काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको २६औँ बैठक आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत गरिने उम्मेदवारहरूका विषयमा छलफल, पार्टीको केन्द्रीय कमिटीमा मनोनयन र समसामयिक राजनीतिक विषयमा विमर्श गर्दै सम्पन्न भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय, च्यासल, ललितपुरमा आज बसेको बैठकले केन्द्रीय कमिटी सदस्यमा छजनालाई मनोनीत गरेको छ ।
मनोनीत हुनेहरूमा तुलसीप्रसाद न्यौपाने (कोशी प्रदेशका पूर्व अध्यक्ष), रामअवतार यादव (मधेश प्रदेशका पूर्व अध्यक्ष), केशवराज पाण्डे (बाग्मती प्रदेशका पूर्व अध्यक्ष), विनोद शाह (कर्णाली प्रदेशका पूर्व अध्यक्ष), दामोदर भण्डारी (सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष) र दीपक कार्की (झापा जिल्ला कमिटी अध्यक्ष) हुनुहुन्छ ।
बैठकले राष्ट्रिय सभामा रिक्त १९ सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । बैठकपछि महासचिव शंकर पोखरेलले बैठकका निर्णयबारे पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो ।
बैठकपछि पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्ति यस प्रकार छः
आज मिति २०८० पुस २० गते नेकपा (एमाले) केन्द्रीय सचिवालयको २६ औं बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्यो । बैठकमा समसामयिक राजनीतिक विषयमा विमर्श गर्नुका साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत गरिने उम्मेदवारहरुको विषयमा छलफल भएको छ । बैठकले राष्ट्रिय सभाको रिक्त १९ पदमा पार्टीको तर्फबाट उमेद्वार बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको लागि यही पुस २३ गते उमेद्वारी दर्ता हुनेछ ।
बैठकले कोशीबाट तुलसीप्रसाद न्यौपाने, मधेशबाट रामअवतार यादव, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिमबाट दामोदर भण्डारी र झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले नगर अस्पतालको विषयमा छलफल गरिरहेको बेलामा सत्तापक्षका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्नेक्रममा स्थानीय नागरिक जयशंकर साहको मृत्यु भएको छ । सो घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ । सत्ताको आडमा भएको यसप्रकारको अप्रिय घटनाको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।
हालै नेपाल–भारतको संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । बैठकमा के–के छलफल र सम्झौता भए भन्ने विषयमा प्रतिपक्षसँग कुनै परामर्श र छलफल नगरिएको प्रति गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्नुपर्छ । नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनुहुन्न भन्ने कुरा पार्टीले स्पष्ट गरेको छ ।