detail-img

बैशाख ११ गते युवा–मार्चको विशेष कार्यक्रम  

२८ चैत (२०८१), काठमाडौं । बैशाख ११ गते सामन्ती निरङ्कुशतालाई पराजित गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको सर्वाधिक महत्वको दिनका रूपमा नेकपा (एमाले)ले आगामी २०८२ बैशाख ११ गते विशेष कार्यक्रम आयोजना गरी लोकतन्त्र दिवस मनाउने भएको छ । 
उक्त दिन राजधानीमा हजारौं युवाको सहभागितामा विशाल युवा–मार्चको आयोजना गरी ‘डेमोक्रेसी सेलिब्रेशन’ गरिने भएको छ । युवा–मार्चमा देशभरका सबै वडाबाट ४० बर्षमुनिका युवाहरूको प्रतिनिधित्व गराउने योजना बनाइएको छ ।
‘लोकतान्त्रिक गणतन्त्र युवाहरूको भविष्य हो’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको युवा–मार्चबाट हाल देखा परिरहेका गणतन्त्र विरूद्धका प्रतिगामी/प्रतिगमनकारी हर्कतहरूको पनि अन्त्य हुने विश्वास गरिएको छ । 
सिङ्गो देशको युवापङ्ती युवा–मार्चमा सहभागी भएर ‘नेकपा (एमाले) युवाका साथमा समृद्धि यात्रामा’ भन्ने सन्देश पनि दिने छन् ।  
विगत बर्षहरूमा जस्तै नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस (बैशाख ९)मा पार्टीले आयोजना गर्ने कार्यक्रम र बैशाख ११ गते राजधानीमा गरिने युवा–मार्चको बारेमा जानकारी गराउन आज आयोजित भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले उपरोक्त कार्यक्रमको तयारीमा जुट्न प्रदेश तथा जिल्ला कमिटीहरूलाई निर्देशन दिनुभयो । 
पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटीका सदस्यहरू तथा प्रदेश र जिल्ला अध्यक्षहरूको भर्चुअल उपस्थिति रहेको बैठकमा महासचिव पोखरेलले पार्टी स्थापना दिवसमा केन्द्रमा गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै जिल्ला कमिटीहरूलाई स्थानीय तहमा रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो । 
उहाँले बैशाख ११ गते राजधानीमा हुने युवा–मार्चमा सबै पालिकाका सबै वडाबाट युवाहरूको सहभागिता गराउने काममा विशेषगरी जिल्ला कमिटीहरू तयारीमा लाग्न निर्देशन दिनुभयो । युवा–मार्चमा स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिहरूलाई सहभागी गराइने भएको छ । कार्यक्रमलाई विशेष अभियानका रूपमा सम्पन्न गर्ने योजना रहेको जानकारी गराउँदै महासचिव पोखरेलले अधिकतम सहभागिताको योजना बनाउन निर्देशन दिनुभयो ।  
पार्टी स्थापना दिवसमा केन्द्रीय कार्यालयले आयोजना गर्ने कार्यक्रममा नेपालको राजनीति परिवर्तनमा कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदानको चर्चा÷परिचर्चा गरिनुका साथै नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुहुने महानुभावलाई विगतमा जस्तै ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गरिने कार्यक्रम रहेको जानकारी महासचिव पोखरेलले गराउनुभयो ।  
महासचिव पोखरेलले नेपालको राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक परिवर्तनले पनि फड्को मारेको कुरा तथ्याङ्कबाटै प्रस्ट हुने भए पनि त्यसबारेमा जनसचेतनामार्फत जनतालाई सुसूचित गराउने काममा कमी रहेकोतर्फ सिङ्गो पार्टी कमिटीको ध्यानाकर्षण पनि गराउनुभयो ।
देशमा केही भएन भनेर भ्रम सिर्जना गर्नेहरूलाई तथ्यहरूबाटै जवाफ दिनुपर्ने आवश्यकता रहेको भन्दै महासचिव पोखरेलले जनजीवनमा आएको स्तरोन्नतिका बारेमा नागरिकलाई बताउन पार्टीपङ्तीलाई आग्रह गर्नुभयो । 
निरङ्कुश पञ्चायती व्यवस्थाको समय र २०४६ पछि आएको परिवर्तनका बारेमा तुलनात्मक समीक्षा गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– पञ्चायती कालमा पौने तीन  अर्बको रहेको अर्थतन्त्र अहिले ५७ अर्बभन्दा माथि रहेको, प्रतिव्यक्ति आम्दानी २०० डलर भन्दा कम रहेकोमा त्यो अहिले बढेर १४०० पुगेको, धनी र गरिबबीचको आयमा रहेको असमानता २३ गुनाबाट आठ गुनामा झरेको, उपभोगको असमानता सात प्रतिशतमा झरेको, पञ्चायतकालमा ४४ प्रतिशत जनतामा सीमित रहेको खानेपानी वितरण व्यवस्था अहिले ९५ प्रतिशतमा पुगेको, विद्युत उत्पादन २५० मेगावाटबाट अहिले ३४ सय मेगावाटमा पुगेको र विद्युत उपभोग ८ प्रतिशतबाट ९९ प्रतिशत घरमा पुरयाइएको, सडक ८ हजार किलोमिटरबाट एकलाख १० हजार किलोमिटर पुगेको छ । 
जनतालाई उपलब्ध गराइएको सेवासुविधाको समष्टिगत प्रभावका कारण पञ्चायती शासनकालमा ५४ बर्ष रहेको नेपालीको औसत आयु अहिले बढेर ७२ बर्ष पुगेको तथ्याङ्क महासचिव पोखरेलले सुनाउनुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै शिक्षामा लैङ्गिक असमानता अन्त्य भएको, राजनीतिमा महिला सहभागिता ४० प्रतिशतभन्दा माथि रहेको जानकारी गराउनुभयो ।