detail-img

सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल 

१० भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका समस्या समाधानका लागि वर्तमान सत्ता साझेदारीभन्दा प्रभावशाली र हस्तक्षेपकारी विकल्प नभएको बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको १३औं बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो । 
लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको उहाँले प्रष्ट पार्नुभयो । नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बीचमा नागरिकको लोकतन्त्रप्रतिको भरोसा जोगाएर राख्न कठिन हुने बताउँदै महासचिव पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने ढङ्गले वहस र संविधान संशोधन आवश्यक रहेको धारणा राख्नुभयो । 
त्यसैले मुलुकलाई बरबाद हुनबाट जोगाउन ठुला राजनीतिक दलले पहल लिनुपरेको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले संविधान र कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने बताउनुभयो ।
संविधान र कानुन सुधारको काम जटिल रहेको बताउँदै राजनीतिक रूपमा सहमति कायम हुने विषयमात्र संशोधनका लागि अगाडि बढाइने उहाँले स्पष्ट गर्नुभयो । 
राजनीतिक स्थायित्वका लागि दलहरू बलिया हुनु आवश्यक रहे पनि नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकेको धारणा राख्दै कतिपय कानुनमा सुधार गर्दा पनि स्थायित्वको आधार बनाउन सकिने महासचिव पोखरेलले बताउनुभयो ।  
कानुनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलिया हुनबाट रोकेको उहाँको धारणा छ । 
महासचिव पोखरेलले भन्नुभयो– संविधान संशोधन जटिल भए कानुन संशोधन गरेर थ्रेसहोल्ड बढाउनुपर्छ ।
‘जो राष्ट्रिय पार्टी हुँदैनन्, उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको सङ्ख्या  स्वतः कम हुने स्थिति बन्ने थियो । त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने थियो,’ भन्नुहुँदै उहाँले साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको बताउनुभयो । 
महासचिव पोखरेलले ठुला राजनीतिक दलहरूको जवर्जस्ती विकल्पका रूपमा राजनीतिमा आएकाहरू आर्थिक र चारित्रिक हिसावमा कमजोर देखिएका र सामाजिक सञ्जालले तयार गरेको व्यक्तित्व कृत्रिम हुँदो रहेछ भन्ने प्रमाणित भएको बताउँदै यसबाट समाज अगाडि बढाउने कुरामा क्षति भएको विश्लेषण सुनाउनुभयो । 
महासचिव पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निक्कै जटिल बन्दै गएको बताउँदै त्यसैले सचेततापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो । दक्षिण एसिया विश्व राजनीति द्वन्द्वको चपेटामा परेको उहाँको धारणा छ । वित्तीय पुँजीवादको टकराब कति बलियो हुन्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकराबले श्रीलङ्कामा द्वन्द्व निम्त्याएको उहाँले बताउनुभयो । 
आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले बङ्गलादेश घटना भूराजनीतिक द्वन्द्वको प्रभाव पनि भएको विश्लेषण सुनाउनुभयो । 
आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्वपूर्ण रहेछ भन्ने कुरा बिर्सन नहुने महासचिव पोखरेलले बताउनुभयो । यसमा सञ्चार माध्यमको सकारात्मक भूमिका छ कि छैन भन्ने कुराले अर्थ राख्ने उहाँको धारणा छ ।
महासचिव पोखरेलले देशको विकास र समृद्धिका काम अगाडि बढाउँदा पल पल सञ्चारमाध्यमको साथ चाहिने बताउँदै विभागले यस पक्षलाई ध्यान दिन सक्यो र सञ्चार क्षेत्रलाई जोड्ने काममा नेतृत्व गर्न सक्यो भने राष्ट्र निर्माणमा सहयोग पुग्ने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकमा सचिव गगन विष्टले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकले नवयुग प्रकाशन, प्रचारका राष्ट्रिय तथा प्रदेशस्तरीय भेला आयोजना लगायत कामको बार्षिक कार्ययोजना पारित गरेको छ ।