detail-img

‘जनताले गरेको विश्वासलाई एमालेले सुरक्षित राख्न सक्नुपर्छ’

७ फागुन (२०८१) काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको दक्षिणपन्थी अवसरवाद अन्त्य नगर्दासम्म एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउन नसकिने बताउनुभएको  छ । 
बुधबार काठमाडौंमा प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा उपमहासचिव गुरुङले आफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई पार्टीमा ल्याउन नचाहने प्रवृत्तिले पार्टी बलियो नबन्ने बताउनुभयो । 
पार्टीमा ल्याएकालाई पनि यथोचित जिम्मेवारी दिनुपर्ने र पूर्वाग्रहरहित व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्यापछ्याप्ती भेटिने उहाँले बताउनुभयो । जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमाले बलियो पार्टी बन्न नसक्ने उहाँको धारणा छ । 
जनताले गरेको विश्वासलाई सुरक्षित राख्न सक्नुपर्ने उपमहासचिव गुरुङले बताउनुभयो । 
‘गएको स्थानीय तहको चुनावमा ७५३ पालिकामध्ये ८२ वटामा हामीभित्रकै आन्तरिक विवादको कारणले हार्यौँ, हाम्रो उम्मेदवारलाई हाम्रै साथीहरूले असहयोग गरेको कारणले, आफूले टिकट नपाउने बित्तिकै कोही कांग्रेसतिर लागिदिए, कोही कांग्रेसलाई पैसा हाल्न थाले, अहिले हाम्रो २०६ सिट छ, ८२ थपिएको भए २८८ हुन्थ्यो, कांग्रेस र माओवादीको सिट घट्थ्यो, हामी पहिलो पार्टी बन्थ्यौँ’, उहाँले भन्नुभयो । 
स्थानीय तहको निर्वाचनकै कारणले सङ्घको निर्वाचनमा पनि एमालेले लक्ष्यअनुसार सफलता प्राप्त गर्न नसकेको उहाँले सुनाउनुभयो । पार्टीभित्र सबैले सहयोग गरेको भए एमालेले एक सय सिटमा चुनाव जित्ने उहाँले बताउनुभयो ।

सामाजिक सञ्जाल नियमन र नियन्त्रण आवश्यक 


कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुने प्रवृत्ति निक्कै खतरनाक भएको बताउनुभयो ।   
प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनुभएका गौतमले सामाजिक सञ्जालमा लेखेको कुराको कसैले पनि जिम्मा लिनु नपर्ने स्थिति बनेको बताउनुभयो । पत्रकारिता क्षेत्रको लागि पनि यो विषय निक्कै चुनौतीपूर्ण भएको बताउनुभयो । 
सामाजिक सञ्चालनमा आएको विकृति नेपालको लागि मात्र होइन, विश्वको लागि नै चुनौती बनिरहेको नेता गौतमले बताउनुभयो । त्यसैले यसलाई नियमन र नियन्त्रण गर्नुपर्ने उहाँको धारणा छ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यस अर्थमा सही भएको उहाँले बताउनुभयो । 
सामाजिक सञ्जाललाई स्वच्छ राजनीतिक बहसको थलो बनाउनुपर्ने उहाँको धारणा छ । सामाजिक सञ्जालमा कुनै पनि विषयमा आफ्नो धारणा राख्ने गरेको नपाइएको उहाँको भनाइ छ । अहिले सामाजिक सञ्जाल फोटा राख्ने र गाली गर्ने थलो मात्रै भएका उहाँले बताउनुभयो । 
राजनीतिलाई स्वच्छ र मर्यादित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक विषयमा खुल्ला बहस गर्नुपर्ने नेता गौतमको धारणा छ । ‘राजनीति देशको मूल नीति हो, राजनीति बिनाको जीवन परिकल्पना गर्न सकिँदैन, विचार विनाको स्वतन्त्रताले कुनै अर्थ राख्दैन’, उहाँले भन्नुभयो ।
इन्चार्ज गौतमले नेपाली पत्रकारितामा अहिले नलेख्ने पत्रकारहरूको भिड बढी भएको बताउनुभयो । यस्तो अवस्थामा प्रेस चौतारी आबद्ध पत्रकारहरूले आफ्नो भूमिकालाई थप बढाउनुपर्ने पनि उहाँको सुझाव छ ।