नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा २०८० मंसीर २६ गते ओखलढुङ्गाको हर्कपुरमा आयोजित सन्देश सभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः
हामी झुलाघाट–चिवाभञ्ज्याङ यात्राको १३औँ दिन आज ओखलढुङ्गा जिल्लाको हर्कपुर आइपुगेका छौँ । यहाँ आइपुग्दा हामीले तपाईंहरूबाट जुन मायाममता पायौँ, आफ्नै भाइ छोरालाई जस्तै, आफ्नै घरका आफन्तलाई भन्दा बढी लामो समयको विछोडपछि पुनःमिलन भएको परिवारको सदस्य जस्तै हामीलाई अत्यन्तै आत्मीय माया प्रकट गर्नुभएको छ, स्वागत गर्नुभएको छ । त्यसका निम्ति म यहाँहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।
हामीले १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट प्रारम्भ गरेको यात्राको यी १३ दिनमा हरेक ठाउँमा, गाउँ गाउँमा, वस्तीवस्तीमा, शहरहरूमा, बजार बजारमा जहाँसुकै पनि बाटाबाटामा, घरघरका अगाडि समेत आमजनताको पनि अत्यन्तै उत्साहपूर्ण जनसहभागिता हामीले पायौँ । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’मा यहाँहरूको यो सक्रिय सहभागितालाई म सलाम भन्न चाहन्छु, यसको प्रशंसा गर्न चाहन्छु । यहाँहरू यस यात्रामा आफै सरिक हुनुभएको छ । हामी डेढ दुई सय साथीहरू झुलाघाट–चिवाभञ्ज्याङको सम्पूर्ण यात्रा गरिरहेका छौँ । केही हजार एउटा पालिकाबाट अर्को पालिका, केही हजार एउटा जिल्लाबाट अर्को जिल्ला, दशौँ हजार सभाहरूमार्फत छुट्टाछुट्टै स्वागत गरेर, अभिनन्दन गरेर, छुट्टाछुट्टै सहभागिता जनाएर, पर्याप्त नहुने देखेपछि केही ठाउँमा संयुक्त सभाको रूपमा यस अभियानमा आफ्नो संलग्नता जनाउनु भएको छ, सरिक हुनुभएको छ र यसका उद्देश्यप्रति समर्पित हुनुभएको छ । म सबैलाई धन्यवाद भन्न चाहन्छु ।
विभिन्न राजनीतिक दलहरू, संघसंस्थाहरू, विकास आयोजनाका प्रमुख र अरु साथीहरू विभिन्नले यस अभियानमा सहभागिता जनाउनुभएको छ । आफ्ना आफ्ना ठाउँका समस्याहरू, कामहरू, कामका प्रगतिहरूका बारेमा बताउनुभएको छ । समस्या के छन् ? तिनको समाधान कसरी हुन्छ भन्ने कुरा पनि बताउनुभएको छ । हामीले यस बीचमा प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, किसान, मजदूर र अनेक व्यवसायीहरू, आर्थिक र सामाजिक जीवनका व्यक्तित्वहरूसँग पनि भेटघाट गरेका छौँ । सबैका कुरा र समस्या सुनेका छौँ । सुकुम्बासीका समस्या र कुरा सुनेका छौँ । माझीहरूका कुरा सुनेका छौँ । अनेक आयोजनाले पार्ने प्रभावका कुरा र जनताका कुराहरू सुनेका छौँ र तिनको समाधानका लागि सुझावहरू पनि सुनेका छौँ । विभिन्न ठाउँका बाटाघाटाहरूको सन्दर्भमा, पूर्वाधार विकासको सन्दर्भमा, पुलहरूको निर्माणको सन्दर्भमा सुनेका छौँ ।
यहाँहरूले मिर्चैयादेखि घुर्मीसम्मको बाटोको कुराहरू गर्नुभएको छ । जो हामीलाई राम्रोसँग याद छ । यहाँको मध्यपहाडी क्षेत्रलाई दुर्गम रहन दिनु हुँदैन, अब पहाडी क्षेत्रलाई पनि दुर्गम रहन दिनु हुँदैन भनेर हामीले मध्यपहाडी राजमार्गको दु्रततर विकासमा जोड दिएका हौँ । अझै केही ठाउँमा यो राजमार्ग दूरावस्थामा रहेछ । यसलाई शीघ्रातिशीघ्र निर्माण गर्नुपर्ने, कहीँ मर्मत संभार गर्नुपर्ने, कहीँ स्तरोन्नति गर्नुपर्ने रहेछ । त्यो कुरा पनि हामीले देख्यौँ । यससँग जोडिने अन्य सम्पर्क बाटाहरूको विस्तार र निर्माण गरिनुपर्ने रहेछ । यहाँको शैक्षिक र स्वास्थ्य क्षेत्रमा गरिनुपर्ने कामहरूको बारेमा पनि हामीलाई थाहा छ ।
यहाँहरूले दिनुभएका ज्ञापनपत्रहरूमा कटारीमा ५० शैयाको अस्पतालको कुरा गर्नुभएको छ । उदयपुरकै गाइघाटमा भएको अस्पताललाई स्तरोन्नति गरेर सय बेडको अस्पतालमा विकास गरिनुपर्ने माग गर्नु भएको छ । यस्ता थुप्रै कुराहरू छन् । हामी धेरै ठाउँमा पुग्यौँ । युवाहरूका खेल मैदान र रंगशालासम्बन्धी मागहरू छन् । विभिन्न समुदायका कहीँ सभाहलसम्बन्धी, कहीँ सामुदायिक भवनसम्बन्धी, कहीँ प्राविधिक र प्रशिक्षण, व्यवसायसम्बन्धी भवन बनाउनुपर्ने मागहरू छन् । ती मागहरूलाई हामीले बुझेका छौँ । यहाँहरूले दिनुभएका ज्ञापनपत्रहरू, ध्यानाकर्षण पत्रहरूलाई हामी काठमाडौं फर्किएर गहनताका साथ अध्ययन गरेर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसका आसपासका बाटाहरू, त्यहाँका विकास, त्यहाँको व्यवसाय, त्यहाँको हावापानी, त्यहाँको प्रकृति, कुन ठाउँमा कस्तो फसल, कहाँ कस्तो उद्योग गर्न सकिन्छ जस्ता कुराहरूको बारेमा हामी छलफल गर्ने छौँ ।
म धन्यवाद भन्न चाहन्छु, कतिपय ठाउँमा हाम्रा दिदीबहिनी दाजुभाइहरूले कृषिको, उद्योगको नयाँ ढङ्गले व्यवसायलाई अगाडि बढाउने काम गर्नुभएको छ र अगाडि बढाएका साथीहरूबाट अरुले पनि सिकेर त्यस प्रकारका कामहरू नयाँ ढङ्गले अगाडि बढाउन आग्रह गर्दछु । निर्वाहमुखी मात्रै होइन, जीवन धान्ने मात्रै होइन, सन्तानको भविष्य समेत सुरक्षित सुनिश्चित हुनेगरी बचतको स्थितिमा पुर्याउन, सम्पन्नता हासिल गर्न, समृद्धि हासिल गर्न नयाँ प्रविधिको प्रयोग गरेर अब अघि बढ्ने बेला भएको छ ।
यहाँहरूलाई थाहा छ, नेकपा (एमाले) बाहेक अरु कसैले यस कामको नेतृत्व गर्न सक्दैन । नेकपा (एमाले) मात्रै हो, जसले यस देशमा शान्ति सुव्यवस्था कायम गर्न सक्छ, भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, तस्करी नियन्त्रण गर्न सक्छ, सुशासन दिनसक्छ, शान्ति सुव्यवस्था कायम गर्न सक्छ । कानूनको राज, न्यायको राज एमालेले मात्रै दिनसक्छ । देशको हित, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन गर्न नेकपा (एमाले)ले मात्रै सक्छ । यो कुरा व्यवहारले प्रमाणित गरेको छ, इतिहासले प्रमाणित गरेको छ । नेकपा (एमाले) जति बेला सरकारमा पुगेको छ, राष्ट्रिय हितको पक्षमा बोलेको छ, लडेको छ र उन्नति गरेको छ । प्रष्ट रूपमा गएको अढाइ वर्ष अगाडिसम्म नेकपा (एमाले)को सरकार लगभग साढे तीन वर्ष रहँदा हामीले राष्ट्रियताको सन्दर्भमा, स्वतन्त्रता, स्वाधीनताको प्रयोग गरेर राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गरेका अनेक दृष्टान्तहरू छन् । इतिहासमा कसैले मेट्न नसक्ने, कसैले उपेक्षा गर्न नसक्ने त्यसप्रकारका कामहरू भएका छन् ।
विकासको सन्दर्भमा, पूर्वाधारहरू बाटाघाटा, पुल, एयरपोर्टको निर्माण, केबलकारहरूको निर्माण, हवाइ मैदानहरूको निर्माण, राती नचल्ने हवाइ मैदानहरू राती चल्ने सुविधासहित विकास गरेको अवस्था, विद्युतीकरण र खानेपानीको व्यापकता, त्यसै गरेर कृषिको विकास क्षेत्रमा काम भएका छन् । अघि मैले हेरेँ धानको पकेट क्षेत्र भनेर तोकिएको ठाउँ । हामीले कृषिको विभिन्न प्रकारका उत्पादनका लागि सुपरजोन, जोन, ब्लक र पकेट भनेर छुट्याएका थियौँ । आठवटा ठूलाठूला औद्योगिक क्षेत्रहरू छुट्याएका थियौँ । तर, अहिले ती सबै ठप्प छन् । निर्माणकार्य ठप्प छ, पूर्वाधार निर्माण ठप्प छ, विकासका कार्यहरू ठप्प छन्, जनतालाई राष्ट्रियताप्रति मोटिभेट गर्ने, राष्ट्रियताप्रति दृढ बनाउने कुराहरू कम भएका मात्रै होइन, ती कुरातर्फ सरकारले जनतालाई सोच्न पनि दिँदैन । निराशा फैलाउने काम गर्छ । यो सरकारले देशभक्तिको भावना कमजोर पार्ने काम गर्छ, राष्ट्रिय एकताको भावना कमजोर पार्ने काम गर्छ ।
अहिलेको गठबन्धनको सरकार साम्प्रदायिकताको जगमा उठेको छ । त्यसकारण अहिले पनि भित्रभित्रै साम्प्रदायिकतालाई बढावा दिएको अवस्था देखिन्छ । नेकपा (एमाले)ले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने, त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो राष्ट्रिय एकताबद्ध प्रयासबाट देशको विकास नेकपा (एमाले)ले मात्रै गर्न सक्छ । एमालेको त्यो नीति छ ।
त्यसकारण म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, भावनामा बग्नु हुँदैन र हाम्रा दाजुभाइ दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन । देश बनाउनका लागि बलियो एकता र समझदारी चाहिन्छ । जनताका बीचमा फाटो ल्याउने होइन, जनताका बीचमा एकता बनाउनु पर्छ । एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ । राजनीतिक विचारमा मतभेद हुनसक्छन्, तर ती मतभेदहरूको समाधान गर्न वैधानिक प्रक्रिया छ । त्यस वैधानिक प्रक्रियाबाट, कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट गर्नुपर्छ । आवेश उत्तेजनामा होइन, सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नु पर्दछ । त्यस औचित्यको आधारमा समस्याहरूको समाधान खोज्नु पर्दछ । नेकपा (एमाले)को त्यो नीति छ । त्यसकारण म सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु– हामी एकताबद्ध भएर राष्ट्र निर्माणको काममा लागौँ ।
यस(ओखलढुङ्गा) जिल्लामा आउँदा मलाई अनेक शहीदहरूको याद आउँछ । चाहे गुरु लुइटेलको कुरा होस्, चाहे अरु विभिन्न समयमा मारिएका, ज्यान गुमाएका, सहादत प्राप्त शहीदहरूको कुरा होस् । यस शहीद भूमि र सङ्ग्राम भूमिमा म सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । यो जुझारु र सचेत भूमि हो । पञ्चायत विरोधी आन्दोलन र अरु आन्दोलनमा यसको इतिहास छ ।
यति बेला फेरि देश अप्ठ्यारोमा परेको छ । अप्ठ्यारोमा परेको देशलाई अप्ठ्यारोबाट निकाल्ने तपाईं हाम्रो काम हो । त्यो तपाईं हामीले गर्नु पर्दछ । म आम जनतालाई, दिदीबहिनी दाजुभाइ तथा सबै देशवासीलाई भन्न चाहन्छु– हामी एकजुट भएर अगाडि बढौँ, समस्या समाधान गर्न सकिन्छ । हामी विकास गर्न सक्छौँ । समृद्ध नेपाल बनाउन सक्छौँ, सुखी नेपाली बनाउन सक्छौँ । यस कामको नेतृत्व नेकपा (एमाले)ले लिन्छ, नेकपा (एमाले)ले नेतृत्व गर्न सक्छ । म सबैलाई यस अभियानमा सरिक हुन अनुरोध गर्न चाहन्छु । यसका लागि हामीले मिशन– २०८४ भनेका हौँ । मिशन– २०८४ एमालेका लागि भनेको होइन, मिशन– २०८४ वास्तवमा यस देशका लागि आवश्यक छ । त्यो भनेको नेकपा (एमाले)जस्तो राष्ट्रिय शक्तिको रूपमा, सबल राष्ट्रिय शक्तिको एकल बहुमतको सरकार हो । त्यसमा अरुलाई पनि सामेल गर्न सकिन्छ तर बहुमत एमालेको चाहिन्छ । यसर्थ नेकपा (एमाले)को बहुमतको सरकार बिना, सुदृढ राष्ट्रिय शक्ति बिना यो देशको न स्वाभिमान, स्वाधीनता बचाउन सकिन्छ, न सुशासन र विकास ल्याउन सकिन्छ, न समृद्धि हासिल गर्न सकिन्छ, न नेपाली जनतालाई सुखी बनाउन सकिन्छ ।
तसर्थ ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि पूर्वअभ्यासका रूपमा हामीले मिशन–०८४ भनेका हौँ । त्यसको पूर्वअभ्यासको रूपमा हामीले महाकालीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्रा गरेका छौँ । यसमा सबै खुशी हुनुपर्ने हो, सबै खुशी हुनु पर्दछ । हामीले यो कठीन यात्रा एकैपटक दुई हजार किलोमिटरभन्दा बढी हिँड्ने यात्रा आरम्भ गरेका छौँ र अहिले धेरै किलोमिटर हिँडिसकेका छौँ, अझै धेरै किलोमिटर हिँड्ने छौँ । यो कठीनाइ हामी किन उठाइरहेका छौँ ? यो वास्तवमा देश जाग्न पर्यो, तपाईं हामी जाग्न पर्यो, जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्यो । त्यसका निम्ति हो । यो कसैका विरुद्ध होइन, देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो ।
त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन । यहाँ आइपुग्दा यहाँहरूको सजगता जुन पायौँ, म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु । यहाँहरूले जस्तो भव्य सजगता देखाउनु भयो, त्यसका निम्ति यहाँहरूलाई धन्यवाद दिँदै आफ्नो भनाइ टुङ्ग्याउँछु र हामीहरू यहाँबाट प्रस्थान पनि गर्छौं । धन्यवाद !