detail-img

महासचिव पोखरेलद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा विचार प्रस्तुत 

छोङछिङ (चीन) । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जनवादी गणतन्त्र चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल आज बिहान चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदानप्रदान र अन्तर्क्रिया  कार्यक्रममा सहभागी हुनभयो । 
कार्यक्रममा महासचिव पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना, विकासक्रम र उपलब्धिका साथै पार्टीको नीति, विचार र गन्तव्यका सम्बन्धमा विचार राख्नुभएको थियो । 
महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित नेकपा(एमाले)ले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको जानकारी गराउँदै नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा  मुख्य तीन मोडहरूका बारेमा चर्चा गर्नुभयो । 
पार्टी स्थापना र संगठन निर्माणमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, विचार निर्माणमा जननेता मदन भण्डारी र समृद्धि यात्राको थालनीमा अध्यक्ष केपी शर्मा ओलीको दूरदर्शी दृष्टिकोणका बारेमा महासचिव पोखरेलले जानकारी गराउनुभयो । 
महासचिव पोखरेलले थप्नुभयो– हामी हाम्रा अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपालः सुखी नेपाली’ को लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्छौं ।  


नेकपा (एमाले)ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ र त्यसपछि अगाडि सारेको ‘मिसन– ८४’ का माध्यमबाट जनतासँग घनिष्ट सम्बन्ध स्थापित गर्ने, विचारधारात्मक काम अगाडि बढाउने र संगठन सुदृढीकरणमा केन्द्रित हुने विषयमा पार्टी केन्द्रित भएको चर्चा महासचिव पोखरेलले गर्नुभयो । 
कार्यक्रममा चीनको आधुनिकीकरणमा छोङछिङको अभ्यासका बारेमा प्रोफेसर सुन लिङ उले  र प्रोसेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद र सि विचारधारा विषयमा प्रस्तुती राख्नुभएको थियो ।
चीनको १२ दिने सद्भावना भ्रमणमा क्रममा शुरू गन्तव्यका रूपमा आइतबार विहान छोङछिङ पुग्नुहुँदा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई चीनकोे छोङछिङ महानगर विदेश मामिला कार्यालयका उपमहानिर्देशक झोउ यीले स्वागत गर्नुभएको थियो । 
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू  ज्वाला कुमारी  शाह, राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी,  रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता,  मानबीर राई लगायत हुनुहुन्छ । 
प्रतिनिधि मण्डलले आइतबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारी साधनमा प्रयोग हुने व्याट्री र लिड लाइट लगायत प्रविधिमा प्राप्त सफलताका बारेमा जानकारी लिएको थियो ।