detail-img

‘निर्वाचन मुलुकलाई सङ्कटको चक्रब्यूहबाट मुक्त गर्ने निर्णायक अवसर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले मङ्सिर ४ गते हुन गइरहेको आमनिर्वाचन सङ्कटको चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको बताउनुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का सन्दर्भमा जारी पार्टीको घोषणापत्रमा अध्यक्ष ओलीले आमजनसमुदायमा अपिल गर्नुहुँर्दै मुलुकको गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा देशलाई अग्रसर गराउने महत्वपूर्ण मौकाको रुपमा निर्वाचन रहेको बताउनुभएको छ । 
अध्यक्ष ओलीले घोषणापत्रको अपिलमा भन्नुभएको छ, “राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नुछ । यसर्थ, षड्यन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनर्स्थापित गर्ने यो मूल्यवान मौका हो ।”
उहाँले भन्नुभएको छ, “आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय यही हो  । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनता समक्ष हार्दिक अनुरोध गर्दछौँ ।”
अध्यक्ष ओलीले जनादेशप्राप्त सरकारलाई परमादेशबाट विस्थापन गर्नुको उद्देश्य सरकार परिवर्तन मात्र नभएको गठबन्धन सरकारको १६ महिनाका गतिविधिले प्रस्ट पारिसकेको अपिलमा बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “यो त स्वार्थपरक देशी विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धारनै उल्टो दिशामा फर्काउनु थियो अर्थात् स्पष्टतः प्रतिगमन थियो ।”
“सबल बन्दै गएको राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुर्याउँदै बाह्य चलखेलका लागि ढोका खोल्न, राजनीतिक स्थायित्वलाई समाप्त पार्दै मुलुकलाई अनन्त अस्थिरतातिर धकेल्न र सेटिङका माध्यमबाट सिङ्गो राज्यसंयन्त्रलाई सीमित नेताको स्वार्थपूर्तिको माध्यम बनाउन यी सबै प्रपञ्च रचिएका थिए,” अध्यक्ष ओलीले अपिलमा भन्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “त्यस घटनाका नकारात्मक असरबाट आज मुलुक आक्रान्त छ । हरेक दृष्टिले मुलुक सङ्कटको सङ्घारमा छ । लोकतन्त्रको धज्जी उडाइएको छ । अग्रगतिको यात्रालाई उल्ट्याउने काम गरिएको छ । विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको छ ।” 
अध्यक्ष ओलीले पुरानो जनादेशको बनावट भत्काइएको पृष्ठभूमिमा, प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने अवस्थालाई बाध्यात्मक परिस्थितिको उपज भएको स्पष्ट पार्नुभएको छ ।
अपिलमा भनिएको छ, “प्राप्त जनादेश खण्डित भइसकेपछि पुनःसार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवं लोकतान्त्रिक विधि थियो । तर त्यसो हुन दिइएन ।”
उहाँले अदालतको चरम दुरूपयोग र संविधानको अपव्याख्या गर्दै सरकार बनाउने जनताको सार्वभौम अधिकार परमादेशले कुण्ठित पारेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभएको छ, “शक्ति पृथकीकरणको सिद्धान्त कुल्चिइयो । कानुन र सरकार निर्माण एवं परिवर्तन गर्ने संसदको अधिकारलाई कुल्चिदै अदालतका परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने अलोकतान्त्रिक एवं स्वेच्छाचारी नजिर स्थापित गरियो ।” 
जनादेशलाई कुल्चदै परमादेशले सरकार सञ्चालन गर्ने अलोकतान्त्रिक तरिकाको पर्दाफास गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “जनादेश विस्थापित हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भयो । लोकतान्त्रिक प्रणालीको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको ह्विपसमेत नलाग्ने निर्दलीय अभ्यास सुरु गरियो ।” 
उहाँले ताजा जनादेशका लागि जनताका बीचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवं असंसदीय तरिकाबाट परमादेश मार्फत सरकार बनाउनुलाई ‘अग्रगमन’ को जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरिएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीतिविहीन र सत्तास्वार्थको बन्दी बनाइयो ।”
अध्यक्ष ओलीले नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैँभरि मुख्य बाधकका रूपमा रहँदै आएको बताउनुभएको छ ।
उहाँले आफू नेतृत्वको सरकारका समयमा अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रको चलखेलजस्ता अग्रगतिका बाधाहरू निकै हदसम्म नियन्त्रण भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले अपिलमा भन्नुभएको छ, “राजनीतिक स्थायित्व हासिल भएको थियो । प्रणालीगत स्थिरता कायम भएको थियो । राष्ट्रले आफ्नो सार्वभौम अधिकार प्रयोगको क्षमतालाई बलियो बनाउँदै लगेको थियो । राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएका थिए ।” 
उहाँले सधैँभरि अस्थिरता, अस्तव्यस्तता र अनिश्चयताभित्रै आफ्ना स्वार्थपूर्ति गर्न बानी परेकाहरूका लागि यस्तो स्थायित्व स्वीकार्य हुन नसकेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “त्यसैले सुरुमा सरकार बन्नै नदिने र सरकार गठनभएलगत्तै यसलाई असफल बनाउने प्रयास सुरु गरिए । तत्कालीन नेकपा भित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए ।”
अपिलमा भनिएको छ, “उनीहरूका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो । राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो । र, आन्दोलनका सहयात्रीभन्दा दक्षिणपन्थी शक्ति बढी प्रिय बन्न पुगे ।” 
उहाँले कोभिड महामारीबाट नागरिकको जीवन र जीविका रक्षाका लागि सरकारले कठोर प्रयत्न गरिरहेको बेला यिनै पात्रहरूको योजनामा सरकार ढाल्ने प्रपञ्च गरिएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए ।” 
अपिलमा अध्यक्ष ओलीले न्याय, समानता र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न अविचलित निष्ठासाथ लागिरहने दृढ सङ्कल्प समेत गर्नुभएको छ ।
उहाँले राष्ट्रियहित, स्वाधीनता र स्वाभिमानको रक्षा कि राष्ट्रिय हितमा आघात ? मा हाम्रो मत भन्ने विषयमा स्पष्ट हुन आवश्यक रहेको बताउनुभएको छ । 
सार्वभौम मतदाताको एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नुअघि यी प्रश्नहरूमा गम्भीरतापूर्वक विचार गर्न अध्यक्ष ओलीले मतदातामा आग्रह गर्नुभएको छ ।
उहाँले अपिलमा भन्नुभएको छ, “राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्थिरता र किचलो ? मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि राज्य संयन्त्रको दुरूपयोग ? 
“राष्ट्रिय पूँजी निर्माण, आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोहन, परनिर्भरता र बर्बादी ? समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्ति कि सीमित नेताहरूको सत्ता स्वार्थको परिपूर्ति ?” अपिलमा उल्लेख गरिएको छ । 
स्वार्थमा आधारित गठबन्धन कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माण ? गर्ने भन्ने प्रश्न यतिबेला मतदाताको बीचमा गम्भीर बनेर उभिएको अपिलमा उल्लेख छ । 
अपिलमा अध्यक्ष ओलीले आमनिर्वाचन २०७४ मा नेकपा (एमाले) को नेतृत्वमा भएको वाम–लोकतान्त्रिक तालमेललाई मतदाताले व्यक्त गर्नुभएको भरोसाको सुखद स्मरण गर्नुभएको छ ।
राजनीतिक स्थायित्व र समृद्धिको अपिललाई विश्वास गरेर शासन सञ्चालनमा प्राप्त जनादेशप्रति आभार व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले अपिलमा तत्कालीन राजनीतिक घटनाक्रमलाई सविस्तार व्याख्या गर्नुभएको छ । 
अपिलमा भनिएको छ, “निर्वाचनपछि उक्त तालमेल पार्टी एकीकरणका तहमा विकसित भयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । राजनीतिक स्थिरताको आधार निर्माण भयो । तपाईंहरूको विश्वासलाई शिरमा राखेर हामीले साढे तीन वर्ष सरकार सञ्चालन गर्यौँ ।”
उहाँले कोभिड महामारीको चुनौतीका बीच पनि आफू नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको बताउनुभएको छ ।
अपिलमा भनिएको छ, “छोटो अवधिमै हाम्रो नेतृत्वमा संविधानको सफल कार्यान्वयन गरियो । प्रदेश र स्थानीय सरकार गतिशील बने । संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको यो उदाहरण विश्वमै नौलो हो ।”
“यसै अवधिमा पृथकतावाद र हिंसाका चुनौती समाप्त पारिए । सिके राउत र नेकपा (विप्लव) समूहलाई राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गरियो । मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त भयो”, अपिलमा उल्लेख छ ।
उहाँले संविधानप्रति असन्तुष्ट दलहरूसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनु यस अवधिका उल्लेख्य उपलब्धि हुन् भन्नुभएको छ ।
अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका नेपालका भू–भाग समेटेर नयाँ नक्सा प्रकाशन गरी अभूतपूर्व राष्ट्रिय सहमतिकासाथ संविधान संशोधन गरिएको अपिलमा चर्चा गर्नुभएको छ ।
अध्यक्ष ओलीले अपिलमा भन्नुभएको छ, “यी भू–भाग नेपाललाई फिर्ता गर्न कूटनीतिक संवाद सुरु गर्यौँ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यताबाट निर्देशित हुँदै नेपालले यस अवधिमा बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गर्यो । अन्तर्राष्ट्रियजगतमा नेपालको छवि विकासोन्मुख, लोकतान्त्रिक र प्रगतिशील राष्ट्रका रूपमा स्थापित हुँदै गयो ।”
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्य प्राप्त गर्न नीति र संरचनागत काम आफू नेतृत्वको सरकारबाट थालिएको बताउनुभएको छ ।
“दीर्घकालीन र रणनीतिक महत्त्वका पूर्वाधार निर्माण थालनी गरिए । भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको उदाहरणीय सफलता हासिल भयो । क्षतिग्रस्त लाखौँ निजी आवास, हजारौँ सांस्कृतिक सम्पदा, विद्यालय भवन र सरकारी कार्यालयको पुनर्निर्माण गरियो ।”
उहाँले अपिलमा भन्नुभएको छ, “राष्ट्रको गौरवपूर्ण इतिहासको स्वत्व जगाउँदै स्वाभिमान र आत्मविश्वासको जग बलियो बनाएर राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासन र विकासको सम्बन्धमा नयाँ दृष्टिकोण (भिजन) दिँदै युगान्तकारी नीति र कार्यहरू मार्फत देशमा नयाँ भविष्यसहितको विकासको नयाँ युगको प्रारम्भ गर्यौँ ।”
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा नेकपा (एमाले) ले नेपाली जनतामा सुखद भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बनाएको बताउनुभएको छ ।
यस निर्वाचनमा नेकपा (एमाले) ले मुख्य सङ्कल्पका रुपमा ‘राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन, स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ नारा अघि सारेको छ ।