detail-img

यातायातमा रेल, सडक, रोपवे एमालेको प्राथमिकतामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बन्द अवस्थामा रहेको हेटौंडा–काठमाडौं रोपवे सेवालाई पुनःसञ्चालन गर्ने लक्ष्य लिएको छ ।
तराईबाट काठमाडौं केन्द्रित मालसामानको ढुवानीका लागि बन्द अवस्थामा रहेको रोपवे सेवालाई पुनः सञ्चालनमा ल्याउनुका साथै देशका अन्य स्थानमा समेत सम्भाव्यता अध्ययन गरी मालबाहक रोपवे सेवा निर्माण तथा सञ्चालन गर्ने योजना एमालेको छ ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि जारी निर्वाचन घोषणापत्र २०७९ मा रोपवे पुनः सञ्चालनको योजना अघि सारिएको छ । 
विकास र समृद्धिको प्रस्थान विन्दुको रुपमा रहेको यातायात क्षेत्रको विकासलाई नेकपा (एमाले) ले प्रमुख प्राथमिकतामा राखेको छ । फलस्वरुप सडक, रेलमार्ग, विमानस्थल र जलमार्गका आधुनिक पूर्वाधार निर्माण र विस्तार गरी समग्र विकासलाई तीव्र गति दिँदै राष्ट्रिय भावना र एकतालाई सुदृढ गरिने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, “सडक सुरक्षाका उपयुक्त प्रबन्ध र विश्रामस्थल तथा आवश्यक सर्भिस सेन्टरसहित कम्तीमा दुईलेनका आधुनिक सडक निर्माण गरिनेछ ।”
सडकलाई वातावरणमैत्री बनाइनुका साथै नियमित रूपमा मर्मत सम्भारको व्यवस्थासहित सडकलाई खाल्डारहित र फोहोररहित बनाइने प्रतिबद्धता एमालेको घोषणापत्रमा छ ।
निर्माणाधीन राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सबै राजमार्ग र आर्थिक समृद्धिको केन्द्र जोड्ने सडकको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । पूर्व–पश्चिम राजमार्ग, रणनीतिक राजमार्ग, उत्तर–दक्षिणका कोरिडोर राजमार्गलाई विकास तथा विस्तार गर्ने कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिने जनाइएको छ ।
स्थानीय तहका वडा केन्द्रलाई पालिका केन्द्रसँग र पालिका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्ने सडकको निर्माणलाई तीव्र गतिमा अघि बढाइनेछ । त्यस्तै सबै स्थानीय तहका सदरमुकाम, वडा केन्द्र र विद्यालय, स्वास्थ्य संस्था, कृषिफर्म, उद्योग व्यवसायस्थल तथा मुख्य बजार केन्द्रसम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यलाई तीव्र गतिमा अघि बढाइने जनाइएको छ ।
ढुवानीलागत, यात्रा समय र सवारी साधनको क्षति कम गर्न सडकको दूरी छोट्याउने योजना एमालेको छ । घोषणापत्रमा भनिएको छ, “सडकलाई सिधा बनाइनेछ, आधुनिक सुरुङ र पुलहरू निर्माण गरिनेछ । ठूला सहरका मुख्य भागका सडकलाई हाईस्ट्रिटका रूपमा विकास गरिनेछ ।”
नेकपा (एमाले) ले यसपटक पनि रेल मार्ग निर्माणको योजनालाई प्राथमिकतासाथ घोषणापत्रमा राखेको छ । नेपालमा सुरुङ मार्गको युग सुरु गरेको एमालेले रेल मार्ग र पानीजहाज जस्ता विकास योजना अघि सारेको छ । घोषणापत्रमा उल्लेख गरिएअनुसार निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेल मार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ । निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ । बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने जनाइएको छ । रसुवागढी–काठमाडौँ रेलमार्ग र वीरगञ्ज–काठमाडौँ रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने समेत प्रतिबद्धतापत्रमा उल्लेख छ । काठमाडौं उपत्यकामा मेट्रोरेल, सबै महानगरहरूमा सहरी केवलकार एवं पडवेजस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने उल्लेख छ ।
छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइने योजना एमालेको छ । नेपालका प्रमुख नदी हुँदै गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जलयातायात सञ्चालन गरिने योजना घोषणापत्रमा प्राथमिकतासाथ राखिएको छ ।
एमालेले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन नीति लिने घोषणापत्रमा उल्लेख छ । प्रतिबद्धतापत्रमा भनिएको छ, “सहरी क्षेत्रमा ठुला विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । मोटर बाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गरिनेछ ।”
सम्भावित सवारी दुर्घटनास्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने योजना एमालेको छ । आवधिक रूपमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने र सवारी साधनको मेकानिकल टेस्ट गर्ने व्यवस्थालाई अनिवार्य गरिने उल्लेख छ ।
यातायात कम्पनीहरूले सार्वजनिक यातायात सञ्चालन गर्ने, यातायात समितिहरूले यातायात व्यवसायीको हकहितको संरक्षण र समन्वय गर्ने तथा यातायात व्यवस्थापन प्राधिकरणले समग्र यातायात व्यवस्थापनको सहजीकरण, नेतृत्व, अनुगमन एवं नियमन गर्ने गरी सार्वजनिक यातायात प्रणालीको विकास गरिने एमाले घोषणापत्रमा उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सञ्चालन गरिने जनाइएको छ । सवारी साधनको पार्किङ्गका लागि आधुनिक संरचना निर्माण गरिनेछ । यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरिने घोषणापत्रमा राखिएको छ ।
एमालेको घोषणापत्रअनुसार नेपालको हवाई उड्डयन क्षेत्रलाई अत्याधुनिक, प्रविधियुक्त र सुरक्षित बनाइनेछ । सञ्चालनमा रहेका विमानस्थलको निरन्तर सुधार र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गरिनेछ । नयाँ उडान गन्तव्यमा उडान विस्तार गरिनेछ ।
एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको छ । घोषणापत्रमा भनिएको छ, “सबै प्रदेशमा रहेका विमानस्थललाई स्तरोन्नति र विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनेछ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गरिनेछ । सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिनेछ ।”