detail-img

जनसंगठनसँग परराष्ट्र मामिलामा विषय केन्द्रित छलफल 

काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले  आज पार्टीका १२ वटा जनसंगठनसँग परराष्ट्र मामिला सम्बन्धमा विषय केन्द्रित छलफल गरेको छ ।
जनसंगठनहरूले परराष्ट्र मामिला सम्बन्धनमा गर्ने गतिविधि, कूटनीतिक सम्बन्ध विस्तार, वैदेशिक भ्रमणमा जाँदा पालना गर्नुपर्ने विषय, परराष्ट्र सम्बन्ध विस्तारलगायतलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ  भन्ने विषयमा केन्द्रित भएर छलफल गरिएको छ ।
आगामी दिनमा तालिमलगायतको व्यवस्था  हुनेबारे पनि परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफललाई सम्वोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले परराष्ट्रसँग सम्बन्धित गतिविधिलाई थप सहज बनाउन केन्द्रीय विभागसँग समन्वय गरेर अघि बढ्दा थप प्रभावकारी हुनेमा जोड दिनुभयो । महासचिव पोखरेलले भन्नुभयो– कूटनीतिक क्षेत्रमा गरिने भेटघाट, अन्तर्राष्ट्रिय सम्बन्ध, सेमिनार जस्ता कुरामा पनि विभागसँग समन्वय गरेर अघि बढ्दा त्यसको औचित्य र उपयुक्ततामा एकरूपता ल्याउन सहयोग पुग्छ ।
उहाँले आगामी दिनमा पनि  जनवर्गीय संगठनसँग समन्वय गरेर यस्ता छलफल गर्दा एकातिर पार्टीलाई थप प्रभावकारी बनाउन सकिने र अर्कोतर्फ विदेश र प्रवासमा रहेका जनसंगठन र शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको सम्बन्धनलाई थप नजिक बनाउन सकिनेमा जोड दिनुभयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख डाक्टर राजन भट्टराईले छलफलमा छुटेका जनवर्गीय संगठनलाई पनि समावेश गरेर आगामी दिनमा साझा कार्यक्रम गर्ने कुरामा ध्यान दिएर अघि बढ्नेमा जोड दिनुभयो ।
‘जनवर्गीय संगठनसँगको छलफललाई अझ घनीभूत गराउनुपर्छ’ उहाँले भन्नुभयो, ‘समन्वयकारी भूमिका खेल्दै अघि बढ्ने हो भने एकातिर जनशक्ति बलियो हुँदै जान्छ भने अर्कोतर्फ विदेश विभागले सञ्चालन गर्ने गतिविधि र जनसंगठनहरूले सञ्चालन गर्ने परराष्ट्रसम्बन्धनका गतिविधिमा एकरूपता ल्याउन सहयोग पुग्छ ।
छलफलमा सहभागी जनसंगठनका प्रतिनिधिहरूले परराष्ट्र मामिला विभागले सकारात्मक कामको सुरुवात गरेको भन्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा अघि बढाउन जोड दिएका थिए ।
सहभागी प्रतिनिधिहरूले जनसंगठन हेर्ने छुट्टै ‘डेस्क’ निर्माण गर्नुपर्ने विषयमा पनि जोड दिएका थिए । वैदेशिक मामिला विभागले विदेशमा जाँदा प्रस्तुत हुने विषयलाई समेटेर जानकारीमुलक सामग्री उत्पादनका लागि पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो । टुटेका अन्तर्राष्ट्रिय सम्बन्धन जोड्ने र सम्बन्धन फराकिलो बनाउने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, रिटर्नी फेडरेसन नेपाल, आदिवासी जनजाति महासंघ नेपाल, पेशागत महासंघ नेपाल, प्रेस चौतारी नेपाल, नेपाल बुद्धिजीवी परिषद्, नेपाल उद्योग तथा व्यवसाय महासंघ, मानव अधिकार एलाइन्सलगायतका जनसंगठनको सहभागिता रहेको थियो ।