२५ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायनको दर बढेको बताउनुभएको छ ।
सोमबार युवा साहित्यिक सम्मेलन–२०२५ छनोट चरण अन्तर्गत खुल्ला वक्तृृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जसले सबैभन्दा बढी रोजगारी दिन्थ्यो त्यही क्षेत्रमा नयाँ पढेलेखेका युवाको ध्यान नजाँदा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापनको चुनौती उत्पादन भएको छ, त्यसको कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनुको परिणाम होे ।
मुलुकको जे विशेषता छ त्यो भन्दा बाहिर गएर रोजगारी सिर्जना गर्न नसकिने बताउँदै उहाँले परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले सबैभन्दा धेरै काम गर्ने क्षमता भएको युवा समूह भएको देश नेपाल भएकाले यो नेपालको लागि ठुलो अवसर भएको उहाँको धारणा छ । तर काम गर्न सक्ने उमेरका युवा देशमा नबसेर विदेशमा जाने कुरा विडम्बनापूर्ण भएको उहाँले बताउनुभयो । ‘देश कसरी बन्दछ, र कसरी बनाउने भन्ने अबको हाम्रो छलफलको विषय बन्ने गर्नुपर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
युरोप, अमेरिका र अरबमा भएको विकासलाई हेरेर नेपालमा रातारात त्यस्तो विकास खोज्ने र नपाउँदा युवा निराश हुने गरेका उहाँको भनाइ छ । नेपालमा राजनीतिक अस्थिरता हुँदा राजनीतिक दलहरूले काम गर्ने अवसर नै नपाएको कारण देश सोचे जस्तो विकासको गतिमा अघि नबढेको महासचिव पोखरेलको धारणा छ ।
नेपालका राजनीतिक दलले केही गरेनन् भनि निर्माण गर्न खोजिएको भाष्य नै गलत भएको धारणा राख्दै उहाँले नेपालका राजनीतिक दलले २०७२ सालको संविधान जारी भएपछि मात्र अलिकति काम गर्ने मौका पाएको बताउनुभयो ।
यस अवधिमा देशको विकासले निक्कै गति लिएको उदाहरण सुनाउँदै महासचिव पोखरेलले राजाको शासन राम्रो थियो भन्नेहरूले राजाको शासनकाल र गणतन्त्र आएपछि भएको विकासलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।
आज समय बदलिएको र जोसँग ज्ञान, सिप र व्यवस्थापकीय क्षमता छ उही मानिस सबैभन्दा बढी धनी हुने अवस्था रहेको बताउँदै उहाँले अब धन हुने भन्दा ज्ञान, सिप र जाँगर हुने मानिस धनी हुने धारणा राख्नुभयो ।
अभाव र सङ्कटमा भएकाले नेपालले मेहनत गर्ने क्षमता राख्ने उहाँले बताउनुभयो । अविकसित र अल्पविकसित मुलुकमा क्षमता भएका मानिसलाई अवसर नै अवसर भएको पनि उहाँले स्मरण गराउनुभयो ।
यति बेला राजनीतिक अस्थिरता र सामाजिक अराजकता नेपाली समाजको चुनौती बनिरहेको र जो सबैभन्दा अराजक छ, उसप्रतिको आकर्षण बढेको भन्दै उहाँले यसले समाजलाई अधोगतिमा लैजाने स्पष्ट पार्नुभयो ।
नेपालको भविष्यको कुरा गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा राखेर ‘अराजकता लामो समयसम्म टिक्न सक्दैन, हाम्रो विशेषतामा टेकेर हाम्रो समाज निर्माणको यात्रालाई अगाडि बढाउनु पर्दछ’, उहाँले भन्नुभयो ।