detail-img

पञ्चायत र राजतन्त्रसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनेहरू अपराधी हुन्ः महासचिव पोखरेल

२३ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान बाहिर केही पनि र कोही पनि जान नसक्ने बताउनुभएको छ । 
शनिबार पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिद्वारा ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले यति बेला देशको संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति लागेका बताउनुभयो । 
पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको उहाँको धारणा छ । 
राजावादीले संसद् भवन र पेट्रोल भण्डारण स्थल तथा अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लगाउने खालका आतङ्कित गतिविधि गरेका हुँदा यो आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा महासचिव पोखरेलले सुनाउनुभयो । ‘काठमाडौंमा प्रदर्शनको नाममा जुन हरकत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापको रूपमा भएका छन्’, उहाँले भन्नुभयो । 
सभाको नाममा आतङ्क मच्चाउन भिडलाई निर्देशित गर्ने काम राजावादीले गरेको बताउँदै यो घटनामा पूर्वराजा ज्ञानेन्द्र उम्कन नसक्ने महासचिव पोखरेलको धारणा छ । नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर आन्दोलनको नाइके बनाउने पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गतेको घटनाको सबै जिम्मा लिनुपर्ने उहाँको धारणा छ । ‘१५ गतेका दिन नेपालको लोकतान्त्रिक आन्दोलनको लागि कालो दिन हो, यो घटनामा संलग्नलाई दण्ड सजाय हुनुपर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । 
समाजमा असल कुरा स्थापनाको लागि असललाई असल र खराबलाई खराब भन्न सक्नुपर्ने उहाँको भनाइ छ । पञ्चायतको समयमा नेपाली जनताले पेटभरि खान नपाएको स्मरण गराउँदै महासचिव पोखरेलले अहिले पनि त्यो व्यवस्था ठिक र अहिलेको व्यवस्था गलत भन्ने भ्रम फिँजाउँदा पनि त्यसलाई चिर्न नसक्नु विडम्बनाको कुरा भएको बताउनुभयो । 
पञ्चायतमा ४९ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उहाँले स्मरण गराउनुभयो । ‘अहिले विश्व बैङ्कको रिपोर्ट अनुसार दक्षिण एसियामा सबैभन्दा बढी खान लाउन पुग्ने जनसङ्ख्या नेपालको हो, परिवर्तन यति धेरै भएको छ, खालि केही भएन भनेको छ, अनेक हल्ला गरेको छ’, उहाँले भन्नुभयो । 
सचेत नेपालीले सत्य र तथ्यको आधारमा बहस गर्नुपर्ने धारणा राख्दै महासचिव पोखरेलले भन्नुभयो–  ५२ वर्षको औसत आयु बढेर ७२ वर्ष पुगेको छ, बाल र मातृ मृत्युदर अति न्यून भएको छ, साक्षरताको स्थितिमा यस बीचमा व्यापक सुधार भएको छ, असमानताको खाडल पुरिँदै गएको छ, आर्थिक वृद्धिदर बढेको छ, विकासका कामले छलाङ मारेको छ, केही भएन भन्नेलाई यी तथ्यमा टेकेर जवाफ दिनुपर्छ । 
उहाँले मनोगत प्रचार गर्नेहरूले मनोगत प्रचार गरिरहँदा पनि हामीले त्यसलाई चिर्न नसकिरहेको औल्याउनुभयो ।  
पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनेहरू अपराधी भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्न सक्नु पर्दछ । 
सङ्घीयताले के दियो भन्नेलाई प्रदेश र स्थानीय तहले बनाएका सडक मात्रै हेर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘तथ्यमा प्रवेश गरेर कुरा गरौँ, हामीले यति ठुलो छलाङ मारेका छौँ’, महासचिव पोखरेलले भन्नुभयो । 
भ्रममा बाँचेको समाजले प्रगति गर्न नसक्ने बताउँदै उहाँले समाजलाई भ्रमबाट चिर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालबाट केबल भ्रमको खेती मात्र गरिएको उहाँको भनाइ छ । 
राज्यले लगानी गरेको ठाउँले उचित प्रतिफल दिनुपर्छ भनेर प्रधानमन्त्रीले बोल्दा शिक्षकलाई अपमान गरियो भनेर प्रचार गरिएको महासचिव पोखरेलले सुनाउनुभयो । शिक्षकहरूले हामीलाई सेवा सुविधा देऊ, हामी परिणाम दिने गरी काम गर्छौं भन्न सक्नुपर्ने उहाँको धारणा छ । ‘परिणामको बारेमा छलफल, बहस नै नगर्ने, तर सेवा सुविधा मात्र खोज्ने कुरा उचित हुँदैन’, उहाँले भन्नुभयो ।