detail-img

कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै  लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न  

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । 
लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले यही भदौ १६गते बुटवलमा उद्घाटन गर्नुभएको थियो ।
भदौ १९ गते मङ्गलबार भएको निर्वाचनमा कंडेल ४७९ मत प्राप्त गरी अध्यक्षमा  विजयी हुनुभएको छ भने अर्का प्रत्यासी हरि रिजालले ४७७ मत प्राप्त गर्नुभएको छ । रिजाललाई दुई मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको हो ।  
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।


पदाधिकारीतर्फ उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनुभएको छ भने विश्वराज बरालले ३०६ मत, पुजन विश्वकर्माले ९८ मत र शान्तकुमार वलीले ५६ मत प्राप्त गर्नुभयो । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत प्राप्त गरी निर्वाचित हुनु्भएको छ भने दुर्गाप्रसाद थारू चौधरीले ३९३ र उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभयो । 
महिला उपसचिवमा लीला रानामगर ३५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने अन्य प्रत्यासी बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनुभयो । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । 
अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट चुनिएका छन् । कुल एक हजार पाँचजना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । विजयी उम्मेदवारहरूको सपथग्रहण र अधिवेशन समापन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।