detail-img

एमाले उम्मेदवार सुहाङ फराकिलो मतान्तरका साथ इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

अध्यक्ष ओलीद्वारा सुहाङ र इलामेली जनतालाई बधाई !

१८ वैशाख (२०८१), इलाम । इलाम निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । 
उहाँले २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ भने  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । 
पार्टीका उम्मेदवार सुहाङ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएपछि अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई बधाई दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सुहाङ र इलामेली जनतालाई बधाई दिनुभएको छ । 
अध्यक्ष ओलीले लेख्नुभएको छ–
इलाममा सुहाङ, 
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ - कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नुभएको थियो - इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो - ५८३० मतान्तरले जीत भयो । 
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ,  आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ। 
फेरि बधाई सबै इलामेलीलाई !!
नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएका कारण इलाम–२ मा यही बैशाख १५ गते उपनिर्वाचन भएको थियो । 
नेपाली कांग्रेसका उम्मेदवार खड्कालाई ५ हजार ८३० को फराकिलो मतान्तरले पछाडि पार्दै सुहाङ विजयी हुनुभएको हो । उहाँलाई नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र परिवार दलले समर्थन जनाएका थिए । सुहाङ संविधान सभा अध्यक्ष स्व. नेम्वाङका छोरा हुनुहुन्छ ।

यसैगरी, अध्यक्ष ओलीले बझाङ–१ मा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जिल्ला कमिटीका अध्यक्ष दमन भण्डारी विजयी हुनुभएपछि नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारी र बझाङ–१ का जनतालाई पनि बधाई दिनुभएको थियो । बझाङ–१ मा सोमबार निर्वाचन परिणाम घोषणा भएको थियो ।