detail-img

राज्य कमजोर हुने प्रक्रियामाः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घेराबन्दी र षडयन्त्रपूर्वक एमालेलाई बलियो राष्ट्रिय शक्ति बन्नबाट रोक्ने जुन प्रयास भइरहेको छ, त्यसलाई छिचोल्ने शक्ति हामीले आफैभित्रबाट पैदा गर्नुपर्ने वताउनुभएको छ । 
विश्व शक्तिको केन्द्र युरोप, अमेरिकाबाट एसियामा सिफ्ट हुन नदिने प्रयास र चीनलाई घेराबन्दी गर्ने योजना अन्तर्गत बाह्य शक्ति नेपालमा अस्थिरता कायम गर्न चाहन्छ भन्दै महासचिव पोखरेलले नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बन्नबाट रोक्ने प्रयास संवेदनशील भूराजनीति रहेको नेपालमा अस्थिरता कायम गर्ने रणनीति अन्तर्गत भएको वताउनुभयो । 
‘जुुन प्रकारको बाह्य हस्तक्षेप छ, चिन्तनका माध्यमबाट, राजनीतिका माध्यमबाट, संगठनात्मक रूपमा मोर्चाबन्दीका माध्यमबाट नेकपा (एमाले) लाई अगाडि बढ्न दिनबाट रोक्ने प्रयास जुन भइरहेको छ, यसलाई छिचोल्ने काम हामीले आफैभित्र पैदा गर्नुपर्ने जरूरी छ ।’
‘यतिवेला हाम्रो पार्टी मिसन ग्रासरुट अभियानमा जुटेको छ । जसको उद्देश्य पार्टीलाई समग्र रूपमा सुदृढ बनाउने र विस्तार गर्ने रहेको छ । हामी त्यही उद्देश्यका साथ अगाडि बढेका छौं ।’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– भविष्यमा नेपाली जनताको बहुमत समर्थनमा बहुमतको सरकार बनाउने सामथ्र्य पैदा गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौं । 
‘राजनीतिक परिवर्तनपछि राज्य बलियो हुनपर्ने हो तर त्यसो भइरहेको छैन, राज्य कमजोर हुने प्रक्रियामा रहेको छ’ भन्दै महासचिव पोखरेलले नेपाललाई अस्थिर बनाइरहन चाहने प्रवृत्ति नेपाली राजनीतिमा जवर्जस्तरूपमा हावी भएका कारण राज्य कमजोर हुँदै गएको विचार व्यक्त गर्नुभयो ।
राज्यलाई कमजोर बनाउने खेल अन्तर्गत अस्थिरताको पक्षमा विचारको खेती हुने गरेको र यसलाई तोड्नु जरूरी रहेको उहाँको भनाई छ ।  
‘वर्तमान नेपाली समाज परिणामप्रति ज्यादा चिन्ता गर्ने गरेको र जुन परिणाम आइरहेको छ, त्यो परिणाम के कारणले आइरहेको छ भन्ने कुरा प्रति प्रवेश गर्दैनौं,’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– हामी सरकारमा थियांै, हामीलाई अदालतबाट परमादेश जारी गरी सरकारबाट हटाइयो । हालै सम्पन्न निर्वाचनमा हामी जनताको रोजाइमा थियौं, हामीलाई घेराबन्दी गरेर हराइयो । त्यसपछि हाम्रो प्रयासमा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनायौं तर घेराबन्दी गरेर हामीलाई सरकारबाट बाहिरिने परिस्थिति सिर्जना गरियो । यी त परिणामहरू हुन् । यस्तो किन र के कारणले भयो भन्ने मुख्य प्रश्न हो भन्ने मलाई लाग्छ । 
युरोप अमेरिका एसियामा विश्वशक्ति सिफ्ट चाहँदैनन्
म तपाईंहरूलाई दुइटा सन्दर्भ बताउन चाहन्छु– पछिल्लो समय पूँजीवादी सङ्कटको समयमा चीन र भारतले मिश्रित अर्थ व्यवस्थाका माध्यमबाट अर्थतन्त्रमा लाभ प्राप्त गरेका छन् । जब चीन र भारत बलियो अर्थतन्त्रका रूपमा देखा परे, युरोप र अमेरिकाका लागि त्यो चिन्ताको विषय भयो । युरोप–अमेरिकाले बनाएको रणनीतिभित्र विश्वको शक्ति एसियामा सिफ्ट हुन नदिने रहेको छ । युरोप, अमेरिकाको शक्ति एसियामा सिफ्ट हुन नदिने रहेको छ । चीन र अमेरिकाबीचमा विभाजन ल्याउने, एसियाका आर्थिक शक्तिहरूलाई एकठाउँमा उभिन नदिने, जापान र चीनका बीचमा विवाद ल्याउने, पूर्वी एसिया र चीनका बीचमा, दक्षिण एसिया र चीनका बीचमा विवाद ल्याउने, पश्चिम एसियालाई कुनै न कुनै द्वन्द्वमा फसाइरहने रणनीति अमेरिकी रणनीतिका रूपमा रहेको छ ।
दक्षिण एसियाको केन्द्रका रूपमा रहेको भारतलाई चीनका विरुद्ध खडा गर्ने, पूर्वी एसियाको आर्थिक शक्तिका रूपमा रहेको जापान र कोरियालाई चीनका विरुद्ध खडा गर्ने, चीनलाई घेराबन्दीमा राख्ने नीति अन्तर्गत नेपालको भूराजनीतिक संवेदनशीलतालाई प्रयोग गर्ने योजना अन्तर्गत नेपालमा अस्थिरताको खेती हुने गरेको छ । 
संविधान सभाका समयमा भारतीय राजदूतले त्यतिवेला कूटनीतिक क्षेत्रले खेलेको भूमिकाका बारेमा एउटा किताव लेखे । त्यसमा उनले नेपालप्रति भारतको नियन्त्रित अस्थिरताको नीति थियो भनेर लेखेका छन् । आज नेपालमा भएको राजनीतिक अस्थिरतामा त्यसको कुनै न कुनै सम्बन्ध छैन होला त ? अवश्य छ । नेकपा (एमाले) का विरुद्धमा भइरहेको घेराबन्दीसँग त्यसको कुनै अर्थ छैन होला त ? अवश्य छ । त्यस अर्थमा हामीले नेपालमा बलियो राष्ट्रिय शक्ति कसरी निर्माण गर्ने भन्ने प्रश्न महत्वपूर्ण प्रश्न हो । नेपालमा बलियो राष्ट्रिय शक्तिका रूपमा उदय हुन सक्ने सामथ्र्य दुई वटा राजनीतिक दलले आफूभित्र पैदा गर्न सक्छन्– नेकपा (एमाले) र नेपाली कांग्रेसले । 
कांग्रेस स्वतन्त्र ढङ्गले चल्ने शक्ति होइन 
नेपाली कांग्रेस बलियो हँुदा नेपाल स्वाधीन राष्ट्रका रूपमा अगाडि बढ्नसक्ने छैन । नेपाली कांग्रेसले २००७ सालदेखि नै आफ्नो शक्तिको आधारमा अगाडि बढ्ने आँट गरेको देखिँदैन । २००७ सालको परिवर्तन हतियारको माध्यमबाटै टुङ्गो लागिसकेको थियो तर त्यसलाई दिल्ली सम्झौतामा लगेर टुङ्ग्याउने काम भयो र त्यसमा कांग्रेसले सहमति जनायो । नेपाली कांग्रेसले भारतीयसँगको सम्झौतालाई, उसको आदेश पालनालाई आफ्नो कर्तव्यका रूपमा लिँदै आयो । उ स्वतन्त्र ढङ्गले चिन्तन गर्न सक्ने शक्ति नै होइन । 
२०४६ सालको आन्दोलनमा पनि नेपाली कांग्रेसले राजासित सम्झौता गर्ने नीति लियो । राजा र कांग्रेसका प्रतिनिधिले संविधान बनाउने र जारी गर्ने परिस्थिति सिर्जना भयो र हामीले २०४७ को संविधानमा २७ बूँदाको फरक मत राख्यौं । २०६२÷०६३ को जनआन्दोलनले त्यही २७ बूँदालाई अनुमोदन गर्यो । 
मुलुकमा अस्थिरता कायम गर्ने नियोजित योजना अन्तर्गत एमालेविरूद्ध घेराबन्दी 
जतिवेला नेकपा (एमाले) बलियो हुने गरेको छ, त्यतिवेला एमालेलाई विभाजित गर्ने षडयन्त्र हुने गरेको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– तर, आज हामीले नेकपा (एमाले) को रक्षाको प्रश्नलाई हल गरिसकेका छौं,  चिन्ता गर्नुपर्ने विषय छैन । विचार, संगठन, राजनीतिक प्रश्नमा एकताबद्ध पार्टीका रूपमा नेकपा (एमाले) जनताको रोजाइमा पहिलो पार्टीका रूपमा स्थापित गर्ने काम गरेका छौं ।  तर घेराबन्दीका कारणले प्रतिनिधि सभामा दोस्रो पार्टी भएका छौं । यो घेराबन्दी मुलुकमा अस्थिरता सिर्जना गर्ने नियोजित योजनाका कारण भएको छ । त्यसकारण एमाले राष्ट्रको बलियो राष्ट्रिय शक्तिका रूपमा खडा हुन सकेको छैन ।
जुुन प्रकारको बाह्य हस्तक्षेप छ, चिन्तनका माध्यमबाट, राजनीतिका माध्यमबाट, संगठनात्मक रूपमा पनि मोर्चाबन्दीका माध्यमबाट नेकपा (एमाले) लाई अगाडि बढ्न दिनबाट रोक्ने प्रयास जुन भइरहेको छ, यसलाई छिचोल्ने काम हामीले आफैभित्र पैदा गर्नुपर्ने जरूरी छ । त्यसर्थ यतिवेला हाम्रो पार्टी मिसन ग्रासरुट अभियानमा जुटेको छ । जसको उद्देश्य पार्टीलाई समग्र रूपमा सुदृढ बनाउने र विस्तार गर्ने रहेको छ । हामी त्यही उद्देश्यका साथ अगाडि बढेका छौं । भविष्यमा नेपाली जनताको बहुमतको समर्थनमा बहुमतको सरकार बनाउने सामथ्र्य पैदा गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौं । 
नेपाली समाजका लागि तीन प्रकारका चुनौती 
यतिवेला नेपाली समाजलाई कमजोर बनाउनका लागि भइरहेका तीन प्रकारका चुनौतीलाई हामीले सामना गर्नुपर्ने छ–  राजनीतिक अस्थिरता, समाजको साँस्कृतिक मूल्यमाथिको प्रहार र आर्थिक रूपमा मुलुकलाई कमजोर बनाउन भइरहेका षडयन्त्र ।
हामी नेपालीहरू देश किन बनेन भनेर चिन्ता गर्छौं तर देश बनाउनका लागि देशले राजनीतिक स्थिरता नै पाउन सकेन ।
अस्थिरता र अराजकता हाम्रो समाजको अग्रगमनको बाधक हो भन्ने कुरालाई बुझेर यसको समाधानलाई प्राथमिकताको विषय बनाउनु जरुरी छ ।
दोस्रो, पछिल्लो समय हाम्रो समाजमा साँस्कृतिक मूल्यमाथि अत्यन्त तीब्र प्रहार भइरहेको छ । हाम्रो समाजको साँस्कृतिक मूल्य विघटनतर्फ दौडिरहेको छ । एक समय एकल जातीय पहिचानको नारा उरालेर हाम्रोे साँस्कृतिक विरासतलाई भत्काउने प्रयत्न भयो, मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भयो । त्यो खेती पनि पश्चिमाहरूको अस्थिरता कायम गर्ने खेती अन्तर्गत थियो । समाज विभाजित गर्ने कोशिसलाई हामीले सुझबुझ ढङ्गले असफल बनायौं । त्यसबाट अताल्लिलिएको वैदेशिक शक्ति नेपाली समाजमा साँस्कृतिक अतिवाद र साँस्कृतिक विघटनको एजेण्डा बोकेर नेपालमा प्रवेश गर्यो । एउटा शक्तिराष्ट्र साँस्कृतिक अतिवादलाई प्रबद्र्धन गर्ने योजनामा लागिरहेको छ । त्यो साँस्कृतिक अतिवादले धर्मान्तरणलाई प्रोत्साहित गरिरहेको छ । त्यसले हाम्रो मेलजोलको सँस्कृति खल्बलिँदै छ । नेपाली समाज धर्मान्तरतर्फ जाँदै छ ।
हामीले आफ्नो साँस्कृतिक विरासतलाई कमजोर पार्यौं भने नेपाल राष्ट्र अस्थिरताको शिकार हुन्छ भन्ने मान्यताका आधारमा यसलाई कसरी सामना गर्ने भन्ने हाम्रोलागि सोच्नुपर्ने महत्वपूर्ण विषय बनेको छ । 
तेस्रो कुरा भनेको नेपाललाई आर्थिक रूपमा कमजोर पार्ने प्रयास योजनाबद्ध ढङ्गले भएको छ । शासकहरूको कमजोरीका कारणले मात्रै होइन, मुलुकको अर्थतन्त्रमा औपचारिक अर्थतन्त्रलाई कमजोर बनाउने, अनौपचारिक अर्थतन्त्रलाई फैलाउने एउटा नियोजित धन्धा भइरहेको छ । हाम्रो राज्य प्रशासनलाई कमजोर बनाएर, अनौपचारिक अर्थतन्त्रबाट नयाँ धनाढ्य सिर्जना गर्ने, जो शक्ति राष्ट्रका गोटी बन्न पुग्छन्, उनीहरूका माध्यमबाट अर्थतन्त्र कमजोर बनाउने र समग्रमा देशलाई कमजोर बनाउने प्रयास भइरहेको छ ।  यस प्रकारको प्रवृत्ति हाम्रो समाजमा बढेको छ । 
एमाले सरकारमा हुँदा शिक्षा क्षेत्रमा सुधारका प्रयास 
‘स्ववियु निर्वाचन र उच्च शिक्षा’ विषयमा आइतबार (२०७९ फागुन २८ गते) कीर्तिपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा महासचिव पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक वातावरण सिर्जना गर्नका लागि अनेरास्ववियुको नेतृत्व स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।  
नेकपा (एमाले) जब जब सरकारमा पुगेको छ, शिक्षा क्षेत्रमा सुधारका प्रयासहरू गरेको र पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राविधिक शिक्षातर्फ जोड दिइएको चर्चा गर्दै महासचिव पोखरेलले त्यसबेला प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया समेत अगाडि बढाइएको वताउनुभयो ।  ‘आज देशमा प्राविधिक शिक्षातर्फ जुन क्षमता बृद्धि हुँदै गएको छ त्यसमा नेकपा (एमाले) को योगदान छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ चर्चा गर्दै महासचिव पोखरेलले यथास्थितिवादका हिमायतिहरू भने प्राविधिक शिक्षालाई अगाडि बढाउन चाहँदैनन् भन्नुभयो । 
‘खासगरी चिकित्सा शिक्षातर्फ शहरी क्षेत्रमा नयाँ मेडिकल कलेज खोल्नै नपाइने भन्ने जुन मान्यता स्थापित गर्ने कोशिस गरियो त्यसले आज प्राविधिक शिक्षाका लागि ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिएका र यसबाट नेपालको अर्बौ रुपियाँ शिक्षाका नाममा विदेशिएको छ ।’ 
स्ववियु निर्वाचन मुलुकको विकास र समृद्धिका लागि, स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हित र न्यायपूर्ण समाज निर्माणका लागि अत्यन्त महत्वपूर्ण छ ।  हाम्रो मिसन ग्रासरुट अनेरास्ववियुले स्ववियु निर्वाचन जित्दा  प्रभावकारी बन्न पुग्ने छ ।