detail-img

नक्कली भुटानी शरणार्थी प्रकरणः दोषीलाई उम्काउन खोजे कडा विरोध गरिने अध्यक्षको चेतावनी 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका कोही पनि दोषी उम्किन नहुने वताउनुभएको छ  ।
आज सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  निर्दोषलाई फसाउन र दोषीलाई  उम्काउन खोजे त्यसको कडा विरोध गरिने बताउनुभयो ।
यो प्रकरण ढाकछोप गर्न, रोक्न नसक्ने गरी सतहमा छताछुल्ल भएपछि कारबाही प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा आफूले दोषीलाई कारवाही हुनुपर्ने र निर्दोष नफसुन् भन्ने कुरामा ध्यान दिन आग्रह गरेको बैठकमा जानकारी गराउनुभयो । 
अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउने काम नहोस् । भ्रष्टाचारका विषयलाई राजनीतिक प्रतिशोधको अस्त्र बनाउनु हुँदैन । 
उहाँले यस प्रकरणको अनुसन्धानलाई सहयोग गर्नका लागि पक्राउ पूर्जी काटिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको बताउनुभयो ।
नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको बताउँदै उहाँले भन्नुभयो– यस प्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो ? गतवर्ष जेठमा सरकारले नै यो प्रकरण दबाउनका लागि पीडितहरूको उजुरीउपर कारबाही नगरी पैसा फिर्ता गराएर मुद्दा मिलाउने प्रयास गरेको अहिले खुलेको छ । त्यसबेला प्रधानमन्त्री र गृहमन्त्री को थियो ? यो दुनियाँलाई थाहा छ । 
भ्रष्टाचारको घटनालाई लिएर लोकतन्त्रलाई नै बदनाम गर्ने प्रयासमा एकथरि मानिसहरू लागिरहेको बताउँदै अध्यक्ष ओलीले यस प्रकरणमा दोषीलाई कारबाही गरेर लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्ने भनाइ राख्नुभयो ।


बैठकमा महासचिव शंकर पोखरेलले तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा छलफल हुने विषयहरू (एजेण्डा) प्रस्तुत गर्नुभयो । बैठकमा सम्बोधन गर्दै महासचिव पोखरेले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन कार्ययोजना बनाइने धारणा राख्नुभयोे । 
आजको बैठकमा केन्द्रीय निकायहरू सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायले गरेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । 
यसैगरी, पार्टीले सञ्चालन गरेको दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभयो । गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले भोलि प्रस्तुत गर्नुहुनेछ । प्रस्तुत प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नुहुनेछ ।