cpnuml

ज्ञान, बुद्धि, मति र साँचो मानिस

 केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष 

प्रिय छोराछोरी,
पृथ्वीमा जीवनको सुरुवात एक अद्भुत रहस्य हो । वनस्पति, जीवजन्तु र सामुद्रिक जीवहरूले यस ग्रहलाई भरिदिए । ती सबैभन्दा पहिले आए, हामी मानवचाहिँ सबैभन्दा पछिल्लो आगन्तुकजस्तै यस धर्तीमा प्रवेश गर्‍यौं ।
जीवहरूको अस्तित्वले धरतीलाई हराभरा बनाए, तर मानवको आगमनले पृथ्वीमा नयाँ कथा लेख्यो— चेतनाको कथा, सभ्यताको कथा ।
तर, आज म तिमीहरूलाई ‘पहिला को आयो, पछि को आयो’ भन्ने प्रतिस्पर्धा सुनाउन होइन मानव हुनुको महत्त्व अनि बाँच्नुको अर्थका विषयमा केही कुरा बताउँछु ।
प्रिय छोराछोरी,
मानिसको विकासको यात्रा सजिलो थिएन । विकासवादी सिद्धान्तका आधारमा मानव पृथ्वीमा ढिलो विकसित भएको प्राणी हो । जंगली अवस्थाबाट सामाजिक जीवनसम्मको बाटो तय गर्न उसले लाखौं वर्ष संघर्ष गर्‍यो । तर ढिलो भए पनि यो यात्रा असाधारण रह्यो । मानवले प्रकृतिको चुनौतीसँग जुध्दै आफ्नो अस्तित्व सुरक्षित गर्‍यो र बिस्तारै सभ्यता निर्माण गर्न थाल्यो । सोच, श्रम र सहकार्यको शक्ति बुझेर उसले आफ्नै खुट्टामा उभिन सिक्यो । तर त्यहाँबाट सुरु भएको प्रगतिले अचम्मको गति लियो ।
आजको सूचना र प्रविधिको दुनियाँ हेर त । हिजो एक शताब्दीमा पूरा हुने काम आज एक वर्षमै सकिन्छ । हजार वर्षले मार्न नसकेको फड्को अहिले एक दशकले सजिलै मारिदिन्छ ।
यो विकास यति क्रान्तिकारी छ कि यसलाई अब केवल ‘विकासवादी सिद्धान्त’ होइन, ‘क्रान्तिकारी सिद्धान्त’ का रूपमा बुझ्नुपर्छ ।
धेरै टाढा जानु पर्दैन, करिब १५ हजार वर्षअघि मानव अझै संग्रहकर्ता–सिकारी जीवनशैलीमा थियो ।
समाज बिस्तारै संगठित हुँदै गयो । मानव समूहहरू एकसाथ बस्न थालेपछि समुदायको नेतृत्व गर्न कोही अगाडि सरे । सुरुमा राज्यको परिकल्पना सरल थियो— समूहलाई सुरक्षा दिनु, बाह्य आक्रमणबाट जोगाउनु र आन्तरिक झगडालाई समाधान गर्नु । तर बिस्तारै बिस्तारै यो खेलमा बलिया र चतुर मानिसहरू मात्र अगाडि बढ्न थाले । बलिया र शक्तिशाली समूहहरूले कमजोर र निर्धालाई शोषण गर्न थाले । यसरी जालझेल, कपट र षड्यन्त्रका सहाराले शक्ति आर्जन गर्नेहरूको युग सुरु भयो । जसको हातमा बल थियो, उसैले नियम बनायो । यसरी राज्यको उत्पत्ति भयो । त्यसपछि बिस्तारै थिति र प्रबन्धहरू बन्न थाले ।
यस अन्यायपूर्ण थितिले ‘दास युग’ जन्मायो । युद्धमा जित्नेहरू मालिक बने, हार्नेहरू दास । दासहरूले मालिकहरूको सेवा मात्र गरेनन्, उनीहरूको विलासिताका लागि पनि काम गर्न बाध्य भए । यही दास युगको विस्तारबाट जमिनदारी प्रथा सुरु भयो, जुन दास प्रथाभन्दा केही नरम थियो, तर चर्को शोषण कायम नै थियो ।
प्रिय छोराछोरी,
जंगली युग निकै लामो थियो, जबकि दास र सामन्ती युग त्यसको तुलनामा छोट्टिँदै गए । जमिनदारी प्रथा दास प्रथाभन्दा केही नरम थियो, तर यो पनि शोषणकै अर्को स्वरूप थियो । हामी यसलाई झन्डै दुई हजार वर्षको इतिहास मान्न सक्छौं ।

तर ५/६ सय वर्षअघि संसारमा एउटा नयाँ युगको सुरुवात भयो— मेसिन र इन्जिनको युग । जब मेसिन आविष्कार भयो, मानव जीवनमा अचम्मको परिवर्तन आयो । हजारौं जना मानिसले गर्न नसक्ने काम एउटा सानो इन्जिनले सहजै गरिदिन थाल्यो । अनि बिस्तारै उद्योगधन्दा र कलकारखानाहरू खुल्न थाले ।
औद्योगिक युगले जमिनदारी युगको कठोरता तोड्यो । किसानहरू मजदुरमा परिणत भए । थोरै सही, तर तिनीहरूलाई नियमित वेतन आउन थाल्यो । पुँजीको विकासको बाटो खुल्यो ।
प्रिय छोराछोरी,
इन्जिनको चमत्कारले सामुद्रिक यात्रामा क्रान्ति ल्यायो । विशाल डुंगाहरू सागरमा यात्रा गर्न थालेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, हवाईका टापुहरू पत्ता लागे । संसारका धेरै भागहरू इन्जिनकै कारण मानचित्रमा देखा परे ।
सामन्ती युगमा पुँजी केही जमिनदारहरूको हातमा सीमित थियो । तर जब पुँजीवादी युग आयो, विकासले तीव्र गति लियो । यसै युगमा मानिसले आणविक हातहतियार निर्माण गर्न थाल्यो । रेडियो, टेलिभिजन र टेलिफोनजस्ता आविष्कारहरूले संसारलाई अझ नजिक बनाए ।
टेलिभिजनले पहिलो पटक खेलको प्रत्यक्ष प्रसारण गर्नु साँच्चै युगान्तकारी घटना थियो । त्यो सन् १९३९ मा भएको थियो, अमेरिकी राष्ट्रपति फ्रयांकलिन डेलानो रुजबेल्टले खेल उद्घाटन गर्दै हामी नयाँ भविष्यतर्फ, नयाँ युगतर्फ प्रवेश गर्‍यौं भनेका थिए । नभन्दै मानिसले चामत्कारिक फड्को मार्‍यो ।
त्यतिबेला टेलिभिजन ब्ल्याक एन्ड ह्वाइट थियो । झ्यापझ्याप र झिपझिप गर्दै दृश्यहरू प्रसारण हुन्थे । समयक्रममा, सन् १९५५ सम्म टेलिभिजन रंगीनमा बदलियो । हाम्रो देशमा भने, सन् १९८५ तिर नेपाल टेलिभिजनको सुरुवात ब्ल्याक एन्ड ह्वाइटमै भएको थियो ।
त्यसपछि प्रविधिको क्षेत्रमा थप चमत्कारहरू भए । स्याटेलाइट प्रविधिको थ्यौरी पत्ता लागेपछि संसार झन् सानो भयो । अहिले जुनसुकै देशले प्रविधि लिन, दिन, किन्न र बेच्न सक्छ । हुँदाहुँदै अहिले त हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चमत्कारी युगमा प्रवेश गरिसकेका छौं ।
एआईको क्षमता हेर त, एउटाको आवाजमा अर्कैले गीत गाउन सक्छ । म आफैं छक्क पर्छु जब एआईले मेरो आवाजमा गीत गाइदिन्छ । अल्गोरिदमले मोबाइलमा मानवको रुचि र स्वादको पहिचान गर्छ । स्मार्टफोन खोल्नेबित्तिकै हामीले हेर्ने गरेका विषयवस्तु सजिलै प्रकट हुने कारण त्यही अल्गोरिदम हो ।
प्रिय छोराछोरी,
मानव जाति आज यति विकसित भयो कि उसको ज्ञान र प्रविधिको चमत्कारले संसारलाई चकित पारिरहेको छ । तर, यसै विकासको बीचमा मानवले नरसंहार पनि देख्यो । जापानको हिरोसिमा र नाकासाकीमा अणुबम खसाल्दा, निमेषभरमै लाखौं निर्दोष मानिसहरूको ज्यान गयो । यसबारेमा साहित्यकार मदनमणि दीक्षितले ‘मेगा हिरोसिमातिर’ लेखेका छन् अर्थात् एउटा हिरोसिमा होइन, दस लाख हिरोसिमा ।
दीक्षितले लेखेको भन्दा समय धेरै अगाडि बढिसकेको छ । आज हामी प्रकृतिका रहस्यहरू पत्ता लगाउँदै छौं । अध्ययन, अनुसन्धान र खोजहरूले आधारभूत सूत्रहरू फेला परेका छन् । विज्ञानका नियम पछ्याउँदै प्रविधिमा यति अपत्यारिलो उन्नति भइरहेको छ कि कल्पनाभन्दा परको संसार सम्भव बनेको छ ।
तर छोराछोरी, के तिमीहरूले कहिल्यै सोचेका छौ ? यत्रो उन्नति हुँदा पनि मानव जाति किन खुसी छैन ? किन उसले आफूलाई सुरक्षित महसुस गरिरहेको छैन ? किन सम्मानित जीवन जिउन पाएको छैन ? सत्य र निष्ठाको बाटो हिँड्नेहरू प्रायः उपेक्षित हुन्छन्, आलोचना सहन्छन् । तर, जो झूट र बदमासीको बाटो हिँड्छ, बलियो भए भने उनीहरू दण्डित त कुरै छाडौं, उनीहरूले आलोचनासमेत खेप्नु पर्दैन ।
समाजको विकासक्रममा न्यायका लागि मानवले नियम, कानुन, संविधान, न्यायालय र न्यायमूर्ति स्थापना गर्‍यो । तर, आज पनि ती सबैमा सबैको पहुँच छैन ।
एकथरी मानिसहरू भोकमरी र गरिबीको चपेटामा छन् । भोकै रहेका मानिसले न्याय पाउने अवस्था कसरी आउँछ ? खानै नपाउने मानवलाई स्वतन्त्रताको हकबाट सुसज्जित हुने व्यवस्था कसरी सम्भव हुन्छ र  ?
संसारमा राज्य नभएको कुनै ठाउँ छैन । सानो भएर पनि भ्याटिकन सिटी आफ्नै किसिमको राज्य हो । इतिहासको कुनै कालखण्डमा त निर्वासनमै बसेर पनि राज्य बनाउने अभ्यास भएको थियो ।
राज्यको मुख्य काम र कर्तव्य भनेकै जनताप्रति उत्तरदायी हुनु हो— जनताको समस्या समाधान गर्नु र नागरिकलाई निर्भयपूर्वक बाँच्ने वातावरण उपलब्ध गराउनु हो । तर केही राज्यबाहेक, धेरैजसो राज्यहरू जनताको अपेक्षाअनुसार उत्तरदायी देखिँदैनन् । यति तीव्र विकास र प्रविधिको उपलब्धि हुँदाहुँदै पनि आखिर यस्तो किन भयो ?
हामीले आजको कीर्तिमानी विकासमा साँच्चै गर्व गर्ने हो भने, सबैभन्दा पहिले ‘भोकले तड्पिएर मर्नु नपर्ने समाज’ निर्माण गर्नुपर्छ । यसो गर्न नसकेसम्म हाम्रो विकासको अर्थ के छ ?
प्रिय छोराछोरी,
आज सर्पले डस्यो भने एउटा मानव मात्र मर्छ । तर कुनै मानिसको मानसिक सन्तुलन बिग्रियो भने सिंगो संसार ध्वस्त हुन बेर लाग्दैन । यदि उसले सृष्टि र ब्रह्माण्डमा मानवको महत्त्व, विकासको मूल्य र आफ्नो जिम्मेवारी बुझेन भने, कुनै पनि समय प्राकृतिक होइन, मानवीय प्रलय निम्त्याउन सक्छ । यसरी हामी सन्त्रासको धरापमा किन परिरहेका छौं ?
आजका मानवलाई कुनै जीवजन्तुबाट होइन, मानवबाटै खतरा छ । स्वार्थ, अहंकार र ज्ञानको गलत प्रयोगबाट खतरा छ । अज्ञानताभन्दा पनि ज्ञानकै दुरुपयोगले मानवको अस्तित्वमाथि प्रश्न उठाइरहेको छ । आज यति धेरै आणविक हतियारहरू बनेका छन्, जसको प्रयोगले प्रयोगकर्ता स्वयं पनि उम्किन सक्दैन ।
तर प्रश्न उठ्छ— मानव यति स्वार्थी र विनाशकारी कसरी हुन्छ ? आपराधिक मानसिकता कसरी जन्मिन्छ  ? यसको जडमा खराब चिन्तन र गलत शिक्षा जिम्मेवार छन् ।
मानव अनुहार, आवाज र शरीरको बनावटले चिनिन्छ । तर त्यो बाहिरी चिनारी मात्र हो । वास्तविक प्रश्न त— मानिस कस्तो छ ? भन्ने हो । आजको संसारलाई कसरी सुरक्षित, शान्तिपूर्ण र न्यायपूर्ण दिशातर्फ अघि बढाउने भन्ने प्रश्न अत्यन्तै संवेदनशील छ ।
हामीलाई निजी स्वार्थ र अहंकारले संसार ध्वस्त पार्ने मानिसहरू होइन, सिंगो पृथ्वी र मानव जातिको सुरक्षाका निम्ति गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुने मानवहरू चाहिएका छन् ।
प्राविधिक रूपमा आज जो–कोही विद्वान् हुन सक्छ । तर उसमा मानवीय भावना नभए, त्यो ज्ञानले भोलि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले हामीले चिन्नु जरुरी छ— देशभक्त को हो र देशद्रोही को हो ? मानवतावादी को हो र मानवद्रोही को हो ? सत्यवादी को हो र सत्यका शत्रु को हुने ? शान्तिवादी को हो र हिंसावादी को हो ?
त्यो चिनारीले मात्र हाम्रो भविष्यको दिशा तय गर्नेछ ।
सत्यका शत्रुहरू आज छ्यासछ्यास्ती देखिन्छन् । झूट बोल्न लाज मान्दैनन्, झूटका कथा रचना गर्छन्, झूटलाई बेलुनझैं फुलाएर सत्यको आकार दिन खोज्छन् । एउटा झूटलाई सय पटक दोहोर्‍याएर सत्य साबित गराउने गोयबल्स थ्योरी पछ्याउँछन् । सत्य, इमान, निष्ठा र मूल्यहरूमा तिनले कुनै अर्थ देख्दैनन् । झूट बोल्नुमा, गलत काम गर्नुमा र अनुशासन तोड्नुमा उनीहरू बहादुरी ठान्छन् । अरूका विरुद्ध चुक्ली लगाउने नकारात्मक प्रवृत्ति समाजमा दिन प्रतिदिन बढ्दै गएको छ ।
तर छोराछोरी, संसारमा शान्ति र मानव सेवामा समर्पित मानिसहरूको पनि कमी छैन । तिनीहरूको संख्या अथाह छ । संसारका आठ अर्ब मानिसहरूको चाहनालाई कुनै शक्तिले पराजित गर्न सक्दैन । युद्धको भय र सन्त्रास थोपर्न खोज्नेहरूले यो सत्य बिर्सनु हुँदैन । आणविक हतियार भएका देशका सचेत जनताले पनि युद्धलाई समर्थन गर्दैनन् । तर, अर्को प्रश्न उब्जिन्छ— यदि तिनीहरूले शान्ति चाहेका हुन् भने ती घातक हतियार किन थुपारेर राखेका छन् ? ती हतियारहरूका लागि यति धेरै खर्च किन भइरहेको छ ? यही कारणले आज हामी सन्त्रासै सन्त्रासमा बाँच्न बाध्य छौं । मानवको पहिचान उसको ज्ञान, बुद्धि र मति (विवेक)ले निर्धारण गर्छ । कुन तहको ज्ञान छ ? कस्तो बुद्धि छ ? मति ठीक छ कि छैन ? यिनै आधारमा मानिस विश्वसनीय हुन्छ कि अविश्वसनीय, विवेकी हुन्छ कि छट्टु ।
ज्ञान भनेको सुझबुझ हो । तर, बुद्धि सधैं सकारात्मक मात्र हुँदैन, कहिलेकाहीं नकारात्मक पनि हुन्छ । छलकपट र फटाहा प्रवृत्तिमा पनि बुद्धि लाग्न सक्छ । त्यसैले ज्ञान र बुद्धिको सही प्रयोग हुनुपर्छ । तर मति (विवेक) ठीक छ भने, ज्ञान र बुद्धि थोरै भए पनि धेरै फरक पर्दैन । एक असल मति भएको मानिसले अरूको अहित कहिल्यै सोच्दैन । ऊ सबैका लागि उपयोगी साथी हुन्छ । उसले हरेक कदम चाल्दा सोच्दछ— ‘यसले कसैको हितमा बाधा त पुर्‍याउँदैन ?’ त्यसैले छोराछोरी, तिमीहरूले लिने शिक्षा यस्तो हुनुपर्छ, जसले तिम्रो मति ठीक ठाउँमा राखोस् । मति भनेको मानिसको असल आचरण, विवेक र चरित्र हो । यदि मति ठीक छ भने, ज्ञान र बुद्धि असल कार्यमा लाग्छ ।
ज्ञान भनेको खरिद पनि गर्न सकिन्छ । कुनै उद्योग खोल्दा हामीले एकाउन्टको राम्रो ज्ञान भएको कर्मचारी नियुक्त गर्न सक्छौं । प्रविधि वा सफ्टवेयर खरिद गरेर त्यसको उपयोग गर्न पनि सक्छौं । एउटा व्यवस्थापन जानेको उपयुक्त व्यक्ति नियुक्त गरेर काम अघि बढाउन सकिन्छ । त्यसैगरी, विभिन्न क्षेत्रमा विज्ञ मानवलाई नियुक्त गर्न पनि सम्भव छ । भलै त्यो आफ्नै ज्ञानजस्तो गहिरो नहोला ।
यदि आफूसँग बुद्धि छैन भने, ‘अब के गर्ने साथी हो ?’ भनेर सल्लाह लिन सल्लाहकारको टिम बनाउन सकिन्छ । तर मति भने न किन्न सकिन्छ, न सापटी लिन सकिन्छ ।
मति भनेको के हो ? मति असल आचरण, चरित्र र व्यवहार हो । यदि आफ्नै मति खराब भयो भने अर्को मानिसबाट मति सपार्न सम्भव छैन । मति ठीक राख्नका लागि मानिसले सधैं सचेत हुनुपर्छ । किनकि एउटा पाइलो चिप्लियो भने जिन्दगीभरको सुमतिको कमाइ स्वाहा हुन्छ । प्रतिष्ठा र आर्जन—जुन जिन्दगीभर कमाइन्छ, त्यसै एउटा गलत कदमले नष्ट हुन सक्छ ।
त्यसैले, मति भनेको अति मौलिक कुरा हो । त्यो आफैंमा निरन्तर कायम राख्नुपर्छ । मति अटल पहाडजस्तो हुनुपर्छ—जो कुनै परिस्थितिले डगमगाउन सक्दैन । तर, मति एकचोटि चिप्लियो भने त्यसको असर गहिरो हुन्छ । सुमति जिन्दगीभर सही हुनुपर्छ, तर कुमति हुन एकचोटि भए पनि पुग्छ ।
तर, ध्यान दिनुपर्ने कुरा के हो भने—मति किन्न सकिँदैन, तर सिक्न र अमल गर्न भने सकिन्छ । असल मति सिकियो भने त्यो उन्नतिको संवाहक र प्रगतिको खुड्किलो बन्छ । बुद्धि त राम्रो, नराम्रो, दुवै कुरामा खेल्न सक्छ । तर विवेक भने नराम्रो दिशातिर जाँदैन । सुविवेक सधैं सही र सत्यको बाटोमा हिँड्छ । त्यसैले मतिलाई ठीक राख्न विवेकको प्रयोग अनिवार्य छ । सुमतिले विवेकको सृष्टि गर्छ, विवेकले न्यायाधीशको काम गर्छ । जुन सधैं सकारात्मक हुन्छ ।
प्रिय छोराछोरी,
के म यो काम ठीक गरिरहेको छु ? के मेरो सोच सही दिशामा छ ? के मैले सोच्ने तरिका ठीक छ ? यतिबेला मैले गर्नुपर्ने काम यही हो कि होइन ? कतै म गर्नुपर्ने काम छाडेर नगर्नुपर्ने काम त गरिरहेको छैन वा समय बर्बाद त गरिरहेको छैन ? म जे निष्कर्षमा पुगेको छु, त्यो उचित छ कि छैन ?
यी प्रश्नहरू हामीले आफैंसँग हरेक पल सोध्नुपर्छ । किनभने आफैंसँग गरिने यस्ता प्रश्नहरूले हाम्रो सोच र कर्मलाई सही बाटोमा राख्छ ।
समयका मसिना–मसिना कणहरू जोडेर जिन्दगीको तार बनेको हुन्छ । जीवन भनेको जन्मदेखि मृत्युसम्मका ती तारहरूको लय हो— जसलाई हामी जिन्दगीको यात्रा पनि भन्न सक्छौं । यो यात्रालाई सुन्दर बनाउन हामीले राम्रो कुरा, राम्रो व्यवहार, राम्रा क्षण, राम्रा सोच र राम्रा कदम जोड्नुपर्छ । यही सकारात्मक कुराहरूले जिन्दगीको गोरेटो सहज र सार्थक बनाउँछ । तर, छोराछोरी, चेतना कुबाटोमा लाग्यो भने मति भ्रष्ट हुन्छ । मति एक पटक बिग्रियो भने, ज्ञान र बुद्धि दुवैको दुरुपयोग हुन्छ । त्यस्तो मानिस सम्पूर्ण विश्वका लागि सबैभन्दा खतरनाक साबित हुन सक्छ ।
त्यसकारण, हामीले मतिभ्रष्टताबाट जोगिनु छ र अरूलाई पनि जोगाउनु छ । किनभने सुमति र सुविवेकको मार्गमा हिँडेर मात्र जिन्दगीलाई सही अर्थमा सार्थक बनाउन सकिन्छ । र, साँचो मानिस हुन सकिन्छ ।

साभारः इकान्तिपुर, २०८१ पुस ८ गते ।