशासन नभए के होला ? एउटाले एउटा पाराले, अर्कोले अर्को पाराले बजाएर अर्केस्ट्रा हुँदैन । अर्केस्ट्रा हुनलाई अनुशासन चाहिन्छ । सबै बाजाको आवाज उस्तै हुँदैन । एउटा च्याइँ गर्छ, अर्को ढ्याङ गर्छ । अर्को डुडुडु गरेर कराउँछ । एक्लो बाजा साह्रै सुमधुर हुन्छ भन्ने हुँदैन । त्यसैले मिल्दो ताल चाहिन्छ । एकअर्का बाजामा मिलाएपछि नै ड्रमसेट र भायोलिन एकअर्काका परिपूरक हुन्छन् । समाजमा विविधता चाहिँदो रहेछ भन्ने कुरा अर्केस्ट्राले बताउँछ । तर त्यो विविधताभित्र एकता पनि कायम हुँदो रहेछ । अर्केस्ट्रामा बाजा विविध हुन्छन्, आवाज विविध हुन्छन् तर तिनको एकताले नै परिपूर्ण सङ्गीत पैदा गर्छ । एउटा पूर्ण अर्केस्ट्राले अनुशासित ब्यान्डका रूपमा ठूलो साङ्गीतिक तागत दिन्छ । वास्तविक अर्थमा अनुशासनले व्यक्ति र समाजलाई तागत दिँदो रहेछ । अनुशासन भएन भने ती सबै तागत नष्ट हुँदा रहेछन् । नजान्नेले अर्केस्ट्रा बजाउने हो भने कस्तो कर्कश आवाज आउला ? खेलाडीहरूले अनुशासन पालना नगरे खेलको परिणाम के होला ? एउटाले लाइन मिच्छ, अर्कोले धक्कामुक्का गर्छ, अर्काले अम्पायरलाई टेर्दैन, खेल्दाखेरि झेली र बलमिच्याइँ गर्छ भने खेल संस्कृति कसरी अघि बढ्छ ? त्यसकारण सबै कुराका लागि अनुशासन आवश्यक छ । हामी सामाजिक प्राणी हौं । हाम्रो समाजको एकता र
सामाजिक वा राष्ट्रिय शक्ति निर्माण गर्छ अनुशासनले । हाम्रो वैयक्तिक, सामाजिक, राष्ट्रिय पहिचान, खेल र साङ्गीतिक पहिचान अनुशासनबाट मात्र
कायम हुन सक्छ । शान्तिबाट मात्र कायम हुन सक्छ । सकारात्मक कुराबाट मात्र कायम हुन सक्छ । नत्र हाम्रो पहिचान बीभत्स पहिचान हुन जान्छ । एउटा सुन्दर र सकारात्मक पहिचान बनाउन अनुशासनबाटै सम्भव हुन्छ । अनुशासनकै कारण सेना चल्छ, प्रहरी चल्छ, कर्मचारी चल्छ, राज्यका सबै अङ्ग–अवयव चल्छन् । शासक र दलहरू अनुशासनमा चले मात्र समाज सुन्दर हुन्छ । अनुशासनलाई विकृत पारेर स्वार्थका लागि दुरुपयोग गरेर कहीँ पुगिँदैन । हामीले अनुशासनबाटै राष्ट्रिय विकास, एकता र समृद्धि हासिल गर्न सक्छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सार्थक बनाउन सक्छौं । हाम्रो देश र समाजलाई सम्पन्न, समृद्ध र अत्यन्त प्रशंसायोग्य बनाउने हो भने वैयक्तिक अनुशासन प्राथमिक खुड्किलो हो । अरुबाट सम्मान वा प्रशंसा प्राप्त गर्नका लागि पनि त्यो अनिवार्य सर्त हो । अनुशासनले नै विविधतामा एकता सिर्जना गर्छ, एउटा अर्केस्ट्राले जस्तै ।
साभारः इकान्तिपुर