detail-img

मानव अधिकार उल्लङ्घनका जघन्य घटनामा आयोग बोल्न सक्नुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्ष राज्य वा विद्रोही जोसुकैले गर्ने जघन्य मानव अधिकार उल्लङ्घनका घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले जघन्य घटना हो भन्नसक्नुपर्ने वताउनुभएको छ । 
अध्यक्ष ओलीले आज ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको अभिलेख केन्द्र अवलोकनपछि सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । 
गोरखाका नन्दप्रसाद र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारी द्वन्द्वमा नभई घरमै बसिरहेको अवस्थामा घिसारेर लगी कुटेर मारेको घटना जघन्य मानव अधिकार उल्लङ्घनभित्र पर्छ, पर्दैन ? आयोगले भन्न सक्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ । 
आमरण अनसनमा रहेको अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवप्रति इङ्गित गर्दै अध्यक्ष ओलीले शवको  दाहसंस्कारसमेत नभई रहनु लोकतन्त्रका लागि सुहाउने कुरा होइन भन्नुभयो । 
उहाँले राज्य र विद्रोही पक्षका सेनाबीचको लडाईंमा बेसरोकारका मानिस गिरफ्तार वा कब्जामा लिई मारिएका घटनालाई आयोगले कडाइका साथ हेर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट गर्नुभयो ।


नेपालमा माओवादीको सशस्त्र द्वन्द्वकालमा राज्य र माओवादी दुबै पक्षबाट उस्तै शैलीमा अत्यन्त नृशंस र जघन्य क्रियाकलाप भएको र आम नागरिकको मानव अधिकार दुबैतर्फबाट चेपुवामा परेको अध्यक्ष ओलीले वताउनुभयो । 
त्यसबेला शान्ति पक्षधर र हिंसा पक्षधरका बीचमा पनि द्वन्द्व रहेको वताउँदै शान्तिका लागि समन्वय गर्दा आफूहरूमाथि द्वन्द्वरत दुबै पक्ष राज्य र माओवादीले शङ्काको दृष्टिले हेर्ने गरेकाले जोखिममा परेको स्मरण गर्नुभयो । 
विगतमा आफूले प्रहरी हिरासतमा भोगेको यातना र मानव अधिकार अभावको अनुभव सुनाउँदै अध्यक्ष ओलीले अहिले व्यवस्था परिवर्तन, कानुन निर्माण र मानव अधिकार आयोग स्थापनाका कारण अवस्था त्यस्तो नरहेको वताउनुभयो ।

उहाँले अहिले पनि सरकार भने कानुन बमोजिम चल्न तयार छैन भन्ने कुरा सरकारको आलोचना गरेका कारण विना पक्राउ पूर्जी सांसदलाई पक्राउ गरेको घटनाबाट पुष्टि हुन्छ भन्नुभयो । 
राष्ट्रिय मानव अधिकार आयोग आफ्ना काममा सक्षम र सफल रहेको तर भूमिकालाई थप प्रभावकारी बनाउन सुझाव दिनुहुँदै अध्यक्ष ओलीले आयोगको काम भएन भनेर स्तर घटाउने चर्चा उचित नभएको र त्यो हामी सबैका लागि बेइज्जतीको कुरा भएकाले स्तर घट्न दिनु हुँदैन भन्नुभयो ।  
उहाँले अहिले मुलुकमा सशस्त्र द्वन्द्व नरहे पनि विभिन्न रूप र बहानामा मानव अधिकार उल्लङ्घनका घटना हुनसक्ने तथा राज्यले नागरिकको अधिकार हनन गर्नसक्ने हुँदा मानव अधिकार रक्षा गर्ने कर्तव्य बाँकी रहने र आयोगले समय अनुसार भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पहिचानको राजनीतिका नाममा अहिले पनि विभिन्न साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको छ, मुलुकलाई हिंसातर्फ धकेल्ने प्रयास भएको छ, यो मानव अधिकार आयोगका लागि चुनौती हुनसक्छ । 
अध्यक्ष ओलीले आयोगको अभिलेख केन्द्रमा राखिएका तस्वीरहरू, अध्ययन अनुसन्धानका दस्तावेजहरू र प्रकाशनहरू तथा द्वन्द्वको समयका घटनाका तस्बीर, बेपत्ताहरूको खोज अनुसन्धानका आलेख अभिरुचिपूर्वक अवलोकन गर्नुभयो र भन्नुभयो– इतिहासको ताजा स्मरण गर्न पाएँ । 
अध्यक्ष ओलीले त्यहाँ प्रदर्शन गरिएका कतिपय तस्वीरहरूको आफैले मोवाइल प्रयोग गरी फोटो खिच्नु भएको थियो । 
सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्य लीली थापा लगायत पदाधिकारीहरूले अध्यक्ष ओलीलाई केन्द्रमा राखिएका तस्वीर, अनुसन्धानका दस्तावेज र आयोगको भौतिक संरचना अभाव लगायत  विषयमा जानकारी गराउनुभएको थियो ।