detail-img

मधेस प्रदेश कमिटीको दोस्रो बैठक कार्यविभाजन र समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेश कमिटीको दोस्रो बैठक कार्यविभाजन र विभिन्न १५ वटा समसामयिक विषयमा प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ । 
पार्टीका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईको आतिथ्यता र प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलको अध्यक्षतामा रौतहटको चन्द्रपुरमा सम्पन्न बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन सहित विभिन्न प्रस्ताव पारित गरेको हो ।


नयाँ कार्य विभाजन अनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष मण्डललाई दिइएको छ । स्थानीय विकास विभागको प्रमुखमा विचारी यादव, जनसंठन समन्वय संयन्त्र प्रमुखमा  मनोज पौडेल र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा आरती भण्डारीलाई जिम्मेवारी दिइएको छ । 
यसैगरी आर्थिक विभाग प्रमुखमा महम्द कैस, स्कुल विभाग प्रमुखमा शंकर महतो र सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा अम्बिका चौलागाईंलाई जिम्मेवारी तोकिएको छ । 
बैठकले वर्तमान अवस्थामा केन्द्रमा नेकपा (एमाले) सहितको सत्ता समीकरण बनेको र मधेस प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठुलो पार्टी भएकाले मधेस प्रदेशका जनताको चाहनालाई ध्यान दिँदै प्रदेश सरकारको नेतृत्व गर्ने गरी आवश्यक पहलका लागि  पार्टी केन्द्रलाई आग्रह गरेको छ ।
बैठकमा पार्टीका पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, लीलानाथ श्रेष्ठ, अच्युत मैनाली, जुली महतो, मञ्जु चौधरी लगायतको उपस्थिति थियो । 
बैठकले पारित गरेका विभिन्न प्रस्तावहरू यस प्रकार छन्ः 
१. अहिले देशमा नेकपा (एमाले)का् पहलमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा एमाले सहितको सरकार बनेको छ । यो सरकारले जनतामा सकारात्मक आशा जगाएको छ । यसले अहिले राष्ट्रियता र जनताका समस्या समाधान गर्न सकिने सम्भावना समेत देखिएको छ । नेकपा (एमाले) मधेस प्रदेश कमिटी यसलाई स्वागत गर्दछ र राजनीति तथा शासकीय स्थिरताका लागि सबैमा हार्दिक आग्रह गर्दछ ।
२. नेकपा (एमाले) प्रदेश कमिटी नयाँ सरकारलाई केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका योजना सुचारु गर्ने, बजेट कटौती गरिएका योजनामा बजेट राख्ने र भुक्तानीको व्यवस्था गरी अघि बढ्न माग गर्दछ ।
३. मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानहरूमा खानेपानीको समेत समस्या देखिएको छ । समस्याग्रस्त जिल्ला र स्थानहरूमा खानेपानीको योजना कार्यान्वयन गर्न माग गर्दछौं । साथै चुरे क्षेत्रको मरुभूमिकरण रोक्न विशेष योजना ल्याउन समेत माग गर्दछौं ।
४. मधेस प्रदेश भूमिहीन, सुकुम्वासीहरू अत्यधिक रहेको प्रदेश हो । कानुन बमोजिम भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबासीहरूका समस्या समाधानतर्फ गम्भीरतापूर्वक लाग्न माग गर्दछौं ।
५. नेकपा (एमाले) अहिले मधेस प्रदेशको पहिलो पार्टी हो । यसले प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिटमा विजय हासिल गरेको छ । यो बैठक आगामी दिनमा नेकपा (एमाले)लाई मधेस प्रदेशमा बहुमत सहितको पार्टी बनाउने सङ्कल्प गर्दछ ।
६. कृषि उत्पादनको दृष्टिले सर्वाधिक उर्भरभूमि रहेको मधेस प्रदेसका किसानको हकको निम्ति  सुलभ कृषि ऋण, मलखाद तथा सिँचाइको लागि आवश्यक व्यवस्था अहिलेको आवश्यकता हो । नयाँ सरकारले किसानको समस्याका बारेमा विशेष कार्य योजना ल्याओस् भन्ने माग गर्दछौँ ।
७. अत्यधिक उखु किसान रहेको यस प्रदेसका वीरगन्ज चिनी कारखाना बन्द भयो । अहिले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएको छ । यसले रौतहट, बारा, पर्साका उखु किसानहरू पीडित भएका छन् । यो बैठक सरकारसँग बन्द रहेका चिनी उद्योगहरू खोल्न जोडदार माग गर्दछ । 
८. मधेस प्रदेशमा जातीय विभेद, लिङ्गीय विभेद समेत चर्को समस्याको रूपमा देखिएको छ । कतिपय स्थानमा यो अझै जटिल सामाजिक समस्याको रूपमा प्रकट  हुने गरेको छ । नेकपा (एमाले) सबै खाले विभेदको अन्त्य र सामाजिक न्यायको लागि काम गर्न सरकारसँग जोडदार माग गर्दछ ।
९. मधेस प्रदेसका कतिपय स्थानमा अहिले पनि हुलाकी राजमार्ग निर्माणमा समस्या देखिएको छ । तामागढी, सिम्रौनगढ सडकको मुआब्जा नपाएका कारण अझै केही समस्या देखिएको छ । हामी सबै समस्याको हल गरी हुलाकी राजमार्ग निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्दछौँ ।
१०. देशका दुग्ध उत्पादक किसान आन्दोलनको क्रममा छन् । उनीहरूको दूधको रकम भुक्तानी गर्न बाँकी रहेको छ । माछा किसानहरूको समस्या यथावतै छ । कृषि उत्पादन क्षेत्रमा लागेका किसानहरूको खेतमा सिँचाइ पुर्याउने कुरा अरू चुनौतीपूर्ण छ । सुनकोसी–मरिन तथा सुनकोसी–कमला डाइभर्सन सिँचाइ योजनालाई गति दिन आवश्यक छ । यसतर्फ तत्काल ध्यान दिन र समस्याको समाधान गर्न जोडदार माग गर्दछौँ ।
११. कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । कोशी टप्पु वन्यजन्तु आरक्षको सुदृढीकरण गर्नु आवश्यक छ भने पर्सा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तुको आक्रमणका कारण मानवीय तथा पशुधनको क्षति भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदम चालियोस् ।
१२. मिटर व्याज पीडितहरू न्याय माग्दै काठमाडौंसम्म जानुपर्ने स्थिति बन्यो । यो राम्रो होइन । सरकारले मिटर व्याज पीडितहरूको समस्या तत्काल समाधान गर्नुपर्छ ।
१३. मुलुकको विकासको सम्भावनाका अनेक ढोकाहरू खोल्न सक्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जुनसुकै सरकार र राज्यका अङ्गहरूको प्राथमिकताको विषय हुनु आवश्यक छ । अहिलेको सरकार जनताको विकासको चाहना पुरा गर्ने सरकार हो । यसैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारसँग जोडदार माग गर्दछौं । यसैगरी तराई मधेसलाई काठमाडौंसँंग जोड्ने काठमाडौं निजगढ फास्टट्रयाक निर्माण कार्य समयमै सम्पन्न गर्न माग गर्दछांै ।
१४. बैठकले वर्तमान अवस्थामा केन्द्रमा नेकपा (एमाले) सहितको सत्ता समीकरण परिवर्तन  भएको र मधेस प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठुलो पार्टी भएको हुनाले मधेस प्रदेशका जनताको चाहनालाई ध्यान दिँदै प्रदेश सरकारको नेतृत्व  गर्ने गरी आवश्यक पहलका लागि  पार्टी  केन्द्रलाई आग्रह गरेको छ । 
१५. बैठकले नेकपा (एमाले) मधेस प्रदेश कमिटीको बैठकको व्यवस्थापनमा जुटेर बैठकलाई  सफल बनाएकोमा नेकपा (एमाले) जिल्ला कमिटी रौतहट र नगर कमिटी चन्द्रपुरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।