detail-img

कोशी प्रदेशः विभिन्न जिल्लामा वडास्तरीय बैठकबाट कार्ययोजना निर्माण

विराटनगर । नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा आज वडास्तरीय बैठकहरू सम्पन्न भएका छन् । 
बैठकमा आगामी कार्ययोजना निर्माण गरी पार्टीको साङ्गठानिक गतिविधि अघि बढाउने निर्णय गरिएको छ ।  
झापाका सबै पालिकाहरूमा वडास्तरका बैठकहरू सम्पन्न भई कार्ययोजनाहरू निर्माण गर्ने काम भएको नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयका सचिव छविलाल माझीले बताउनुभयो । 
त्यसैगरी संखुवासभा पाँचखपन नगरपालिका, मकालु गाउँपालिकामा पनि बिहीबार वडास्तरी बैठकहरू सम्पन्न भई कार्ययोजना निर्माण गरिएको नेकपा (एमाले) जिल्ला कमिटी संखुवासभाका अध्यक्ष खडग राईले जानकारी दिनुभयो ।
पाँचखपन नगरपालिकामा अभियानलाई सफल बनाउन केन्द्रीय सदस्य टीकाराम चेम्जोङ तथा जिल्लास्तरीय नेताहरू मुरारी खतिवडा, विपिन तामाङलगायत नेताहरू खटिनुभएको छ । 
त्यस्तै मकालु गाउँपालिकामा केन्द्रीय सदस्य पासाङ शेर्पा, पार्टी जिल्ला अध्यक्ष लगायतका नेताहरू खटिनुभएको छ । संखुवासभामा सिलिचोङ र चिचिला गाउँपालिका बाहेक सबै पालिकाहरूमा पालिकास्तरीय बैठकहरू सम्पन्न भइसकेको अध्यक्ष राईले जानकारी दिनुभयो । 
त्यसैगरी उदयपुरमा अनेमसङ्घ उदयपुरले जिल्लास्तरीय महिला भेला सम्पन्न गरेको छ भने जिल्लाका विभिन्न पालिकाहरूमा बिहीबार वडास्तरीय बैठकहरू सम्पन्न भएको पार्टी जिल्ला कमिटीले जनाएको छ । त्यस्तै खोटाङमा बिहीबार युवा सङ्घ नेपाल खोटाङको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
त्यस्तै जिल्लाका सबै पालिकास्तरीय बैठकहरू सम्पन्न भई विहीबारदेखि वडास्तरीय बैठकहरू सुरु भएको एमाले खोटाङ जिल्ला कमिटीका अध्यक्ष रामप्रसाद दङ्गालले जानकारी दिनुभयो । 
अभियान अन्तर्गत खोटाङमा जनसङ्गठनका वडास्तरीय सम्मेलनहरू बिहीबारदेखि नै सुरु भएका छन् । बिहीबार कतिपय पालिकाका वडाहरूमा सदस्यता नवीकरणको काम सम्पन्न भएको बताइएको छ ।
त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकामा मिसन ग्रासरुट र ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिकास्तरीय महिला भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पार्टीको केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मी भण्डारीले अभियानलाई सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।