२४ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तथा विख्यात प्रगतिवादी साहित्यकार प्रदीप नेपालको निधन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।
महासचिव शंकर पोखरेलले आज शोक वक्तव्य जारी गर्नुभई नेता नेपालको असामयिक निधनबाट नेकपा (एमाले) अत्यन्त दुःखित भएको जनाउनुभएको छ ।
महासचिव पोखरेलले वक्तव्यमार्फत् भन्नुभएको छ– सिङ्गो पार्टीका तर्फबाट कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
नेता नेपालको हिजो वैशाख २३ गते निधन भएको हो ।
‘२०१० साल पुस २८ मा भोजपुर गोगनेमा जन्मिनुभएका कमरेड प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दैगर्दा स्वतःस्फूर्त रूपमा विद्यार्थी आन्दोलनमा सहभागी हुनुभयो, हिरासत र जेलजीवनको सामना गर्नुभयो । २०२९ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका (सदस्यता नं ३११) उहाँ बहुचर्चित नख्खु जेल विद्रोहबाट जेलबाट बाहिर आउनु भएपछि को–अर्डिनेशन केन्द्रको सङ्गठन विस्तारमा अत्यन्त सक्रिय हुनुभयो । को.के. र मुक्तिमोर्चाको एकताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड प्रदीप नेपाल तत्कालीन नेकपा (माले) र नेकपा (एमाले) का संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।’
उहाँले झण्डै १४ वर्ष लामो भूमिगत जीवनमा उहाँले लुम्बिनी, मेची, प्रवास र काठमाडांैंको पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
अस्वस्थताका कारण सक्रिय सङ्गठनात्मक जीवनबाट विश्राम लिनुअघि उहाँ नेकपा (एमाले) स्थायी कमिटीको सदस्य र पार्टी प्रवक्ता हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म पार्टीको प्रचार विभाग प्रमुख एवं पार्टीको मुखपत्र ‘नवयुग’ को प्रधान सम्पादकका रूपमा कुशल भूमिका खेल्नुभएको थियो ।
‘युवा पुस्तामाझ एकदमै लोकप्रिय कमरेड प्रदीप नेपाल धेरै कार्यकर्ताहरूका निम्ति ऊर्जा र प्रेरणाको स्रोत हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण, लोकतान्त्रिक र लोकप्रिय धारको अगुवाका रुपमा स्थापित गर्न र जनताको बहुदलीय जनवादको विकास र कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो,’ शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा कमरेड प्रदीप नेपालको व्यक्तित्वका महत्वपूर्ण विशेषताहरू थिए । मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रूपमा उहाँले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका विचार र आदर्शलाई स्थापित गर्न र प्राविधिक शिक्षाको विकास गर्न समेत उल्लेखनीय भूमिका खेल्नुभएको थियो ।
पटक–पटक संसद सदस्यका रूपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोत लगायत विभिन्न मन्त्रालयको समेत कुशल नेतृत्व गर्नुभएको थियो ।
सञ्जय थापाको नाममा सिर्जनात्मक लेखनमा संलग्न उहाँ नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनका अत्यन्त लोकप्रिय र प्रेरणादायी स्रष्टा हुनुहुन्थ्यो । उहाँका दर्जनौं उपन्यास, कथा र अन्य विधाका सिर्जनाहरूले समाजमा अग्रगामी चेतनाको निर्माणमा उल्लेखनीय योगदान दिएका छन् ।
कमरेड प्रदीप नेपालको निधन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपूरणीय क्षति हो । उहाँका असल गुणहरु, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्पका साथ पार्टी पुनः एकपटक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
शोक वक्तव्य