detail-img

कामनपाभित्र वडा वडामा प्रशिक्षण सम्पन्न 

 काठमाडौ । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत काठमाडौं महानगरपालिकाभित्र विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 
हालसम्म काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ४, ५, ७, ८ र ९ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । 
कार्यक्रमहरूमा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्यद्वय ईश्वरी रिजाल र आनन्द पोखरेलले प्रशिक्षण दिनुभएको थियो । 
यस्तै, गत शुक्रबार महानगर कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ भने सोही दिन वडा नम्बर ९ को वडा कमिटी बैठक पनि सम्पन्न गरिएको छ । यसैबीच, शनिबार वडा नं. १८ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका पोलिटब्यूरो सदस्यद्वय आनन्द पोखरेल र ईश्वरी रिजाललगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो । 

चितवन 
चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले नगरसभा दल गठन गरेको छ । पार्टी केन्द्रीय कमिटी सदस्य जानुका सिम्खडाको उपस्थिति र नगर कमिटीका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरसभा दल गठन गरिएको हो । 
बैठकमा नेताहरू पुरुषोत्तम न्यौपाने, खुमनारायण श्रेष्ठ, दिलिपचन्द्र घिमिरे, दिवस पाण्डे, शान्ति अधिकारी, खोमकान्त रेग्मीलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकले सभादलको नेतामा बिनोद रेग्मी र उपनेतामा विमला लामालाई चयन गरेको छ । 

नुवाकोट
नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. १ मा भेला सम्पन्न भएको छ । अभियानमा खटिनुभएकी केन्द्रीय सदस्य शर्मिला कार्कीले निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई मतदान नगर्ने पार्टी कार्यकर्ता हुन नसक्ने बताउनुभयो । 
नेकपा (एमाले) मा बस्ने र पार्टीका उम्मेदवार हराउन भूमिका खेल्नेको पार्टी सदस्यता खारेज गर्नुपर्ने उहाँको धारणा छ । 
बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले एमाले र अन्य पार्टीमा भएको फरकबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू बासु कँडुवाल, विजयसिं लोप्चन र नारायणप्रसाद खतिवडाले अभियानको बारेमा प्रकाश पार्नुभएको थियो । 
तारकेश्वर गाउँपालिकामा रहेका ६ वडामध्ये १, २, ३ र ६ नं. वडामा अभियान सम्पन्न भएको र बाँकी ४ र ५ नम्बर वडामा छिट्टै सम्पन्न हुने गाउँ कमिटी अध्यक्ष केशव घिमिरेले जानकारी दिनुभयो ।