detail-img

कर्णाली प्रदेश अधिवेशनः भदौ ३० गते प्रतिनिधि छनौट 

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी आगामी असोज १० र ११ गते हुने प्रथम अधिवेशनको तयारीमा जुटेको छ । 
प्रदेश कमिटीको आज (२०८० भदौ २१ गते) बसेको कार्यालय बैठकले प्रतिनिधिको सङ्ख्या, छनौटको आधार र मापदण्ड टुङ्गो लगाएको हो । 
कार्यालय बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । 
प्रदेश अध्यक्ष शाहका अनुसार अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधि छनौट भदौ ३० गते एकैसाथ गरिनेछ । 
भूगोलतर्फ एकसय पार्टी सदस्य बराबर एक, दलिततर्फ ७५ पार्टी सदस्य बराबर एक जना प्रतिनिधि छनौट हुनेछन् । त्यस्तै एकतिहाइ महिला प्रतिनिधि छनौट गर्नुपर्ने छ । प्रतिनिधि छनौटका लागि पालिका, दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र रहने र दलित पार्टी सदस्यले भूगोल वा दलितमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । 
प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । प्रदेश अधिवेशनमा जनसंगठनको समेत प्रतिनिधित्व रहेनछ । इञ्चार्ज भट्टले प्रदेश कमिटीमा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको समेत जानकारी दिनुभयो ।

लोगो सार्वजनिक



प्रदेश प्रचार तथा प्रकाशन विभागद्वारा विहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं प्रदेश इञ्चार्ज लेखराज भट्टले प्रथम प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक गर्नुभयोे । दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनका लागि सूर्य चिन्ह, कांक्रेविहार र रारा अङ्कित तस्बिरसहितको लोगो निर्माण गरिएको छ । 
लुम्बिनीको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न मिल्दैनः भट्ट
पत्रकार सम्मेलनमा सचिव भट्टले लुम्बिनी प्रदेशमा सम्पन्न भएको अधिवेशनमा कुनै नेताको गुटका रूपमा नभई जनताको बहुदलीय जनवादको अभ्यास गरिएको बताउनुभयो । निर्वाचन हुँदैमा गुट वा उपगुट भनेर बुझ्न नहुने उहाँको भनाइ छ ।