detail-img

‘यो सरकार देशका लागि अफाप सिद्ध भइसक्यो’ 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा २०८० मंसीर २३ गते नुवाकोटको बट्टारमा आयोजित सन्देश सभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः
झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी अर्थात् पुष्पलाल राजमार्गको बाटोबाट मध्यपहाडका जनतासँग भेटघाट र संवाद गर्दै, उहाँहरूसँग अन्तर्क्रिया गर्दै, किसान, शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, उद्यमी, व्यवसायी, कलाकार, नाट्यकर्मी, नृत्यकार, गायक, गायिका सबैसँग भेट्दै देशका विभिन्न समस्याका बारेमा, उहाँहरूले भोगिरहनु भएका विभिन्न समस्याका बारेमा र उहाँहरूको सुझाव के छ ? त्यसको बारेमा सल्लाह र सुझाव लिँदै हामी दशौं दिनको बेलुका आज यहाँ आइपुगेका छौँ । म यो बाटो हिँडेको थिइनँ । राजमार्ग भनेकाले  राजमार्गको जस्तो बाटो होला भनेर हिसाब गरियो, भलै राजमार्ग त गिनिज बुकमा लेख्नुपर्ने जस्तो दुनियाँमा कहीँ नभएको राजमार्ग जस्तो । 
त्यसकारण यो राजमार्ग बनाउनुपर्ने कुरा हाम्रो ध्यानमा आएको छ । यो राजमार्ग अभिलम्व स्तरोन्ती गर्नु पर्यो । जनतालाई यो कष्ट मात्रै होइन, यो राजमार्गको निर्माण तीब्र गतिमा हुन नसक्दा, यस हालतमा राजमार्ग हुँदा यहाँको बन्दव्यापार, उद्योग, बजार, आर्थिक क्रियाकलापहरू अनेक कुरालाई प्रतिकूल असर पारेको छ । बिरामी भयो भने उपचार गर्न जाँदा केही किलोमिटर बाटो छ तर घन्टौ लाग्छ । त्यस्तो अवस्था अब रहनु हुँदैन । यस अवस्थाका निम्ति हामीले यो राजमार्गको निर्माण सुरुवात गरेका होइनौँ, यसको परिकल्पना गरेका होइनौँ, यसलाई अगाडि बढाएका होइनौँ । यो जनतालाई सुविधा पुर्याउन, यहाँको मध्यपहाडको जीवनको मेरुदण्डको रूपमा रहेको यो राजमार्ग हामीले बनाएका हौँ । मध्यपहाडी राजमार्ग होस् कि तराईको सिमानै सीमाना हुलाकी राजमार्ग होस् कि तराईको उत्तरी भेग चुरे क्षेत्रबाट मदन भण्डारी राजमार्ग होस् कि अथवा विभिन्न नदी करिडोरहरू खोल्ने, निर्माण गर्ने जस्ता विकासका काम हामीले नै गरेका हौँ । 
त्रिशुली करिडोर, बुढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर, कालीगण्डकी करिडोर, सेती करिडोर वा अरु करिडोरहरू होउन्, यी नदी किनारका बाटाहरू बनाउने काम हामीले नै अगाडि बढाएका हौँ । नेपाललाई कहीँ पनि अब दुर्गम रहन दिनु हुँदैन भनेर हामीले नै भनेका हौँ ।


त्यसकारण बाटाघाटा, यातायातका सुविधाहरू, रेल, हजाइजहाज आदि इत्यादिका सम्पर्क सम्बन्धहरू, विद्युतीकरण, सञ्चार क्षेत्र यी सबैको विकास विस्तार तीब्र गतिमा हुनुपर्दछ । जसबाट हामी कृषिको आधुनिकीकरण गर्न सक्छौँ । त्यसलाई प्रविधिको प्रयोग गरेर उत्पादन र उत्पादकत्व बृद्धि गर्न सकिन्छ । अब कृषिलाई र अरु व्यवसायलाई पनि हिजोको जस्तो निर्वाहमुखी बनाउने होइन, विकासमुखी, समृद्धितर्फको यात्रा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने कामका लागि आधुनिकतातर्फको यात्रामा सहयोगी हुनेगरी हामीले नयाँ ढङ्गले हरेक क्षेत्रको अर्थतन्त्र अगाडि बढाउनुपर्छ । 
यही सन्देश लिएर हामी गएको १४ गते (२०८० मङ्सिर १४ गते) बिहान साढे ८ बजे महाकाली नदीको झुलाघाटबाट प्रारम्भ गरेको यात्रा आज यहाँ आइपुगेका छौँ । हाम्रो यात्रा अझै ९÷१० दिनको छ । हामी यहाँ आइपुग्दासम्म बाटाभरि राती ९÷१० अबेलासम्म पनि दाजुभाइ दिदीबहिनीहरू पर्खिएर बस्नु भएको थियो । हामीलाई स्नेह दिनुभएको थियो, हाम्रो यात्राको कामना गर्नुभएको थियो । यात्राले बोकेको उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार बनाउन सक्नुस् भन्ने शुभकामना र शुभआशिष आम जनताले दिनुभएको थियो । 
हामीहरू पनि उत्साहित ढङ्गले अगाडि बढिरहेका छौँ । हाम्रो यात्रा पूर्णरूपमा सफल हुनेछ । नेकपा (एमाले)लाई अढाइ वर्ष अगाडि सरकारबाट देशी विदेशी अनेक प्रतिक्रियावादी शक्ति मिलेर जालझेल, अनेक षडयन्त्र गरेर सरकारबाट हटाएपछि आज देशको राजनीति कुन हालतमा पुगेको छ ? आज देशको अर्थतन्त्र कुन हालतमा पुगेको छ ? राजनीतिमा अस्थिरता, अन्योल, अराजकता व्याप्त छ । जे पनि गर्न पाइने, जस्तो पनि गर्न पाइने अवस्था व्याप्त छ । तपाईंहरूले हेरिरहनु भएको होला सञ्चार माध्यमहरूमा एनसेल भन्ने कम्पनी मैले सुने अनुसार सन् २०२४ लाग्नै आटिसक्यो, सन् २०२७ मा त त्यो कम्पनी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । त्यो छल्नका लागि एउटालाई बेचेको नाटक मञ्चन  भएको छ । कत्रो अपराध ! दोस्रो कुरा खर्बौको कारोवार अर्बमा गर्ने अत्यन्तै अपराधपूर्ण काम भएको छ । यो सुन्नमा आएको छ, मैले यसको राम्ररी अध्ययन गर्न पाएको छैन किनभने हामी यात्रामा छौँ । तर, म भन्न चाहन्छु, सरकारको ध्यानआकृष्ट गर्न चाहन्छु– नेकपा (एमाले)को  तर्फबाट र नेपाली जनताको तर्फबाट कि देशलाई कङ्गाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने यो कमिशनतन्त्रको खेल बन्द गर । अब नेपाली जनता यो सुन्न र सहन तयार छैनन् । यो कुरा हुन सक्दैन । 
यस सम्बन्धमा कतिपय सांसदहरूले कुरा उठाइरहनु भएको छ, सञ्चार माध्यममा कुरा उठिरहेको छ । सरकार चित्तबुझ्दो जवाफ नदिएर चुप्प लागेर बसेको छ । यस्तो अवस्थालाई तोड्नुपर्ने छ । यस्ता भ्रष्टाचारका काण्ड, सय किलो आउँछ(तस्करीबाट सुन), ६० किलो मात्रै बाँकी रहन्छ । अर्को, साढे नौ केजीमा अन्तिममा दुई केजी फेला पर्छ । यो पक्राउ घटनाभन्दा पहिले नै ३५ क्विन्टल सुन आइसकेछ । झुक्किएर एक क्विन्टल पक्राउ पर्यो, त्यो पनि तौलिने बेलामा ६० किलोमा झर्यो । यस प्रकारको तस्करीतन्त्र चलेको छ अहिले, सरकारको संलग्नताबिना एयरपोर्टबाट ३५ क्विन्टल सुन छिर्छ कहीँ ? क्विन्टलका क्विन्टल छिर्छ कहीँ ? तपाईं हामी गयौँ भने एक्सरे मेसिनदेखि अरु कुरा छामछुम के गर्दैन ? केही पनि त्यहाँबाट छिर्न सक्दैन । तर त्यो सरकारको मिलेमतो मात्रै होइन, यो सरकारी क्रियाकलापको अङ्ग बनाएर छिराइएको छ । त्यहाँका कर्मचारीहरूलाई संलग्न गराएर गरिएको छ । यति चुपचाप, यति गुपचुप राखिएको छ, तर यो काण्ड गुपचुप राख्न दिइने छैन भन्ने कुरा म फेरि पनि सरकारलाई भन्न चाहन्छु । 
यो निकम्मा सरकार राष्ट्रियताको सम्बन्धमा बोल्न नसक्ने सरकार हो । हामीले उत्तरतिरबाट बाटो खोल्यौँ, बीआरआइ प्रोजेक्ट जहाँ जहाँबाट नेपालका लागि फाइदा हुन्छ, त्यहाँबाट सस्तो ब्याजदरमा ऋण लिने र नेपालको विकास गर्ने हामीले भन्याँै तर यो सरकार त्यो भन्ने आँट नै गर्दैन । हामीले पोखरा एयरपोर्ट बनायौँ, यो सरकार एयरपोर्ट चलाउने आँट गर्न सक्दैन । हामीले भैरहवा एयरपोर्ट बनायौँ, त्यो चलाउने आँट गर्न सक्दैन । कसका डरले ?! यसले एयरपोर्ट बनाउन र चलाउन सक्दैन । 
यस्तो काम नलाग्ने हुतिहारा सरकार किन बस्छ शासनमा ? देशको हितको पक्षमा बोल्न सक्दैन, आफ्नो स्वाधीनता, आफ्नो स्वतन्त्रता, आफ्नो स्वाभिमानको रक्षा गर्न सक्दैन, राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । लुते भुसिया कुकुर जस्तो टाङमुनि पुच्छर हालेर कुईकुई गर्छ । यस्ता पाराले सरकार चल्छ ? त्यसकारण यो सरकार अब देशका लागि अफाप सिद्ध भइसक्यो । अब यो सरकारलाई सरकारमा बस्ने कुनै अधिकार नै छैन । नैतिक अधिकार के भन्नु यसको, नैतिकता नै छैन । 
दुई तिहाई भएको एमालेको सरकार केही तत्वहरूले ढाल्दिए । एमाले पार्टी फुटाए र कांग्रेसका पाउमा सरकार बुझाउन गए । राम्रै गरेको भए त ठीक थियो नि जो सरकारमा जाओस्, देशलाई राम्रो हुन पर्यो, जनतालाई राम्रो हुनु पर्यो । तर, यिनीहरूले राम्रो गर्न सकेनन् । हामीले बनाउन थालेका बाटा बीचमै रोकिए, हामीले बनाउन थालेका अस्पताल बीचमै रोकिए, हामीले बनाउन थालेका पुलहरू बीचमै रोकिए, अरु आयोजना बीचमै रोकिए र सबै आर्थिक क्रियाकलाप ठप्प मात्रै भएन, ओरालो लाग्यो । अब यस स्थितिबाट देश अगाडि बढिरहन सक्दैन । यस कुरालाई नेपाली जनताले बुझेको हामीले यस अभियानका दौरानमा पायौँ । नेपाली जनताले बुझेको  पाइयो । 
त्यसैकारण हाम्रो अभियानलाई, यो यात्रालाई स्थानीय जनताले यति उत्साहका साथ स्वागत र समर्थन गरिरहनु भएको छ, जस्तो त्रिशुली र विदुरमा तपाईंहरूले गर्नु भएको छ, त्यस्तै गरेर नै हामीले देशभरि अत्यन्तै उत्साहका साथ पायौँ । तपाईंहरू कुनै मेला भर्न, रामरमिता हुन्छ भनेर यति अवेला राती १० बजे नाघिसक्दासम्म पनि बसिरहनुभएको छ । तपाईंहरूको यो उत्साह र धैर्यता सानो कुरा होइन । अर्थात यो देशले अब ओरालो लाग्ने गतिलाई रोकेर सकारात्मक दिशामा फर्काउनु पर्यो । यस दिशामा नेपाली जनता सचेत र संगठित हुनु पर्यो । हामीले अन्तिम रूपमा मिसन २०८४ भनेका छौँ । अहिलेको सत्ताको हेरफेर हिसाब आदि इत्यादिबाट अपेक्षित धेरै केही हुनसक्दैन, धेरै बिग्रिन दिँदैन, यसको विकल्पमा सरकार बन्यो भने अलिकति बिग्रिने कुरालाई रोक्छ तर एमालेको एकल सरकार नभई एमालेले आफ्ना नीतिहरू लागू गर्न सक्दैन । हरेक कुरामा त्यहाँ सम्झौता गर्नुपर्ने हुन्छ । त्यसकारण अब यस देशलाई एउटा बलियो राष्ट्रिय शक्ति, बलियो राष्ट्रिय शक्तिको सरकार त्यो भनेको नेकपा (एमाले)को सरकार चाहिएको छ । अरु कसैले यो देशको समस्या समाधान गर्न सक्दैन भन्ने कुरा स्पस्ट छ । 
अब मैले यति भनिसकेपछि हामी भोलि तपाईंहरूको शुभकामना  र सद्भाव लिएर यहाँबाट अगाडि बढ्ने छौँ । हामीले जनताको अत्यन्तै उत्साहपूर्ण साथ, समर्थन, सहयोग पाएका छौँ र यहाँ पनि पाएका छौँ । जुन स्वागत, जुन माया ममता हामी यहाँ आइपुग्दा हाम्रो टोलीलाई यहाँहरूले देखाउनु भयो, त्यसप्रति म धेरै धेरै धन्यवाद भन्न चाहन्छु, धेरै आभार व्यक्त गर्न चाहन्छु । यहाँहरू सबैको स्वास्थ्य राम्रो होस्, यहाँहरूको सुख समृद्धि सफलताको कामना गर्दै सिङ्गो हाम्रो यात्रा टोलीको तर्फबाट म सबैमा धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद !