detail-img

शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण 

काठमाडौं । नेकपा (एमाले) ले वि.सं. १९९७ का शहीदहरूको सम्मानमा शहीद स्मृति कार्यक्रमको आयोजना गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 
वि.सं. १९९२ जेठ ३ गते नेपाल प्रजापरिषद् गठन गरी निरङ्कुश जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा होमिनुभएका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई राणाशासकहरूले १९९७ सालमा मृत्युदण्ड दिएका थिए । 
शहीद सप्ताहको अवसरमा नेकपा (एमाले) केन्द्रीय कार्यालयद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा शहीदहरूको तस्वीरमा माल्यार्पण गरी सम्मान प्रकट गर्नुका साथै देशमा प्रजातन्त्र ल्याउन उहाँहरूले गर्नुभएको बलिदानको चर्चा गरियो ।
कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आज हामीले राजनीतिक रूपमा प्राप्त गरेको उपलब्धि १९९७ सालदेखिका शहीदहरूको बलिदानबाट प्राप्त भएको र अब हामी समाज रूपान्तरणका लागि इमान्दारीपूर्वक लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले अहिलेको सम्पूर्ण उपलब्धि वि.स. १९९७ को आन्दोलन र बीर शहीदहरूको बलिदानको जगमा भएको धारणा राख्नुभयो । 
उपाध्यक्ष नेम्बाङले नेकपा (एमाले) विरूद्ध निषेधको राजनीति भएको र  जनताले गत निर्वाचनमा एमालेलाई लोकप्रिय मतमा पहिलो बनाएर निषेधको राजनीतिलाई अस्वीकार गरेको वताउनुभयो । 
संविधान सभाका अध्यक्ष नेम्वाङले संविधान सभाबाट सारै महत्वपूर्ण र सर्वस्वीकार्य संविधान ल्याउने काम भएको र यसबाटै सबै समस्याको समाधान गर्न नेकपा (एमाले) सक्षम रहेको वताउनुभयो । उहाँले यो संविधान सम्पूर्ण शहीदहरूको सम्मान स्वरूप आएको विचार व्यक्त गर्नुभयो ।

 
पार्टीका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलन र आजको परिवर्तन १९९७ सालको शहादतको घटनासँग जोडिएको वताउँदै २००७ सालमा प्रजातन्त्र वहालीपछि नेपाली काँग्रेसको सरकारले लगाएको कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि फुकुवा भएको स्मरण गर्नुभयो । महासचिव पोखरेलले प्रजा परिषद् नेकपा (एमाले) मा समाहित भएकाले उसको ऐतिहासिक विरासत पनि एमालेले बोकेको छ भन्नुभयो । 
समसामयिक राजनीतिका सन्दर्भमा महासचिव पोखरेलले मुलुुकमा राजनीतिक अस्थिरताको दुष्चक्रभित्र भइरहेका खेललाई सचेततापूर्वक हेरिरहेको र यसको सफलतापूर्वक सामना गर्न पार्टी सक्षम रहेको वताउनुभयो ।  
कार्यक्रममा इतिहासका अध्येता डा. राजेश गौतमले लोकतान्त्रिक आन्दोलनमा प्रजा परिषद्ले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । डा. गौतमले प्रजातन्त्र र जनताको अधिकारका लागि लडेका चारजना योद्धालाई निरङ्कुश जहानियाँ राणा शासकले कसरी हत्या गरेका थिए भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।  
कार्यक्रमका पार्टीका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, नेतृ गोमा देवकोटा, स्थायी कमिटी, केन्द्रीय कमिटीका नेताहरू र पार्टीका अन्य नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।