बिपी नेपाल फर्कनुमा दुई÷तीनवटा सन्दर्भ थिए
बिपीको मेलमिलाप राजासँगको मेलमिलाप थियो
कांग्रेसले मेलमिलापको व्याख्या आजको सन्दर्भमा गर्नुपर्छ
राजतन्त्र असान्दर्भिक विषय हो, बहस आवश्यक नै छैन
टावर निर्माण एकैठाउँ धेरै व्यवसाय र जमिन किफायतका लागि हो
अब गोठमा लैनो गाई होइन, ग्यारेजमा एउटा गाडी भन्नुपर्छ
पुर्खाले लडेर बचाएको स्वाभिमानप्रति गर्व गर्नुपर्छ
राष्ट्रिय स्वार्थको रक्षाका लागि प्रतिस्पर्धा गरौँ
लोकतन्त्र, सुशासन र विकासजस्ता आधारभूत प्रश्नहरूमा मेलमिलाप गरौँ
आजकै दिन ४७ वर्ष अघि बिपी कोइराला भारतको स्वनिर्वासनबाट नेपाल फर्किनुभएको थियो । त्यस दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा सधैं मनाउँदै आएको छ, म धन्यवाद भन्न चाहन्छु । यस दिनको सन्दर्भमा नेपाली कांग्रेस र अरु सबैलाई धेरैधेरै शुभकामना ।
आज अन्तर्राष्ट्रिय सम्वतको पहिलो दिन जनवरी फस्ट । सबै साथीहरूलाई, दिदीबहिनी दाजुभाइलाई नयाँ वर्षको धेरैधेरै शुभकामना !
नेपाली कांग्रेसले यस (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) दिवसलाई निरन्तरता दिएको छ । राष्ट्रिय एकता दिवस, मेलमिलाप दिवस भनेर मनाउने गरेको छ ।
बिपी कोइरालाजी दुई÷तीनवटा सन्दर्भमा नेपाल फर्किनुभएको थियो ।
एउटा सन्दर्भ– राजतन्त्रसमेत रहेको स्वतन्त्र देश सिक्किम अप्ठयारो स्थितिमा थियो र त्यो निलिंँदै थियो वा भर्खर निलिएको थियो । त्यस स्थितिलाई देखेपछि राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्ने परिस्थिति पनि बनेको थियो । त्यो अनुभूति भएको थियो ।
दोस्रो सन्दर्भ– बिपी कोइरालालाई खासगरी भारतले त्यहाँ बसिनसक्नु अवस्था बनाएको थियो ।
तेस्रो– नेपालमा लोकतन्त्रको पूर्णरूपमा अभाव थियो, पुनःप्राप्ति गर्नु थियो ।
यी अनेक सन्दर्भहरूमा बिपी कोइराला त्यति बेला नेपाल फर्किनु भएको थियो ।
त्यति बेलाको सन्दर्भ मैले भनिरहनु पर्दैन, वास्तवमा त्यो राजासँगैको मेलमिलापको प्रश्न नै थियो । राजासँग नेपाली कांग्रेसको मेलमिलाप वा बिपी कोइरालाको मेलमिलापबाट एउटा नयाँ परिस्थिति निर्माण गर्ने कुरा थियो ।
आज सन्दर्भ परिवर्तन भएको छ, अवस्था परिवर्तन भएको छ, व्यवस्था परिवर्तन भएको छ । त्यसकारण नेपाली कांग्रेसका नेताहरूले आजको सन्दर्भमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अर्थ, महत्व, सान्दर्भिकता र आजको सन्दर्भमा यसलाई कसरी कार्यान्वयन गर्ने हो त ? आजको सन्दर्भमा यसलाई रूपान्तरित गर्ने हो ? राजतन्त्र त सकिएको छ । अब जनता बीचको एकता हो । हिजो अर्कै सन्दर्भ थियो, आज अर्कै सन्दर्भ छ । यसको व्याख्या नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको आफ्नो राज्य सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालेर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि विल्कुलै जान चाहन्नँ । कुनै अमन चयनमा खलल पनि पार्न चाहन्नँ । त्यस सीमाभित्रै मात्र म बोल्छु ।
विश्वप्रकाश शर्माजीले मेलमिलाप दिवसमा आउने बित्तिकै भाटे कारबाही– अग्ला घर किन बनाइस् ? कलकत्ता जान गंगाको बाटो किन बनाइस् ? ट्रक नै कुदाउनुपर्ने ठाउँमा अमलेखगञ्जमा पाइपलाइन किन ल्याइस् ? बयलगाडा चलाइराखेको थियो, हुलाकी राजमार्ग किन बनाइस् ? आठ लाखभन्दा बढी घरहरू छोटो अवधिमा पुनःनिर्माण गरेर पीडितहरूलाई हस्तान्तरण किन गरिस् ? ठूला कुरा गर्ने भनेर उहाँले आफ्नो प्रचलित शैलीमा लल्कार्नु भयो । त्यसको पनि म जवाफ अहिले दिन्नँ । म आज कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ ।
यत्ति हो, लङ्केश कहिले कहिले खतरा आउँछ कि के हो भनेर झस्किन्थे । अनि उनका मान्छे आउँथे । उनीहरूलाई लङ्केशले सोध्थे– के छ परिस्थिति अप्ठ्यारो देख्छु । ती मान्छे भन्थे– होइन, त्यो राम बाहिर दुई चारवटा बाँदर ल्याएर आएको छ । के गर्छ त्यसले ? हाम्रो यत्रो गठबन्धन छ, कसले के गर्छ ?
अनि लङ्केश !, हेर्दाहेर्दा समय नघर्कियोस्, मान्छे विदेश गइरहेका छन्, विदेश जाने मारिएका छन् । मारिए किन ? किन मारिनु पर्यो ? मन्त्री त्यहाँ(बालकुमारी घटनास्थल) हुलमा गाडी लिएर किन जानु पर्यो ? नगइनहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्नहरू उठेका छन्, तिनको जवाफ के हो ? हुलमा गएर निहुँ खोजेर, उत्तेजित बनाएर, गोली चलाएर, मान्छे मारेर के गर्न खोजेको ? गोली मात्रै चलाएको होइन नि, बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ घुद्रुक्कै मरेको छ । यो सहज र सजिलो कुरा हो ?
यस्तो परिस्थिति छ । हुन त आज मैले अनलाइन खबर हेरेँ, त्यसले सरकारले काम गर्न सकेन भन्दैन, सरकारले किन युवा मार्यो भन्दैन, विदेश हिँडिरहेका युवालाई रोक्न सरकारले कदम चाल्दैन भन्न सक्दैन । सरकार यत्रो नालायकी देखाएर बसेको छ, यो एमाले के हेरेर बसेको छ ? के गरेर बसिराखेको छ ? भन्छ । हमला एमालेमाथि छ ! प्रचारको तरिका नि ! मन्त्री झण्डा हल्लाएर जान्छ, त्यहाँ गोली चल्छ । एमाले के हेरेको छ भन्छ ! हामीलाई पूर्वसूचना थियो । मैले अहिले धेरै केही नभनौँ ।
एकथरि मान्छेहरू छन्, राजतन्त्र भयो भने राष्ट्र बलियो हुन्छ । भारतमा लगभग ५६५ रजौटाहरू, राजाहरू थिए । त्यसो भए त ती रजौटाहरू हुनुपर्दथ्यो होला नि, अहिले पनि ती राज्य हुन्थे होला नि, हुन्थे ? मैले अघि सुरुमा भनेँ– सिक्किममा राजासहितको स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दो रहेछ ? जनताले हो कि राजाले हो देश बचाउने ?
अर्को कुरा, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको वैज्ञानिक आधार नभएको, तथ्यले पुष्टि गर्न नसक्ने, कुनै तर्कमा आधारित नभएको, तर्कहीन पाखण्डी सिद्धान्त हो । जन्मिँदै शासक हुने सिद्धान्त अन्धविश्वासको पराकाष्टा, पाखण्ड वा जनताको पर्याप्त सचेतनता अभावमा कायम रहेको सामन्तवादको आजको समयमा छ भने त्यो अवशेष हो । त्यो राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्छ । तर, त्यसप्रति एउटा सचेत र स्वाभिमानी नागरिकले जनताको सर्वोच्चता नमानेर व्यक्तिको सर्वोच्चता कसरी स्वीकार गर्छ ? त्यसकारण राजतन्त्रको बहस नेपालमा आवश्यक नै छैन । यो सिद्धिइसक्यो ।
हुन त यो दरवार हत्याकाण्डकै बेला सिद्धिएको हो । हामीले पर्याप्त र उपयुक्त कदम त्यतिबेला नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो । त्यसले तमासा देखायो । अनि हटाउनु पर्यो । संविधानसभाले निर्णय गर्यो, अनि हट्यो । त्यो कुरा भइसक्यो । कुनै प्रगतिशील कुरा गल्तीवस भएको भएदेखि फर्कन्थ्यो होला तर यो त अढाइ सय वर्षसम्म नेपाली जनतालाई चुसेर गरिब बनाउने संस्था थियो । अनि त्यो चिजलाई फेरि ल्याउने भन्ने कुरा कहीँ हुन्छ ? राजनैतिक, वैचारिक, दार्शनिक, सैद्धान्तिक कुनै पनि हिसाबले हुँदैन ।
अर्को अचम्म के छ भने कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, के यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानाशाह राजा बनाउन खोजेको ? त्यो होइन भन्छन् फेरि । संवैधानिक राजा बनाउन खोजेको भन्छन् । संवैधानिक त रामचन्द्र पौडेलजी हुँदै हुनुहुन्छ त । अनि त्यो सेरमोनियल राजाले के गर्छ त ? गद्दीमा बसेर हेर्ने बाहेक केही गर्ने त होइन । अनि त्यहाँ लगेर राख्ने बित्तिकै के हुन्छ ? राजतन्त्रको यो फाल्तु गफ हो । मैले अस्ति भनेको त्यही हो– यो चिहानबाट निकालेर नली खुट्टाको हड्डी फुकेर कहाँ पुग्छौ तिमीहरू ? कोही कहीँ पुग्नेवाला छैन । राजतन्त्र असान्दर्भिक विषय हो ।
म नेपाली कांग्रेस र कांग्रेससँगै गठबन्धनलाई पनि भन्नु पर्ला । एकता दिवस मनाउनुभएको छ, एकता गर्नुभएको छ । यो राम्रो कुरा हो । एकता के हो भन्ने हामीले बुझ्नु पर्दछ । हामीले छानेर ल्याएको प्रणाली लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो । प्रतिस्पर्धाभित्र हामी एकता खोजिरहेका छाँै । एकता के कुरामा हुने ? के कुरामा प्रतिस्पर्धा हुने ? प्रतिस्पर्धा हुनुपर्दछ तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ । प्रतिस्पर्धा कहाँ हुन्छ ? लोकतन्त्रमा मात्रै हुन्छ । त्यसकारण लोकतन्त्रको रक्षा एकताको एउटा शर्त हो । हामी लोकतन्त्रको रक्षाका लागि एक छौँ । यसमा कुनै सन्देह छैन ।
कतिपय सामाजिक सञ्जाल, पत्रपत्रिकाले लेख्ने गरेका छन्, तीनजना नेता भेट भए पनि तिनीहरूको टाउको दुख्छ । किन भेटिराखेका छन् यी तीन नेता ? यिनीहरूले कहीँ राजतन्त्र ल्याउन नदिने हुन् कि क्या हो ? लोकतन्त्र फ्याक्न नदिने हुन् कि क्या हो ? यो त डिक्लियर छ त । हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौँ, त्यो कुरा त एकदम खुलस्त छ । हामी यस देशमा तानाशाही आउन दिँदैनौँ । कुनै पनि अलोकतान्त्रिक शासन प्रणाली यहाँ हुँदैन, नेपालमा डेमोक्रेसी मात्रै हुन्छ । त्यसकारण लोकतान्त्रिक गणतन्त्रका प्रश्नमा हामी एक छौँ । शान्तिको प्रश्नमा हामी एक छौँ÷ हुनुपर्दछ । सुशासनको प्रश्नमा हामी एक छौँ÷हुनुपर्दछ । विकासको प्रश्नमा हामी एक छौँ÷हुनुपर्दछ ।
नेपाली कांग्रेसको नीति के हो ? एकतले घर मात्रै बनाउने हो ? मैले नबुझेको नि । झन् जमिनको किफायती गरौँ, थोरै जमिनमा अलि धेरै तला भएको नभत्किनेगरी घर बनाआँै, एउटै घरमा थुप्रै कारोबार चलोस् र जमिनको किफायत होस् । दमकमा अग्लो भएको हुनाले टावर भनेको हो । टावर हेर्नका लागि बनाइएको, वरिपरि घुमेर जाने चार पाँच तलाको त्यो त्यस्तो टावर होइन । त्यो विजनेश घर हो । त्यस घरभित्र दुई चारवटा क्याम्पस अटाउँछन्, दुई चारवटा अस्पताल अटाउँछन् । त्यसले त्यहाँ अहिलेसम्ममा कति मान्छेलाई रोजगारी दियो ? कति मनि ट्रान्जेक्शन भयो ? कतिले काम पाए ? त्यतापट्टी म नजाऔँ । तर, हामी पुरानै सोचमा होइन, एउटा सन्दर्भमा सोचौँ ।
बिपीले एउटा परिस्थितिमा भन्नुभयो– एउटा घर, एउटा लैनो गाई । अब हामीले गोठमा एउटा गाई भन्यौँ भने काठमाडौंमा विस्कुट बिक्छ, यो कुरा बिक्दैन । यहाँ त एउटा घरमा एउटा गाडी, एउटा ग्यारेज भन्नुपर्छ । जमाना त्यता गइसक्यो । बिपी कोइरालाले त्यस बेला ह्याण्ड टु माउथका लागि भन्नुभयो । अब ह्याण्ड टु माउथ भनेको १५ प्रतिशत जनताको समस्या हो, ८५ प्रतिशतको समस्या होइन । निरपेक्ष गरिबीको रेखामुनी १५ प्रतिशत जनता छन्, ८५ प्रतिशत छैनन् । ८५ प्रतिशतको कुरा पनि हामीले गर्नुपर्छ । ८५ प्रतिशतलाई लिएर त्यो १५ प्रतिशतको गरिबी हटाउनुपर्छ । औद्योगीकरण गर्नु पर्दछ, कृषिको आधुनिकीकरण गर्नु पर्दछ । हामी एकताबद्ध भएर यी कुराहरूमा अगाडि बढ्नु पर्दछ । अनि काम गर्यो भने पनि खिसिट्युरी, नगरे पनि उस्तै !? त्यस्तो होइन, हामीले छुट्याउन सक्नु पर्दछ ।
राष्ट्रियताका सवालमा हाम्रा पुर्खाले लडेर यो देश बनाए र बचाए । आज त्यसरी लडेर बचाएको स्वाभिमानप्रति हामी गर्व गर्न सक्दैनौँ, त्यसको रक्षा गर्न सक्दैनौँ । हाम्रा पुर्खाहरूले तोपका अगाडि खुकुरी नचाएर लडेका थिए । तोपसँग खुकुरी जुधाउथे । अहिले हामी आँखा पनि जुधाउन सक्दैनौँ । आँखा जुधाएर कुरा गर्न सक्दैनौँ, के भएको ? आँखा जुधाएर हामी अरुलाई हेप्ने भन्दैनौँ तर नहेप्ने नीतिमा, अरुमाथि अन्याय कहिल्यै पनि गर्ने सोच्दैनौँ तर आपूm अन्यायमा नपर्ने, अरुलाई नहेप्ने, आपूm नहेपिने, अरुको सार्वभौमसत्तालाई सम्मान गर्ने, हाम्रो सार्वभौमसत्ताप्रति पनि हामीलाई गर्व छ, अरुले पनि मान्नु पर्छ । योभन्दा अर्गेल्याइँ कहाँ हुन्छ ?
हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ? १८१६ मार्चबाट हामीले पाएको जमिन १९६२ मा आएर १४६ वर्षपछि चीन–भारत द्वन्द्वका बेला भारतले फौज ल्याएर राख्यो । घाँटी परेका ठाउँमा ल्याएर राख्यो, त्योभन्दा पश्चिम हामी जान सकेनौँ÷पाएनौँ । हाम्रो जमिन अकुपाइड भयो । यथार्थ त्यो हो, त्यो पनि भन्न नसक्ने ?
अर्को कुरा म के विश्वास गर्छु भने–भारत हाम्रो मित्र हो । मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । मित्र हो भने मित्रसँग कुरा गर्न सक्नुपर्छ । आफ्नो कुरा खुलेर भन्नुपर्छ, यो मर्का पार्न पाइँदैन मित्र भन्न सक्नुपर्छ । कम्फर्टेबल हुने कम्पिटिशन नगरौँ न । राष्ट्रिय स्वार्थको रक्षाका लागि प्रतिस्पर्धा गरौँ, कम्फर्टेविलिटीमा होइन ।
राष्ट्रिय सहमतिको प्रश्नमा अघि सुशासन, सुशासन, सुशासन भनेर तीनवटा नीतिको कुरा गर्नुभयो । हो, सुशासनमा सहमति गरौँ । विकासमा सहमति गरौँ । सामाजिक न्याय र समानताका कुरामा सहमति गरौँ । हाम्रा संस्थाहरू सरकारमा हुनेका वा हुँदाका कसैका निजी सम्पति होइनन्, साझा सम्पति हुन् । त्यसकारण आपूmले खुरुखुरु आफ्ना मान्छे भर्ना गर्दा त्यो निष्पक्ष भयो भन्ने, अर्काको भर्ना गर्न पर्यो भने भागबण्डा भन्ने ! त्यो हुँदैन । कि राजनीतिक मान्छे भर्ना नै नगरौँ, आफन्त भर्ना नगरौँ कि उपयुक्त ढङ्गले योग्य मान्छे अन्त पनि होलान्, मिलाएर भर्ना गरौँ । साँच्चै योग्य मान्छेको खुला प्रतिस्पर्धा गराऊँ न, छलछाम नगरौँ । मैले उहिले एकपटक यही मञ्चबाट बोल्दा भनेको थिएँ– हामी सानो हुँदा अलिक ठूलाहरूले यस्सो थुक लगाउँथे औँलामा । औँलामा लगाएको थुक पल्लो औँलामा छ होइन भन्यो ? हो भन्यो । अनि छेउको औँला लुकाएर अर्को औँला उठाएर फुत्तफुत्त सार्ने र वल्लापट्टी र पल्लापट्टी देखाउने । यस्तो नगरौँ न । एउटै कुरा गरौँ न । औँला स्याट्ट यताको लुकायो, फेरि उताको उठायो । त्यस्तो तर्क होइन, एउटै तर्क गरौँ, मेलमिलाप गरौँ । साँच्चैको प्रतिस्पर्धाभित्र आधारभूत प्रश्नमा मेलमिलाप, लोकतन्त्रको रक्षामा मेलमिलाप, लोकतान्त्रिक गणतन्त्रको प्रश्नमा मेलमिलाप, शान्ति सुव्यवस्था कायम गर्ने कुरामा मेलमिलाप । यी आधारभूत प्रश्नहरूमा मेलमिलाप गरौँ । थिति र विधि अनुसार सरकार चल्ने कुरामा मेलमिलाप गरौँ । आज धेरै मतभेदजन्य कुरा गर्न त मिलेन । त्यसकारण म शुभकामना भन्न चाहन्छु, यस दिवसले हामीलाई यथार्थ मेलमिलापतर्फ अगाडि बढ्न प्रेरित गरोस् । धन्यवाद !
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८० पुस १६गते नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप तथा एकता दिवस कार्यक्रममा गर्नुभएको सम्बोधनको पूर्णपाठ ।