नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा २०८० मंसीर २१ गते पर्वतको कुश्मामा आयोजित सन्देश सभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः
सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू !
आज हामी यस समृद्धिका लागि सङ्कल्प यात्राको आठौँ दिनमा यहाँ आइपुगेका छौँ । यसभन्दा अघि बिहान गल्कोटबाट हिँडेपछि विभिन्न ठाउँमा स्थानीय दाजुभाइ दिदीबहिनीहरूबाट एकदमै उल्लासमयपूर्ण वातावरणमा हामी स्वागत ग्रहण गर्दै, समर्थन, स्नेह र मायाममता ग्रहण गर्दै यस ठाउँमा आइपुगेका छौँ । हामी लगभग नौ सय किलोमिटर यी आठ दिनमा हिँडेका छौँ । हामीले बाटोभरि जनतामा असाधारण उत्सुकता र उत्साह पनि पायौँ । अत्यन्तै उत्साहपूर्ण समर्थन पायौँ, माया ममता पायौँ । त्यसैगरी आज यहाँ पर्वतमा आइपुग्दा माला लगाउँदै लगाउँदै कम्मर दुख्यो भन्नुपर्ने अवस्था कुस्मामा पनि भयो । हाम्रो यात्रा टोली अत्यन्तै गौरवान्वित पनि छ । यो स्नेह नेकपा (एमाले)ले पाएको छ, यो समर्थन हाम्रो यात्राले पाएको छ, यात्राको उद्देश्यले पाएको छ र तपाईंहरूले जसरी स्वागत गर्नुभएको छ, माया गर्नुभएको छ, समर्थन जनाउनुभएको छ । त्यसका निम्ति म सिङ्गै टिमको तर्फबाट धन्यवाद भन्न चाहन्छु र आभार प्रकट गर्न चाहन्छु ।
देशमा एउटा सरकार त छ तर काम लाग्ने छैन । काम नलाग्ने छ, काम नलाग्ने मात्रै होइन, काम बिर्गाने मात्रै छ । हामीले उत्तरतिरबाट बाटो खोल्यौँ, त्यसको प्रयोग गर्ने आँट गर्दैन । हामीले हाम्रो सिमाना, हाम्रो जमिन कायम गरेर नक्सा छाप्याँै, त्यसलाई संविधानको अङ्ग बनायौँ । त्यसलाई कार्यान्वयन गर्न सक्दैन । कार्यान्वयन गर्न मात्रै होइन, बोल्न पनि सक्दैन । सरकारको प्रमुख भारत गएर भन्छन्– बंगलादेश जाने बाटो छोड्दिन्छौ भने त्यो (कालापानी) जमिन छोड्दिन्छौँ । तिनलाई कसले अधिकार दियो जमिन छोड्ने ? यो जमिन छोड्छु भन्ने कुनै अधिकार छैन । यो जमिन लम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो । त्यो जमिन छोड्छु भन्ने ती पनि यस्ता फटाहा कुरा गरेर ! बंगलादेश जाने बाटो हामीले पहिले नै पाइसकेका छौँ । अनि त्यो बाटो बंगलादेश जान दिन्छ भने हामी लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन सम्झौता गरेर छोड्दिन सक्छौ ? त्यो हिम्मत कहाँबाट आयो ? सरकार त्यस्तो छ ।
हामीले राष्ट्रियताका सवालमा गरेका कामहरू, नेपालको हितमा निम्ति हामी जो सुकैसँग पनि सहयोग लिन सक्छौँ । अहिलेको सरकार जो सुकैसँग सहयोग लिन सक्दैन । हाम्रा छिमेकीमध्ये एउटासँग सहयोग लिन्छ, पाए पो लिओस् । अर्काले सहयोग दिन्छु भन्छ, सहयोग लिने आँट गर्दैन । बीआरआइ भन्ने कार्यक्रम छ, त्यसले नेपाललाई सहयोग गर्छु भन्छ । त्यसमा सम्झौता भएको छ, रकम दिन्छु भनेको छ । ५७ अर्ब पहिल्यै घोषणा भइसकेको छ । त्यसमा कुन कुन ठाउँमा खर्च गर्ने भनेर प्रधानमन्त्री (पुष्पकमल दाहाल) चीन जाँदा टुङ्गो लगाउनु पथ्र्यो । तर प्रधानमन्त्रीलाई व्यापारिक कम्पनीले चीन घुमाए छुट्टी लिएर, व्यापारिक कम्पनीसँग मिलेर घुमे । व्यापार राष्ट्रका लागि हो र ? अरु नै कुन कारणले हो । त्यसपछिका दिनमा हामीले देख्यौँ । ३५ क्विन्टल सुन नेपालमा आयो । एक क्विन्टल समातियो । एयरपोर्टमा समातिएको होइन, बाहिरै समातियो । त्यो पनि अहिले ६० केजीमा झर्यो । इलेक्ट्रिक सिगरेट भन्ने हुँदो रहेछ, त्यसमा लुकाएर ल्याएको साढे नौ केजी सुन पक्राउ परेको त्यो पनि अहिले दुई केजी मात्रै छ, साढे सात केजी छैन । अरु कति आयो आयो र आइराखेको छ ।
जनताका पीडा हेर्न सक्दैन, हेर्दैन, देख्दैन, सुन्दैन भने किन चाहियो सरकार ? जाजरकोट र पश्चिम रुकुममा हामीले हेर्यौ। सरकारले अहिलेसम्म एउटा पनि अस्थायी आवास बनाएर पीडितलाई दिएको छैन । हामीले खटाएका स्वयंसेवीले ८१३ वटा अस्थायी र केही स्थायी घरहरू बनाएर पीडितलाई दिइसके । ८१३ वटा घर हाम्रा स्वयंसेवकले बनाएर दिँदा सरकारले पैसा जम्मा गरेर बसेको छ तर एउटा पनि नयाँ छाप्रो बनाएको छैन । सुत्केरी महिला र नवजात शिशुहरू प्लास्टिकमुनि छन् । चिसोमा कठ्याङ्ग्रिएका छन्, धेरैको निधन भइराखेको छ । सरकार त्यस सम्बन्धमा संवेदनशील नै छैन । हाम्रा स्वयंसेवकरहरूले काम जति पनि गर्न सक्छन् । काम तपाईंहरू गर्नुस्, रकम सरकारले दिन्छ भन्न पनि सक्दैन ।
हामीले स्थानीय साधन र स्रोत प्रयोग गरेर ती घरहरू बनाएका हौँ । सरकारको सहयोग छैन । अझ हामीलाई त्यो सहयोग गर्न पनि नदिने भन्दै थियो । जनतालाई त्यो सहयोग पनि गर्न नदिने, जे बुझाउने सरकारलाई बुझाउने भन्दै थियो । हामीले आफैँले गएर ५०२ वटा भत्किएका घरबाट भग्नावशेष हटाएका छौँ, सामान निकाल्दिएका छौँ । त्यस्तोमा पनि सरकार छैन ।
देशमा रोजगारीको सिर्जना गर्दैन, कृषिको आधुनिकीकरण गर्दैन, उद्योग, व्यवसाय नयाँ खोल्ने त कुरै छोडौँ, पुराना पनि चलाउँदैन, पुराना पनि बन्द भइराखेको छ । व्यापार चौपट छ । हामी आउँदा बाटोहरू हेर्यौँ । एमालेको समयमा जे भएको थियो, त्यो भत्किएको ठाउँ टालेको पनि छैन । जनतालाई रोजगारी नदिने, जनतामा अन्योल, निराशा आउने अवस्था बनाउने, युवाहरू विदेश पलाएन गर्दिने । यहाँका मेडिकल कलेजको सिट घटाइदिने, यहाँ मेडिकल कलेज खोल्न नदिने, यहाँ नर्सिङ क्याम्पस खोल्न नदिने, नर्सिङ क्याम्पस बन्द गर्दिने, अनि विदेशमा नर्स पढ्न जानुपर्ने !? यो गठबन्धन सरकारले यस खालको स्थिति सिर्जना गरेर देशलाई बर्बाद गरिरहेको छ ।
अर्थतन्त्र ध्वस्त भइसक्यो, राजनीतिक अस्थिरता, अन्योल, अत्यन्तै अराजकताको अवस्थामा देश छ । कर्मचारी, शिक्षक, सेना, प्रहरीलाई तनखा खुवाउने पैसा छैन । ऋण काढेर सरकार चलाइराखेको छ । अस्ति कात्तिकसम्म ऋण काढेर कमचारीलाई तनखा दिइराखेको थियो । बैंकहरूले कुनै रिस्ट्रक्चरिङ नगर्दिएर, उद्यमीहरूले तिर्न नसकेर, ठेकेदारहरूले तिर्न नसकेर सरकारले भुक्तानी दिँदैन, ठेकदारले तिर्न सक्दैन, उद्यमीको सम्पत्ति, ठेकदारको सम्पत्ति लिलामीमा चढ्छ, उद्यमी कालोसूचिमा चढ्छ, व्यवसायी कालोसूचिमा चढ्छ । कालो कर्तुत गर्नेहरू खुशीयाली मनाइराखेका हुन्छन् । त्यस्तो अवस्थामा छ देश । यस स्थितिलाई कायम रहन दिइरहने हो भने नेपालको अस्तित्व नै खतरामा पर्न सक्छ । नेपालको अस्तित्व नै खतरामा पर्नेगरी नेपाल असफल राष्ट्र घोषित हुनसक्नेतर्फ अगाडि बढ्दै छ । त्यसलाई रोक्नुपर्छ, नेपाललाई असफल राष्ट्र हुन दिनु भएन । नेपालको अस्तित्व सङ्कटमा पर्न दिनु भएन । विकास अवरुद्ध हुन दिनु भएन । यस देशमा नेकपा (एमाले) छ, त्यसकारण यी चिजहरू हुन दिँदैन ।
अहिले यस सरकारको नालायकीले, अयोग्यता र असफलताले प्रतिगामी शक्तिहरू फेरि उठ्न सकिन्छ कि, टाउको उठाउन सकिन्छ कि भनेर फेरि छटपट छटपट गर्न थालेको देखिन्छ । चट्पटाएको देखिएको छ । म भन्न चाहन्छु– राजतन्त्रको सबैभन्दा निरङ्कुशकालमा राजतन्त्रलाई चुनौती दिएर, त्यसका विरुद्ध लडेर, त्यसका विरुद्ध सङ्घर्ष गर्दै जेलनेल खटेर, बलिदान दिएर, यातना सहेर अनेक क्षतिहरू बेहोरेर नेपाली जनताले राजतन्त्र फ्याकेका छन् । अब राजतन्त्र फर्किन्छ ? २०६५ साल फेरि आउँछ ? यो सम्भव छैन ।
एउटा व्यक्तिको छोरो जन्मिँदा राजा हुन जन्मिने, जस्तोसुकै भए पनि राजा हुन पाउने, गजेडी होस् कि लफङ्गो होस्, मूर्ख होस् कि जस्तोसुकै भए पनि देशको राष्ट्र नायक हुनुपर्ने, जन्मिँदैदेखि हामीले सलाम ठोकेर हिँड्नुपर्ने, सार्वभौमसत्ता सम्पन्न तमाम नेपाली जनताले संविधान बनाउन, हेरफेर गर्न नपाउने, एकजना व्यक्तिले पाउने खालका प्रणाली हुँदैन । दक्षिणपन्थी शक्तिहरूले भनेको संवैधानिक, साँस्कृतिक अनेक भन्ने गरेका छन् । त्यस्तो हो भने त्यो किन चाहियो ? किन राख्ने त्यो ? के बनाउँछ त्यसले ? अधिकार केही पनि उसँग हुँदैन भने के बनाउँछ ? अधिकार भएको एउटा व्यक्ति शासक त्यो अबको समयमा हुन सक्दैन ।
नेकपा (एमाले) यस देशमा छ । बलिदान दिएर लोकतान्त्रिक गणतन्त्र ल्याउन अगुवाइ गरेको पार्टी यस देशमा छ । त्यसकारण देशमा प्रतिगमन हुन सक्दैन । क्रान्तिका नाममा हिंसा फैलाएर हिंड्नेहरूको आज मैले भनिरहनुु पर्दैन– ज्वाइ फलेको फुलेको छ, छोरी फलेको फुलेको छ, नाती फलेको छ, फुलेको छ । जनता, घाइते, लडाकु, शहीद, शहीदका परिवार उनीहरूले बिर्सिएका छन् । आफ्ना निम्ति फलिफाप भएको छ । तिनीहरूको चर्चा गरिरहन म आवश्यक ठान्दिनँ । तर, अर्को प्रकारले पहिचानका नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने, फाटो पार्ने त्यस प्रकारका क्रियाकलापहरू हुँदै छन् ।
कोशी प्रदेश सबैको साझा नाम राखियो, एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरू, वितण्डा मच्याउन खोज्दै छन् । त्यसका लागि ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित कसैको इशारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्याउने, शान्ति खल्बलाउने र देशलाई असहज स्थितिमा पारेर स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरू लागिरहेका छन् । उनीहरूले अहिले भनिरहेका छन्– नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेशमा प्रवेश गर्न नदिने भनेर । किन नदिने ? नदिने को हो ? नेकपा (एमाले) कहाँ जान पाउने कहाँ जान नपाउने, नेकपा (एमाले) त कोशी प्रदेशमै छ त ! खास जान नपाउने को हो ?
नेपालको कुनै भू–भाग कसैको बिर्ता होइन । प्रवेश गर्न दिन्न भन्ने, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आतङ्ककारी कुराहरू हामीले धेरै देखेका छौँ, यस्तो फुर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस्, म भन्न चाहन्छु, यस खालको बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि छोडिहाल्नुस्, यस बुद्धिले तपाईँहरूलाई सर्वनाश गर्नेछ । जनयुद्धका नाममा, क्रान्तिका नाममा देखाएको फाइफुट्टी त समाप्त भयो भने अब चारजना उफ्रिएर प्रवेश गर्न दिन्न भन्नुको अर्थ छैन । यस्ता खालका क्रियाकलाप र गतिविधिहरू नगर्दा राम्रो हुन्छ । म उनीहरूलाई सुझाव दिन चाहन्छु ।
म कुस्माका जनतालाई भन्न चाहन्छु– यहाँका जनतालाई भनिरहँदा देशभरिका जनतालाई भन्न चाहन्छु– हाम्रो जातीय विविधता छ, भाषिक विविधता छ, भौगोलिक विविधता छ । यो विविधताको देश हो । विश्वकै शिखर सगरमाथादेखि होँचो भू–भाग कचनाकवल हामीसँग छ । केही किलोमिटरभित्र त्यो विविधता छ । सामाजिक, जैविक र वनस्पतीय विविधता पनि छ । हाम्रो नेपाल बनेको पृष्ठभूमि, निर्माण भएको पृष्ठभूमि विभिन्न प्रकारको छ । त्यसकारण यसलाई बुझ्नु पर्दछ र सबैलाई सामाजिक न्याय र समानता उपलब्ध हुनु पर्दछ, सबैलाई अधिकार र अवसर उपलब्ध हुनु पर्दछ । पछाडि परेको समुदायलाई विशेष नीतिका साथ अगाडि बढाइनु पर्दछ । हाम्रा भाषा, धर्म, संस्कृति जे जे छन्, तिनको संरक्षण र विकास गरिनु पर्दछ ।
सामाजिक न्याय र सद्भावका आधारमा राष्ट्रिय एकता गर्नु पर्दछ । हामी सबै नेपाली एक हौँ, एक भएर हाम्रो नेपाल विकास गर्छौं, सुन्दर बनाउँछाँ, सुशासनवाला नेपाल बनाउँछौँ भन्ने सङ्कल्प हामीसँग हुनुपर्दछ । हाम्रो यो नीति हो । हामी दक्षिणपन्थी होइन, उग्रबामपन्थी होइन, पृथकतावादी होइन तर जनअधिकार र राष्ट्रिय एकता, विकास र सुशासनको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने परिकल्पनामा छौँ । यो कुरा साथीहरूले बुझ्नुभएको छ ।
हाम्रो यस यात्राको अर्थ पूर्वदेखि पश्चिमसम्म पहाडी बाटो र पहाडी भेगैभेग हुँदै विभिन्न ठाउँमा दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्दै, कुराहरू सुन्दै, त्यहाँका समस्याहरू के छन् ? त्यहाँका माग के छन् ? त्यहाँको अवस्था के छ ? पूर्वाधार विकासको अवस्था के छ ? बाटा, पुलको अवस्था के छ ? बुझ्नु हो । नेपालमा सुरुङ मार्ग बनाउनुपर्छ भन्ने विचार हामीले ल्याएको हो । रिभर करिडोरको विचार हामीले ल्याएको हो । यी कामहरू अगाडि बढाउने सन्दर्भमा कुन ठाउँमा अगाडि पुगेको छ, कहाँ गएर रोकिएको छ कि अगाडि बढिरहेको छ ? त्यो हेर्नका लागि हो । त्यसमा के गर्नु पर्दछ, त्यो गर्नका लागि हामी अहिले विचारहरू सुन्दै हिंडेका छौँ । ज्ञापनपत्रहरू लिंदै, मागपत्रहरू लिँदै हिँडेका छौँ । हामी प्राध्यापक, शिक्षक, डाक्टर, वकिल, इन्जिनियर विभिन्न खालका व्यक्तिहरू, व्यवसायी, किसान, मजदुर, उद्यमी, निर्माण व्यवसायीहरू र विभिन्न व्यवसायीहरूसँग समेत भेटघाट गरिरहेका छौँ । हामी युवा, विद्यार्थी, महिलाहरूका कुराहरू सुनिरहेका छौँ, मागपत्रहरू लिइरहेका छौँ । त्यसै गरेर हामीले यहाँहरूको मागपत्र लिएका छौँ । यहाँका समस्याहरूको फेहरिस्त यहाँ लिएका छौँ ।
हामीले कति बाटाहरू बनायौँ, कति अरु कामहरू गर्यांै, अरुले नसोचेका कामहरू गर्यौं । एयरपोर्टको होस् कि कालीगण्डकी करिडोर होस् कि बेनीदेखि कोरला नाका होस्, यी बाटाहरू निर्माण गर्ने कुरा माग थियो होला तर कुनै योजना थिएन । हामीले नै त्यसलाई योजनामा पारेका हौँ । कालीगण्डकी करिडोर मान्छेले कल्पना गरेका थिएनन् होला, हामीले अहिले हरेक नदीहरूमा करिडोर निर्माण गरेका छौँ । कर्णाली करिडोर होस्, कालीगण्डकी करिडोर होस्, महाकाली करिडोर होस् अथवा पूर्वतिरका अरु नदीका करिडोर हुन् । यस्ता करिडोर हामीले निर्माण गरेका छौँ । बाटा छोटा र सुरक्षित बनाउन सुरुङ मार्ग पनि बनाउने र त्यसबाट टनेलहरूले जोड्दिने यी कामहरू हामी गर्दैछौँ ।
यी कुराहरू तपाईंहरूले बुझ्नुभएको छ । यसर्थ म यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने यहाँबाट हामी यात्रा समाप्त गरेर फर्किएपछि यी तमाम् मागहरूको सन्दर्भमा छलफल गर्नेछौँ, विचार गर्नेछौँ र नयाँ ढङ्गले कुन कुन ठाउँको विकास कसरी गर्ने त्यस सम्बन्धमा पनि हामी अगाडि बढ्ने छौँ । यिनै कुराहरू राख्दै अरु ठाउँमा पनि हाम्रो कार्यक्रम छन् भन्ने यहाँहरूले बुझ्नु नै भएको छ, यिनै कुरा राख्दै आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु । यहाँहरूले हामीहरूलाई जुन आत्मीयता देखाउनु भयो, माया देखाउनु भयो, स्नेह र सम्मान दिनुभयो, त्यसका निम्ति धेरै धेरै धन्यवाद भन्दै यहाँहरूप्रति आभार व्यक्त गर्दछु । धन्यवाद !