detail-img

विभिन्न महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय संगठन विभागको बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको पन्ध्रौं बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । 
बैठकमा  महासचिव कमरेड शंकर पोख्रेलले राष्ट्रिय राजनीतिमा सर्वाधिक गतिशील र सुदृढ संगठन भएको भरोसायोग्य राष्ट्रिय शक्तिका रुपमा नेकपा (एमाले)लाई उभ्याउने गरी संगठनात्मक कामलाई व्यबस्थित बनाउन निर्देशन दिनुभएको थियो । 
पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्ने काम सम्पन्न भएको, यस क्रममा नयाँ सदस्यहरू उल्लेख्य सङ्ख्यामा थपिएका र पार्टी सांगठानिक जीवनमा एउटा महत्वपूर्ण कार्य सम्पन्न भएको निष्कर्षका साथ प्रतिवेदन केन्द्रीय सचिवालयलाई बुझाउने निर्णय बैठकले गरेको छ  । 


पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा भदौ १४ गते सम्पन्न बैठकले गरेका निर्णयहरू यस प्रकार छन्ः

१.नेकपा (एमाले) केन्द्रीय सचिवालयको पछिल्लो निर्णयले विभागको सचिवका हैसियतमा पन्ध्रौं बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य कमरेड माधव ढुंगेल र विभागका नयाँ सदस्यका रुपमा पोलिटव्युरो सदस्य कमरेड आनन्द पोख्रेललाई बैठकमा विशेष स्वागत गर्दै बधाई दिइयो । उपयुक्त निर्णयका लागि केन्द्रीय सचिवालयप्रति आभार ब्यक्तगरियो । कमरेड माधव ढुंगेललाई विभागको सचिवीय भूमिका र कमरेड आनन्द पोख्रेललाई विभागको तर्फबाट वागमती प्रदेशको जिम्मेवारी दिने निर्णय पनि गरियो । आ–आफ्नो जिम्मेवारी अनुरुप विभागका काममा उहाँहरूबाट सिर्जनात्मक र प्रभावकारी भूमिका रहने कुरामा बैठक पूर्णरुपमा विश्वस्त रहेको छ ।

२. चौतर्फी घेराबन्दी, आक्रमण र मिथ्या आरोपहरूको ओइरो लागिरहेकै अवस्थामा पनि नेकपा (एमाले) यतिबेला नयाँ जगबाट उठ्न खोजिरहेको छ । संगठनात्मक जीवनमा नयाँ प्रस्थान गरेको छ । पार्टीको महाधिवेशन आएपछि मात्र सदस्यता नवीकरण हुने, त्यो पनि नेतृत्वको होडवाजीका क्रममा हुनेगरेका बिक्रित परम्परालार्ई पहिलो पटक पार्टीले भङ्ग गरेको छ । आमरूपमा योग्य ठहरिएका पार्टी सदस्यहरू स्वयं उपस्थित भएर आफ्नो सदस्यता नवीकरण गरेका छन् । देशभित्र रहेका सबै सक्रिय सदस्यहरूको नवीकरण कार्य सम्पन्न भएको छ । पुराना सदस्यहरूको अभिलेख अद्यावधिक गरिएको छ । यसबिचमा नयाँ सदस्य पनि उल्लेखनीय सङ्ख्यामा थपिएका छन् । पार्टीको संगठनात्मक जीवनमा एउटा निकै महत्वपूर्ण कार्यसम्पादन भएको बैठकले महसुस गरेको छ । २०७९÷८० मा नवीकरण भएका तथा थपिएका नयाँ पार्टी सदस्यहरूको अभिलेख सम्बन्धी समग्र प्रतिवेदन अविलम्व केन्द्रीय सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ ।

३. पार्टी सदस्यहरूको स्तरोन्नति गर्नका लागि केन्द्रीय पार्टी स्कूलसँग पनि समन्वय गरेर २०८० मंसिरभित्र आधारभूत प्रशिक्षण सम्पन्न गर्नेगरी गृहकार्य गर्ने निर्णय भएको छ ।

४.असोज महिनाको अन्तिम हप्तामा दुईवटा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । 
जसमा (क) संगठन विभागका कामसँग जोडिएका प्राविधिक समस्याहरूबारे महासचिव र उपमहासचिवको बिशेष उपस्थितिमा कार्यालय सचिव, संगठन विभागका सदस्यहरूसहित विज्ञ प्राविधिकहरुसँग विशेष छलफल कार्यक्रमको आयोजना गरिने छ । 
(ख) नेकपा (एमाले) केन्द्रीय संगठन विभागका पूर्व प्रमुख कमरेडहरूबाट आजको सन्दर्भमा संगठनात्मक काम कसरी प्रभावकारी बनाउने ? भन्ने सम्बन्धमा सुझाव तथा मार्गदर्शन पाउनका लागि विभागका सबै सदस्यहरूको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिने छ । 
५. माघ महिनासम्ममा पार्टीका सबै जनसंगठनका पिंधसम्मका कमिटीगत संरचना खडा गरिसक्ने, आधारभूत तहसम्मका अधिवेशन तथा सम्मेलनहरू सम्पन्न गर्ने, सबै तहका पार्टी कमिटीहरूले जनसंगठन समन्वय संयन्त्रले यस सम्बन्धी बनाएका कार्ययोजनालाई कार्यन्वयन गर्न प्राथमिकताका साथ लाग्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

६. पार्टीको दशौं राष्ट्रिय महाधिवेशन पश्चात अन्य पार्टीबाट नेकपा (एमाले) प्रवेश गर्नुभएका नेता कार्यकर्ताहरूको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउन र कारणबस उपयुक्त जिम्मेवारी नपाइराख्नुभएका कोही कमरेडहरु हुनुहुन्छ भने तत्काल उपयुक्त जिम्मेवारी दिई दुई महिनाभित्र संगठन विभागमा जानकारी आइपुग्नुपर्ने निर्णय गरिएको छ ।

७. नेकपा स्थापनाको हिरक बर्षको अवसरमा संस्थागत रूपमा तयार पारिएको जिल्लाको नेकपाको इतिहास छ महिनाभित्र संगठन विभागमा पठाउन अनुरोध गरिएको छ ।