detail-img

अध्यक्ष ओलीद्वारा अनेरास्ववियुको नयाँ नेतृत्वलाई बधाई

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा २०७९ फागुन ५ गते आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले कार्यकाल सफलताको शुभकामना दिनुभयो ।  
सो अवसरमा अध्यक्ष ओलीले अनेरास्ववियुको गौरवशाली इतिहासको चर्चा गर्दै आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक क्याम्पसहरूमा विजय प्राप्त गर्ने गरी तयारीमा लाग्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले अनेरास्ववियुको नयाँ नेतृत्व चयनमा भएको उच्चस्तरको प्रजातान्त्रिक अभ्यास र महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा सो कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।


सो अवसरमा महासचिव पोखरेलले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्दै अनेरास्ववियुले विगतमा राजनीतिक अधिकार र राजनीतिक प्रणाली परिवर्तनको आन्दोलनमा जसरी योगदान गर्यो अब समाज बदल्ने एजेण्डामा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले समाज बदल्नका लागि उत्पादन शक्तिमा बदलाव ल्याउनु आवश्यक रहेको र हाम्रो शिक्षा व्यवस्था उत्पादन शक्तिसँग मिल्दो नरहेकाले परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । 
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा समाजवादको आधार तयार गर्ने काममा पार्टी लागिरहेको वताउनुभयो । 
यही २०७९ फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन समिक बडालको अध्यक्षतामा १९९ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरी सम्पन्न भएको छ ।  
नयाँ कार्यसमितिको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाया र कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ । त्यसैगरी  सातजना सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित हुनुभएको छ ।