detail-img

न्यूनतम साझा कार्यक्रम सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमिक अवधारणा 

नेपाल सरकारको न्यूनतम नीतिगत प्राथमिकता र कार्यक्रमसम्बन्धी दलीय आधारमा दलको साझा अवधारणाको मम्यौदा भर्खरै मस्यौदा समितिका संयोजक उपप्रधानमन्त्री विष्णु पौडेलले तपाईं हामी सबैका अगाडि प्रस्तुत गर्नुभएको छ । यो सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमिक अवधारणा हो । अत्यन्तै सामुहिक छ र सान्दर्भिक छ । यसले अहिलेको सरकार, विभिन्न दर्शन, विचार, सिद्धान्त, नीतिहरूको विविधतायुक्त, दलहरूको मिलिजुली सरकार, संयुक्त सरकार भए पनि राष्ट्रिय हित, सुशासन, भ्रष्टाचार नियन्त्रणका पक्षमा, जनताका समस्यालाई सम्बोधन गर्ने पक्षमा, जनताका पिरमर्का हेर्ने पक्षमा, देशलाई विकासको विविध क्षेत्र कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्र, भौतिक पूर्वाधार विकास, सामाजिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यको क्षेत्र, वातावरणीय, पर्यटन, वनसम्बन्धी पक्ष, हाम्रा छिमेक सम्बन्ध वा वैदेशिक सम्बन्ध, यी सबै कुरामा दलहरू एकठाउँमा छन् र छौं भन्ने कुरा देखाएको छ । 
यस नीतिगत प्राथमिकता र कार्यक्रमिक अवधारणाले हाम्रो गन्तव्यको एकरूपता, कामको एकरूपता, शैलीको एकरूपता, प्रतिबद्धताको एकरूपतालाई प्रतिबिम्वित गरेको छ । यो दस्तावेज उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत स्वीकृत भएर यहाँ प्रस्तुत भएको छ । अर्थात् यो हामी सबै दलहरू बसेर निर्माण गरेका हौं र यसलाई सहमतिका साथ स्वीकार गरेका हौं । यसले देखाउँछ कि यो टिम केही गर्नका निम्ति आएको छ । यो टिम देशका लागि, जनताका लागि केही गर्न उत्सुक पनि छ र प्रतिबद्ध पनि छ । अहिलेको सरकार एउटा सरकार बन्नका लागि, एउटा सरकारका ठाउँमा अर्को सरकार, एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन भएको होइन । जनादेश नै अहिलेको फरक हो । अहिलेको जनादेशमा केही नयाँ पार्टीहरूको संसदमा उदय भएको छ । नयाँ सांसदहरूको उदय भएको छ ।
हिजो जुन गठबन्धन थियो, सो गठबन्धनले आफैँले सरकार बनाउन सक्ने स्थिति पनि रहेन । गठबन्धन सरकारको लगभग डेढ वर्षको कार्यकाल र कार्यसम्पादन हेर्दा देश र जनताका हितको रक्षा, तिनको सम्वद्र्धन र तिनलाई अगाडि बढाउने ल्याकत पनि देखिएन, क्षमता पनि देखिएन र मनसाय पनि देखिएन । अहिले यो ताजा जनादेश अनुसार जनताको जनादेश, मतादेश र त्यसभित्र अन्तरनिहित मनसाय जनताका आशा, भरोसा र अपेक्षाहरू समेतलाई ध्यानमा राखेर अहिलेको सरकार बनेको हो । 
कतिपयले राजनीतिक खेल बडा छिटोछिटो भयो भने । कहाँ छिटो भयो ? मंसीर ४ गते चुनाव भयो । पुस १० गते बल्ल सरकार बनेको छ । कहाँ छिटो भयो ? सुविचारित ढङ्गले अनेक राउण्डको छलफलपछि, विचार विमर्श गरेर यो सरकार गठन भएको हो । सवा महिनाको अभ्यासपछि यो मुलुकलाई कसो गर्दा राम्रो हुनसक्छ भनेर गरिएको हो । त्यसकारण राजनीतिक दलका नेताहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस न्यूनतम साझा कार्यक्रमलाई स्वीकार गर्दा यो विश्वासका साथ स्वीकार गरेको छ र त्यो विश्वासका साथ नै उच्चस्तरीय राजनीतिक संयन्त्रको तर्फबाट मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई समपर्ण गर्दैछु वा हस्तान्तरण गर्दैछु । यसको प्रभावकारी कार्यान्वयन हुनेछ । एउटा सत्तासाझेदर दलको हैसियतले म आफैँ पनि विश्वस्त छु कि यो नीतिगत प्राथमिकता र कार्यक्रमिक अवधारणा सरकारले पारित गर्नेछ र आगामी दिनमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दा यसमा उल्लेखित कुराहरूको आधारमा यसलाई मार्गनिर्देश मानेर नै यसको इन्लार्जमेन्टको रूपमा अरु कुराहरू आउलान् । यो कार्यान्वयन हुन्छ । 
आजबाट दोस्रो निर्वाचनपछि दोस्रो प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्यो र अधिवेशन प्रारम्भ भएको छ । भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने बित्तिकै मन्त्रिमण्डललाई पूर्णता दिने लगायतका सम्पूर्ण कामहरू तीव्रताका साथ हुने कुरामा हामी अपेक्षा गर्दछौं । यहाँ भनिएका कुरा हामी अपेक्षा गर्दछौं । यो प्रधानमन्त्रीज्यूले बुझिसकेपछि केही बेरमा मन्त्रिपरिषद्को बैठक बसेर यसको कार्यान्वयन तत्कालबाट सुरु हुन्छ र यसको प्रभावकारिता, यसको कार्यान्वयनले प्रधानमन्त्रीज्यूले भोलि विश्वासको मत लिइसकेपछि गति लिनेछ भन्ने कुरामा हामी विश्वास गर्दछौं । 
म  सबैलाई आग्रह गर्न चाहन्छु– बजार हल्लाहरू हुन्छन् । एकजना कविले त लेखेकै थिए, यो हल्लै हल्लाको देश भनेर । मलाई अलिक त्यस्तो त लाग्दैन, कविजीले लेखिहाल्नुभयो तर हल्ला चाहिँ बेस्सरी चल्छ । 
म साथीहरूलाई के भन्न चाहन्छु भने, यो सरकारभित्र कुनै खेल हुन्छ कि कसैले यो सरकार ढाल्छ कि यस्तो उस्तो नसोच्नु होला । धेरैधेरै खेलाडीहरू दर्शक भएका छन् र धेरै वाइसाइडर्स् भएका छन् । रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन् । यो यत्तिकै बनेको छैन, यो सरकार बनाइएको स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेल होइन, स्थायित्वका लागि यो सरकार बनेको हो । त्यसकारण यो सरकार स्थायी सरकारको रूपमा, प्रभावकारी सरकारको रूपमा अगाडि बढ्छ । 
म हाम्रो सिङ्गै राष्ट्र सेवाका क्षेत्रमा क्रियाशील साथीहरूलाई भन्न चाहन्छु कि, पहिलो कुरा यो सरकार स्थायी हो भन्ने कुरा मनमा राखेर साथीहरूले काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिन्छु । कुनै हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नै छैन, काम छैन । यो सरकार एउटा निकम्मा, निष्कृय, सिथिल यथास्थितिमा रहने होइन, गतिशील सरकार हो । यो स्थायी र प्रभावकारी सरकार हो । त्यस ढङ्गले यो चल्ने छ ।
यसमा सबैलाई थाहा छ, नेकपा (एमाले) जुन पार्टीको म अध्यक्ष छु, यस सरकार निर्माणमा एमाले सबैभन्दा ठूलो घटक हो । मेरो पार्टीको अलिकति पनि कुनै प्रतिशत कहीँ कतै होइन, सम्पूर्ण रूपमा साथ, सहयोग, समर्थन यस सरकारलाई छ । यो खाली टेम्पोररी एरेन्जमेन्टको कुरा होइन, यो परमानेन्ट सेटलमेन्टको कुरा हो । प्रधानमन्त्रीज्यूका दायाँ बायाँतिर बसेका सबै साथीहरू र आइनपुगेका पार्टी जसपा लगायतकोे समेत सुदृढ समर्थन छ । एक ढङ्गले भन्ने हो भने सरकारसँग  असाधारण मत पनि छ । हामी भोलि अझ बढी असाधारण मतको अपेक्षा गर्न सक्छौं । भोलि लगभग १८० को संख्या छ, त्यसमाथि ८०÷८५ संख्या फेरि थपियो भने पनि अप्ठ्यारो मान्नुपर्दैन । अब पानी गिलासमा नहालेर छेउमा पोख्नुभयो भन्ने कुराको के अर्थ छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । गिलासमा पानी थापिराखेको छ, गिलासमा पानी नहालेर भुइँतिर किन हाल्ने ? त्यसकारण सबैले गिलासमा पानी हाल्नुहुन्छ भन्ने मैले विश्वास गरेको छु । १८५ जति भइसकेपछि अरु बाहिर किन ? त्यसकारण म सबैलाई आह्वान गर्छु, अरु पार्टीहरूलाई पनि आह्वान गर्छु, हामी सँगैसँगै अगाडि जानसक्छौं । मैले अघि संसदमा बोल्दा पनि भनेँ– अहिले कतिपय मतभेदहरू होलान् तर आधारभूत रूपमा सँगै जान सक्ने वातावरण पनि छ र त्यो वातावरणलाई अगाडि बढाउनुपर्छ । 
एउटा कुरा म के पनि स्पस्ट गर्न चाहन्छु भने–यो सरकार नेपाली जनताले चुनेर बनाएको संसद, जनताको अभिमतबाट बनेको संसदको अभिमतबाट बनेको  सरकार हो । त्यसकारण म हाम्रा सबै अन्तर्राष्ट्रिय मित्रहरूलाई यसको मर्मलाई बुझेर, यसप्रति कुनै आशङ्काको दृष्टिकोण राख्नुपर्ने छैन भन्ने कुरा भन्न चाहन्छु । यस सरकारले अत्यन्तै जिम्मेवारीका साथ असल, समस्यारहित छिमेक सम्बन्ध, परराष्ट्र सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्छ । यो कसैको विरुद्धमा होइन । हामी सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्छौं । कसैको अहितमा सोच्ने हाम्रो बानी छैन । हामी कसैको अहितमा सोच्दैनौं, सोच्नुपर्ने आवश्यकता छैन । सबैसँग मित्रताका लागि हामी काम गर्छौं । सम्बन्ध अझ सुदृढ, अझ उच्चस्तरमा पुर्याउँदै, हाम्रो राष्ट्र र राष्ट्रिय हितको सम्वद्र्धन गर्दै हाम्रा वैदेशिक सम्बन्धहरूलाई, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउने हाम्रो नीति रहेको छ भन्ने कुरा यस प्रतिवेदनले बताएको छ । त्यसकारण म हाम्रा छिमेकी, बाह्य मित्रहरू सबैलाई पनि सँगसँगै काम गर्न, हाम्रा विकासका प्रयासहरूमा सकारात्मक दृष्टिकोण राखी आउनुभएको छ मित्रहरूले । त्यसमा पनि अझ बढी सकारात्मक एटिट्युड राख्न र सबैले सहयोगको हात बढाउन म सबै पक्षहरूसँग आग्रह गर्न चाहन्छु । हामी तटस्थ नीति अबलम्वन गर्छौं, कतैतिर लाग्दैनौं । हाम्रो यस प्रतिवेदनले बुझाएको छ । 
म फेरि एकपटक भन्न चाहन्छु–यो सरकार नेपाली जनताले छानेका प्रतिनिधिहरूबाट बनेको संसदीय बनावटकोे सुविचारित अभिव्यक्ति, प्रकटीकरण यो सरकार हो । त्यसकारण मैले विश्वास लिएको छु, जनताको अभिमतको साह्रै ठूलो प्रतिनिधित्व यस सरकारसँग छ । यससँग आशा, भरोसा, विश्वास छ । यसले यसरी काम गर्छ भन्ने मैले विश्वास लिएको छु । म फेरि एकपटक त्यस विश्वासका साथ सहयोग हुने बताउँदै सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्न चाहन्छु । 
नेकपा (एमाले) का अध्यक्ष, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले २०७९ पुस २५ गते सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई गर्नुभएको सम्बोधनको पूर्णपाठ ।