detail-img

उम्मेदवारको नाम सिफारिश भदौ २२ भित्र

काठमाडौैं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन निर्देशन गर्ने भएको छ ।  
केन्द्रीय कमिटीको हिजो २०७९ भदौ ११ गते सम्पन्न चौथो बैठकले उम्मेदवार छनौटको प्रक्रिया र मापदण्ड निर्धारण गर्नुका साथै उम्मेदवारको नाम पठाउन मिति तोकेको हो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिश तल्ला कमिटीबाट हुने र अन्तिम टुङ्गो केन्द्रबाट लगाइने छ ।   
उम्मेदवारको सिफारिस प्रक्रिया
जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने । प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस पनि सोहीबमोजिम सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिस माथिको अन्तिम निर्णय केन्द्रले गर्ने छ ।
    
प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तिमा एकजना महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ । (स्मरणीय छः सिफारिस सिफारिसमात्र हो, अन्तिम निर्णय होइन । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न मिल्दैन ।)
समानुुपातिकतर्फको बन्दसूचिका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशीता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने । उक्त सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । स्मरणीय छ, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयमा पुनर्विचार गर्न सक्छ  । 

उम्मेदवार सिफारिस गर्ने अन्तिम मिति २०७९ भदौ २२ गते हुनेछ । तसर्थ, सम्बन्धित कमिटीहरुले सोहीअनुसार सिफारिस प्रक्रिया आरम्भ गरिसक्नुपर्नेछ ।
ख)     उम्मेदवार छनोटको मापदण्ड निम्नानुसार हुनेछः
–पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता,
–लोकप्रियता र विजयको सुनिश्चितता,
–पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान,
–सन्तुलन र समावेशिता,
–निर्वाचन कानुनबमोजिमको योग्यता ।
ग)    व्यक्तिगत आकाङ्क्षा, उम्मेदवारको सिफारिस र अवसरको न्यायोचित वितरण
–‘समानुपातिक मत’ भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने मत हो । यसमा सिङ्गो पार्टीपङ्तिको योगदान रहेको हुन्छ । समानुपातिक मत ‘सामूूहिक कमाई’ हो । तसर्थ, समानुपातिकतर्फको बन्दसूचि तयार गर्दा ‘सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने’ भन्ने पक्षलाई ध्यान दिइनुपर्छ । ‘दामाशाही वितरण’ भनेको प्राप्त अवसरको न्योचित वितरण हो । त्यसैले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी उक्त अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकहरुलाई आमरुपमा दोहर्याउनु हुन्न । यस्ता क्षेत्रमा ‘पालैपालो’ वितरण प्रणाली लागु गरिनुपर्छ ।
स्थानीय तह वा कुनै पनि तहका बहालवाला जनप्रतिनिधिलाई राजीनामा  गराएर प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार सिफारिस आमरुपमा गर्नहुन्न । यहाँ पनि ‘अवसरको न्यायोचित वितरण’को पक्ष आकर्षित हुन्छ । 
पछिल्लोपटक भएका कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारहरु कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न । तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखी अन्य पार्टीबाट प्रवेश गराइएकाहरुको हकमा विशेष निर्णय लिनु उपयुक्त हुन्छ । 
प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा ‘कतिपटक उम्मेदवार’ भन्ने तर्क व्यहारिक हुन्न । त्यहाँ पार्टीको जनाधारमात्र होइन निर्वाचन दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई समेत ख्याल गरिन्छ । समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमा जस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन् । प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ । त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराका अतिरिक्त ‘जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएका’लाई नै उम्मेदवार बनाइन्छ । यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो । 
त्यसैले पार्टीले नेता\कार्यकर्ता र आम समर्थक\शुभेच्छुकहरुमा रहेको जन–अनुमोदित हुन प्रतिस्पर्धामा सामेल हुने चाहनालाई स्वभाविक मान्दछ र प्रोत्साहित पनि गर्नुपर्छ । तर केहीमा रहेको ‘ममात्र जित्छु, मैमात्र योग्य’को मनोका“क्षा अहिलेको चुनौतिपूर्ण समयमा उपयुक्त होइन । तसर्थ, हामी सबैले सबैभन्दा पहिले प्रत्यक्ष निर्वाचनमा ‘मभन्दा बढी लोकप्रिय’ कमरेड को हो भन्ने खोजी गर्नु आवश्यक छ । अपरिहार्यता होइन, अपवाद भने सबै स्थानमा हुन्छ ।
 घ)    निर्वाचन आधारित कमिटी सञ्जाल र योजना
आसन्न निर्वाचनलाई ध्यानमा राखी युवा कार्यकर्ताकेन्द्रित निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने । यस कमिटीमा खासगरी अनेरास्ववियु, राष्ट्रिय युवासंघ, खेलकूद महासंघ र जिफण्ट, भुपु सैनिक प्रहरी संगठनका युवाहरु रहेको १५ देखि २५ जनासम्मको कमिटी सञ्जाल निर्माण गर्ने । स्थान र सक्रियता हेरी अन्य जनसंगठनका प्रतिनिधिहरुलाई पनि यसमा सामेल गर्ने ।
पार्टी केन्द्रले विशेष परिभाषित जिम्मेवारी तोकेकोमा बाहेक विभागीय र जनसंगठन सञ्चालनको जिम्मेवारीमा रहेका कमरेडहरु सम्बन्धित भूगोलमै निर्वाचन परिचालनमा केन्द्रित हुने । 
स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी बाँडी परिचालन गर्ने नीति अघि सारिएको थियो । त्यसलाई अझै प्रभावकारी बनाउने । पार्टीलाई बहुमतमा पु¥याउन आवश्यक पर्ने ६ प्रतिशत मत बृद्धिका लागि अब हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति आमरुपमा अघि बढाउने निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिएको छ ।