detail-img

नेकपा (एमाले) ले समृद्ध नेपाल निर्माण गरेर मात्र आराम गर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको नीति, विचार, उद्देश्य र गन्तव्य समृद्ध नेपाल बनाउने रहेको हुँदा पार्टीले त्यो उद्देश्य पूरा गरेरमात्र आराम गर्ने वताउनुभएको छ । 
नेकपा (एमाले) को जनसंगठन नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको आज भएको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (एमाले) ले देश बनाएर मात्र आराम गर्ने वताउनुभयो । 
उहाँले नेकपा (एमाले) अरु जस्तो क्षणिक लाभका लागि फोहोरी खेल खेल्ने पार्टी नभएको स्पष्ट गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्न म्याराथन दौडमा रहेको हुँदा संगठित र योजनाबद्ध रूपमा काम गर्नुपर्ने वताउनुभयो । 
हरेक नेपालीको क्षण क्षणको खुशीबाट मात्र सुखी नेपालीको परिकल्पना पूरा हुने चर्चा गर्दै अध्यक्ष ओलीले समाजका हरेक क्षेत्रलाई समृद्ध बनाएर मात्र त्यो उद्देश्य प्राप्त गर्न सकिने धारणा राख्नुभयो । 
अध्यक्ष ओलीले कुनै पनि काममा सफलता प्राप्त गर्न इमान्दार प्रयास र अनुशासन आवश्यक पर्ने वताउँदै खेल क्षेत्रमा टिम स्पिरिटको अझ महत्व हुन्छ भन्नुभयो । 
अध्यक्ष ओलीले करिव दुईतिहाईको अवस्थामा पुगेको पार्टीलाई राजनीतिमा फाउल खेल्नेहरूले विभाजित गरे पनि उनीहरूलाई सफलता प्राप्त नभएको वताउँदै खेलाडिहरूले खेलमा कुनै पनि अनुचित, अवाञ्छित र अनुशासनहीन कुरा गर्नु उचित हुँदैन भन्नुभयो ।


उहाँले खेलकूद महासंघका नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुभयो । 
अध्यक्ष ओलीले खेलकूद महासंघले खेलका हरेक क्षेत्रमा अब्बल खेलाडि तयार गर्न र नयाँ युवालाई उनीहरूको रूचि र शारिरीक अवस्थाका आधारमा खेल क्षेत्रमा अवसर दिन सुझाउनुभयो । उहाँले नयाँ पुस्तालाई खेलमार्फत संगठित गरी राजनीतिक रूपमा पनि प्रशिक्षित गर्न महासंघलाई सफलता मिलोस् भन्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा नेपाल खेलकूद महासंघका ईन्चार्ज गोकुल बास्कोटाले महासंघ देशका सबै जिल्लामा विस्तार भई सम्पूर्ण खेल क्षेत्रमा अब्बल बन्न सकोस् भन्दै नयाँ कमिटीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका उपप्रमुख रचना खड्काले पनि नवनिर्वाचित कमिटीलाई बधाई दिनुभएको थियो भने नेपाल खेलकूद महासंघका नवनिर्वाचित अध्यक्ष पर्शुराम वस्नेतले प्रतिवद्धता मन्तव्य गर्नुभएको थियो । 
कार्यक्रममा नयाँ कमिटीलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो । सो अवसरमा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।