detail-img

विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको बहुमतको सरकार आवश्यकः अध्यक्ष ओली 

नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको एकल बहुमतको सरकार बनाउनु आवश्यक रहेकाले पार्टीलाई सशक्त रूपमा अघि बढाइने बताउनुभएको छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको आज बुटवलमा उदघाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– आगामी निर्वाचन २०८४ पछि एमालेले एक्लै बहुमतको सरकार बनाएर जनताको आकाङ्क्षा पूरा गर्ने दिशामा अगाडि बढ्ने छ । 
उहाँले मिसन २०८४ अन्तर्गत अबको अभियान घर–घरमा पार्टी सदस्य बनाउने र संगठन बिस्तार गर्ने हुनेछ भन्नुभयो । अध्यक्ष ओलीले देश बनाउने महान उद्देश्य बोकेको पार्टी एमालेबाट विगतमा बाटो बिराएर अन्यत्र गएकाहरूलाई मूल घरमा फर्कन आग्रह गर्नुभयो ।


लुम्बिनीबाट एकताको सन्देश दिनुपर्छ
अध्यक्ष ओलीले पार्टीको  लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनुभयो । 
उहाँले सहमतिको खाका बनाउन प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी नेताहरूलाई निर्देशन दिनुभयोे । 
‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उहाँले भन्नुभयो– १९ जना पदाधिकारीमा लुम्बिनीबाट सातजना हुनुहुन्छ, यस्तो ठाउँमा किन विवाद आउनुपर्यो ? यहाँ नेतृत्वको विवाद गर्ने छुट छैन, आजै सहमति गरेर अगाडि बढ्नुहोस् ।’
अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आशिर्वाद भएर हुँदैन, आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– तपाईँहरू बस्नुस्, कुरा टुङ्ग्याउनुस्, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस्, म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिङ्गो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।
अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिङ्गो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)ले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै उहाँले भन्नुभयो– यो अधिवेशन प्रादेशिक संरचनामा गएर कर्मकाण्डी अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ । अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो । चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म पुग्ने गरी बनेको पार्टी होइन, यसमा आम एमालेका कार्यकर्ताले सबैलाई जवाफ दिनुपर्छ ।
अध्यक्ष ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताउनुभयो ।
नेकपा एस र माओवादीलाई सङ्केत गर्दै अध्यक्ष ओलीले भन्नुभयो– वामपन्थी खोल ओढेकाहरूले दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्, तिनै शक्तिहरू राष्ट्रवादी भन्दै हिंड्दैछन् । माओवादीसँगको एकता कम्युनिष्ट शक्ति बलियो बनाउन गरिएको भएपनि कुण्ठित मनसाय राखेकाहरूबाट पार्टी कब्जा गर्ने गलत मनसाय देखिएपछि समस्या आएको हो ।
एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको र आफ्नो नेतृत्वको सरकारका पालामा शुरू गरिएका विकासका योजना पनि अहिले सबै अलपत्र अवस्थामा रहेको उहाँको भनाइ छ ।
उहाँले विश्वका उपनिवेश नबनेका १९ देशमध्ये नेपाल पनि भएको वताउँदै कहिल्यै पराधीन नभएका हामी राष्ट्रिय स्वाभिमानलाई तलमाथि हुन दिने छैनौं भन्नुभयो ।  
भ्रष्टाचारमा सरकारका मानिस जोडिएपछि घटना गुपचुप बनाइँदै 
सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका भ्रष्टाचारका घटना सबै गुपचुप बनाइँदै गरेको वताउँदै अध्यक्ष ओलीले सरकारलाई भ्रष्टाचारविरूद्धको अभियान रोकिन्न होइन भ्रष्टाचारतिरको अभियान रोकिन्न भन्न सुझाउनुभयो । 
नेकपा (एमाले) र एमालेका नेताहरू जोडेर चर्चा गर्ने विषयहरू छानबिन गर्न हामीले खुलारूपमा चुनौती दिए पनि नेकपा (एमाले) र यसका नेताहरू दोषी नदेखिने भएकाले सरकारले छानबिन नगरी हल्ला मात्र गर्ने गरेको उहाँको भनाइ छ । 
एमाले भ्रष्टाचार गर्न राजनीति गरेको पार्टी होइन, तर एमालेभित्र कोही कसैको त्रुटी भेटिए कारबाही हुने स्पष्ट गर्दै अध्यक्ष ओलीले अनावश्यक प्रोपोगाण्डा नगर्न चेतावनी दिनुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एमालेमा पहिरो जान लागेको भन्ने भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो– एमाले माटो र खरानीको डल्लो होइन पहिरो जाने  ? प्रधानमन्त्री प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकाले एमाले विरुद्ध अनर्गल बोल्न थालेको उहाँको भनाइ छ ।

एमालेको नीति र नेतृत्वमा कुनै विवाद छैनः उपाध्यक्ष पौडेल


अधिवेशन सफलताको शुभकामना दिनुहुँदै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको वताउनुभयो । 
उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो– एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । एमालेको नीतिले देश विकास हुन्छ । नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् तर ती पानीका फोका हुनेछन् ।
उपाध्यक्ष पौडेलले १०औँ महाधिवेशनबाट निर्वाचित पार्टी कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो–एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन । पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । उपाध्यक्ष पौडेलले गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । 
उहाँले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको स्पष्ट गर्नुभयो । 
नेता पौडेलले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएको र अध्यक्ष ओली समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता भएको वताउनुभयो । 
उहाँले आफू र महासचिवलाई जोडेर गुटबन्दीको चर्चा चलेकोमा पनि आपत्ति जनाउनुभयो । उपाध्यक्ष पौडेलले  आफू कुनै पनि गुटबन्दीमा नलाग्ने भन्दै गुटबन्दी मुर्दावाद, पार्टी एकता जिन्दाबाद भनेर अघि बढ्ने बताउनुभयो ।
पार्टीमा गुटबन्दी देख्नु दृष्टिदोषः महासचिव पोखरेल


उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिनुहुँदै महासचिव शंकर पोखरेलले पार्टीमा गुटबन्दी देख्नु दृष्टिदोष मात्र भएको बताउनुभयो । 
महासचिव पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूलाई जोडेर आएक अनेकथरि समाचार मिथ्या भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– केही दिनदेखि कमरेड विष्णु पौडेल र मलाई जोडेर सञ्चार माध्यममा विभिन्न प्रकारका समाचार आएका छन्, ति हामीले पढेका छौं, हेरेका छौं तर एमालेमा गुटबन्दी छैन । हामी अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा एकतावद्ध भएर अघि बढेका छौं ।
महासचिव पोखरेलले गुटबन्दीका सन्दर्भमा आएका समाचारलाई मिथ्या सावित गर्न जारी अधिवेशनलाई एकताको अधिवेशनको रूपमा रूपान्तरण गर्न सम्पूर्ण प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)मा पहिरो जाँदैछ भनेर भ्रम फैलाउने प्रयास गरेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– नेकपा (एमाले)मा होइन, अब माओवादीमा पहिरो जान जरूरी छ । देशभक्तहरू आउनुस् एमालेमा, विकास र समृद्धिको चाहना राख्नेहरू आउनुस् एमालेमा ।’
धेरै दलका कारण आज मुलुक अत्यन्त ठूलो सङ्कटबाट गुज्रिरहेको बताउँदै उहाँले मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको भनाइ राख्नुभयो ।  
उहाँले जबसम्म देशमा बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकाङ्क्षा पुरा हुन सक्दैन भन्नुभयो । 
उहाँले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीको प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– एक प्रकारले भन्ने हो भने संविधान सभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुत्सित प्रयास भइरहेको छ ।’ 

पार्टीभित्रको एकताबाट नै एमाले विरुद्धको भ्रम चिर्न सकिन्छः उपमहासचिव ज्ञवाली


उपमहासचिव ज्ञवालीले देशको प्रधानमन्त्री, मन्त्री र सरकारमा रहेका दलका नेताहरूले सामाजिक सद्भाव खल्बलिने गरी दिएका अभिव्यक्तिले देशलाई थप अस्थिरतातर्फ लगेको वताउनुभयो । 
नेता ज्ञवालीले सत्तारुढ दलका नेता कार्यकर्तालाई जोगाउने गरी विभिन्न भ्रष्टाचारका फाइलहरू खोल्ने र बन्द गर्ने हल्ला गरिएको बताउँदै अब एमालेभित्रको एकताबाट त्यसलाई चिर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । सबै शक्तिको गठबन्धन हुँदा पनि एमाले जनमतमा पहिलो शक्ति भएको बताउँदै उहाँले सरकार बनाउन बहुमत आवश्यकता हुने भएकाले मिसन–०८४ अभियान थालिएको स्पष्ट गर्नुभयो । 
लुम्बिनीमा एमालेलाई कसैले कमजोर बनाउन सक्दैनः सचिव अर्याल
पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा विवाद खोज्नेहरूलाई लुम्बिनीबाट नै असफल पार्ने बताउनुभयो । 
एमालेभित्र गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाउने तत्वहरूबाट यस्तो अनावश्यक हल्ला गरिएको वताउँदै उहाँले एमालेको लालकिल्ला लुम्बिनीमा पार्टीलाई कमजोर बनाउन यस्तो प्रोपोगाण्डा गरिए पनि त्यसबाट हामी कोही विचलित हुनेछैनौं भन्नुभयो । लुम्बिनी प्रदेशमा एमालेविरुद्ध सबै शक्ति लाग्दा पनि पहिलो शक्ति बनेको र यसबाट एमाले र यसमा आस्थावान कार्यकर्ता विचलित नहुने उहाँको भनाइ छ । 
गुट बनाउने छुट कसैलाई छैनः सचिव विष्ट
अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्दै सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको वताउनुभयो । सचिव विष्टले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउनबाट अब एमालेलाई कसैले रोक्न नसक्ने विश्वास व्यक्त गर्नुभयो । 
उद्घाटन सत्र प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।  उद्घाटन सत्र सकिएपछि शनिबार नै बन्द सत्र सुरु भएको छ ।