detail-img

महासचिव पोखरेल र सीपीसीका पोलिटव्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

छोङछिङ (चीन) । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा जनवादी गणतन्त्र चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ । 
महासचिव पोखरेल र चीनको सबैभन्दा ठुलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहनुभएका जियाजुनसँग छोङछिङमा भेटवार्ता भएको हो । 
भेटमा सीपीसीका पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– चीन बिरोधी गतिविधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’


एमाले अध्यक्ष ओली देशभक्त  नेताः जियाजुन  
नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पाटीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नुपर्ने बताउनुभयो । 
नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणको क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रूपमा पाएको बताउनुभयो । 
गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीब्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको विकासमा सहयोगको लागि चीन तत्पर रहेको बताउनुभयो । 
आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरिबबीच असन्तुलनलाई हटाउन जरूरी रहेको उल्लेख गर्दै जियाजुनले यसको लागि छोङछिङको सफल अनुभव रहेको बताउनुभयो । उहाँले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण हुने हुँदा नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उहाँले दक्षिण एसियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिको लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । धान उत्पादनको लागि छोङछिङ प्रसिद्ध रहेको बताउदै उहाँले नेपालको कृर्षिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने बताउनुभयो । 
नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिकाः महासचिव पोखरेल  
भेटवार्तामा महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताउनुभयो । भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनमा महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले जनताको बहुदलीय जनवादका प्रवर्तक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताउनुभयो । 
महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेस्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । यसले नेपालको स्वाधीनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताउनुभयो ।
उहाँले राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरूको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनुभयो । 
महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राख्नुभयो ।  
भेटमा नेकपा (एमाले)का परराष्ट्र मामिला विभाग प्रमुख राजन भटराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरू हुनुहुन्थ्यो ।