detail-img

‘अधोगति रोक्न नसके नेपाल श्रीलंकाको अवस्थामा पुग्ने’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक अधोगतितर्फ गइरहेको र यो गतिलाई रोक्न सकिएन भने नेपाल  श्रीलंकाको अवस्थामा पुग्ने वताउनुभएको छ ।  
विभिन्न आमसञ्चार माध्यमका सम्पादकहरूसँग पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले वर्तमान पाँचदलीय गठबन्धन सरकार बनेको एकबर्षमै  मुलुक सङ्कटतर्फ बढिरहेकोको, अर्थतन्त्र ध्वस्त पार्ने काम भएको वताउँदै देश उँधो लागीरहेको विषयमा सबै सतर्क र चिन्तित हुनुपर्ने वताउनुभयो । 

वर्तमान गठबन्धन सरकार निष्प्राण भइसकेको र यो देशका लागि हानिकारक भएकाले यसलाई बोकिरहन नहुने उहाँको भनाई थियो ।

वर्तमान गठबन्धन सरकारले राजनीतिलाई विकृत बनाउने, विकासका काममा व्यवधान खडा गर्ने, अस्थिरता सिर्जना गर्ने, समाजलाई निष्ठाच्यूत गर्ने प्रवृत्तिलाई बढावा दिने बाहेक देश र जनताका पक्षमा एउटै काम नगरेको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय बजेट बनाउँदा अर्थतन्त्रलाई ध्वस्त पार्ने गरी सरकारले अनधिकृत मानिसको प्रयोग गरी करका दर हेरफेर गरेको वताउनुभयो । 

व्यापारिक घरानाका प्रतिनिधिका रूपमा अनधिकृत मान्छे प्रयोग गरी करका दर हेरफेर गर्ने काम पृष्ठभागबाट समर्थन नभई अर्थमन्त्रीले मात्र गर्न नसक्ने भनाई अध्यक्ष ओलीले राख्नुभयो । 

अध्यक्ष ओलीले सम्पादकहरूसँग भन्नुभयो–हामीले प्राप्त गरेको लोकतान्त्रिक प्रणालीको सही कार्यान्वयनद्वारा देश अगाडि बढाउनुपर्ने कुरामा हामी सबैको सहमति हुनु आवश्यक छ ।

अन्तरक्रियामा अध्यक्ष ओलीसँग सम्पादकहरूले – देशको खस्कँदो आर्थिक अवस्था,  जनतामा दलहरुप्रति देखिएको वितृष्णा, आगामी निर्वाचनमा बाम गठबन्धन, तीन तहको संघीयताको विकल्प, भ्रष्टाचार, प्रधानन्यायाधीशमाथिको महाभियोग र संवैधानिक परिषद् विधेयकका सम्बन्धमा पार्टीको धारणा  लगायतका जिज्ञासा राख्नुभएको थियो ।  

अध्यक्ष ओलीले सबै जिज्ञासाको सम्वोधन गर्दै भन्नुभयो–

वर्तमान सरकार गठन भएको एकबर्ष भएको छ । भ्रष्टाचारमा बेलगामको अवस्था छ । सरकार सरले चलाउनुहुन्छ कि म्याडमले, भिनाजु कि साला वा सरकारको पावर मसँग छ भन्ने नेताले भन्ने स्थिति छ । प्रदेशमा मन्त्रीहरू देश विकासका लागि होइन, जागीर खान र ख्वाउनका लागि, स्वार्थपूर्तिका लागि भइरहेका छन् । 
वैदेशिक मुद्राको संचिति छैन । नयाँ कामका लागि बैंकहरूले ऋण दिन सक्ने अवस्था छैन । विकास निर्माणका लागि चाहिने उपकरण आयातका लागि पैसा छैन । उत्पादन बढाउन लगानी छैन । 
जनताको ढाड सेक्ने गरी बढिरहेको महंगीले जनताको जीवन कष्टकर बनिरहेको छ । उद्यमी, व्यापारीहरू अफ्यारो स्थितिको सामना गरिरहेका छन् । गठबन्धन सरकार र सत्तामा रहेका दलहरूलाई जालझेल, तिकडम के गरेर सत्ता टिकाइरहन सकिन्छ त्यसैमा मात्र लागेको छ । जनताका समस्यामा कुनै मतलव छैन । त्यसैले दलहरूप्रति बढेको वितृष्णाको मुख्य दोषी गठबन्धनमा रहेका दलहरू हुन् । 
पार्टी विभाजन हुनबाट रोक्न नसक्नु्मा आफ्नो पनि कमी रहेको हुनसक्छ भन्दै अध्यक्षले स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गर्ने प्रसंगमा यसलाई अपवादका रूपमा लिनुपर्ने भनाइ राख्नुभयो । 
‘यो स्थायी र दीर्घकालीन निष्कर्ष होइन ।’ अध्यक्ष ओलीले भन्नुभयो–समाज सञ्चालनका लागि दलहरूको अपरिहार्यता छ । 

आगामी निर्वाचनमा बाम गठबन्धनका बारेमा राखिएको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो – 
नेकपा –एमाले) ले जस्तो पनि गठबन्धन चाहेको भए यो गठबन्धन उहिल्यै टुट्थ्यो, अर्को बन्थ्यो । एमालेले गठबन्धनका लागि गठबन्धन होइन, परिस्थितिमा परिवर्तन मुख्य कुरा हो भन्ने मान्यता राख्दछ । सरकारमा पुग्नु मात्रै सबै कुरा होइन, जनादेश विपरीत सरकार चले जनताले घोक्र्याएर निकाल्छन् । तर नेपालमा जनादेशबाट नसकेपछि अदालत गुहार्ने गरिन्छ, त्यो अहिलेमात्र होइन, २०५२ सालमै पनि देखिएको हो । गठबन्धनका प्रसंगमा उहाँले भन्नुभयो– एमालेले डिभोर्स हुने नक्कली विहे गर्दैन । 

वर्तमान गठबन्धन विभिन्न वाद, फरक फरक उद्देश्य र गन्तव्य नै नभएका दलबीचमा भएको वताउँदै अध्यक्ष ओलीले अहिले राजनीति ध्रूवीकरण भइरहेको छ त्यो राम्रो कुरा हो भन्नुभयो । 
नेकपा (एमाले) प्रगतिशील लोकतान्त्रिक शक्तिका रूपमा विकास र सुशासनको एजेण्डा लिएर अगाडि बढिरहेको र अर्कोतर्फ वर्तमान गठबन्धनमा रहेका दलहरू लुटलाट, हाटहुट र राज्यशक्तिको दुरुपयोग गरी निर्वाचन जित्ने र अविकास, यथास्थिति र समस्यै समस्याको चक्र कायम रहनुपर्छ भन्ने मान्यतामा चलिरहेको अध्यक्ष ओलीको भनाई थियो । 

संघीयताबारेको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो– 
नेपालको संविधान–२०७२ बडो मुश्किलले ल्यायौं । संविधान निर्माणका समयमा पहिचानका नाममा सामाजिक सद्भाव भड्काइएको थियो । १२– १४ वटा प्रदेश, जातीय राज्य जस्ता कुराहरूलाई उछालिएको थियो । मुलुकलाई द्वन्द्वको अवस्थाबाट जोगाएर, देशलाई एकताबद्ध गरेर लोकतान्त्रिक संविधान जारी गर्ने जिम्मेवारी हामीमा थियो । त्यस्तो अवस्थामा एउटा चिज आइसकेपछि त्यसलाई एकतहसम्म इमान्दारीसाथ कार्यान्वयन गरिनुपर्छ, सफल बनाउन सकारात्मक प्रयास गरिनुपर्छ । कार्यान्वयन गर्दा सफल भएन, असफल भयो भने फेरि राष्ट्रिय सहमति, समान निष्कर्ष निस्कन सक्छ ।   

अध्यक्ष ओलीले तीन तहको संघीयताको बारेमा विकल्प सोच्ने हतारो भइनसकेको वताउनुभयो । 
सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता गरिएको महाभियोगको प्रस्ताव करिव पाँचमहिना वितिसक्दा पनि आवश्यक टुंगो लगाउनेतर्फ कुनै काम नभएको र यो महाभियोग अदालतलाई दबाबमा राख्नका लागि पूर्वाग्रहपूर्वक र प्रतिशोधका लागि ल्याइएको  उहाँको भनाई थियो । 

महाभियोग परमादेशको सेरोफेरोमा ल्याइएको हो, प्रधानन्यायाधीश व्यक्तिका सम्बन्धमा आफ्नो केही भन्नु नरहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो – हामी अदालतको गरिमा रहोस् भन्ने चाहन्छौं । 

संवैधानिक परिषद् विधेयकका सम्बन्धमा राखिएको जिज्ञासामा अध्यक्षले भन्नुभयो– परिषद्का सम्बन्धमा हामीले ल्याउँदा विरोध र मुद्दामामिलामा जानेहरु अहिले निर्लज्ज र स्वार्थप्रेरित ढंगले विधेयक अगाडि बढाउन खोजेका छन् । यस्तो विरोधाभाषी काम गर्नेहरुले विधेयक ल्याउनुभन्दा अघि मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ पहिले हामीले जानेनछौं भनेर ।