detail-img

विकास र सुशासनका लागि नयाँ सत्ता साझेदारीः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ सत्ता साझेदारी देशमा विकास र सुशासन दिन बनेको बताउनुभएको छ । नेकपा (एमाले) पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार वीरगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ सरकार बनाइएको स्पष्ट गर्नुभयो । 
अब निराशालाई तोड्नुपर्छ भनेर नेकपा (एमाले) लागेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अब हामी सुशासन र विकास के हो भन्ने देखाउन चाहन्छौँ ।


आर्थिक, सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यस अनुसार अघि बढ्न नसकेको उहाँको भनाइ छ । महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताउँदै मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेको विचार व्यक्त गर्नुभयो । 
अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयतातर्फ नै होम्ने प्रयास भइरहेको बताउँदै त्यसले समग्र मधेसको हित गर्न नसक्ने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
नेकपा (एमाले)को नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको बताउँदै उहाँले भन्नुभयो– मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जान्छ । नेपाली जनताको स्वाभिमान जोगाउने नेताको रूपमा अध्यक्ष ओली भएको उहाँले बताउनुभयो । 
कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेको र विकासको काम गर्न नेकपा (एमाले) नै सरकारमा आउनु परेको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।
उहाँले भन्नुभयो– आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण नेकपा (एमाले) हो । मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा (एमाले) छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ । 
नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम नेकपा (एमाले)ले सुरु गरेको महासचिव पोखरेलले बताउनुभयो । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको र यसबाट तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  
नेकपा (एमाले)लाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि विकास र समृद्धिका सबै काम रोकिएका र नेपालको दुर्भाग्यका दिन सुरु भएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरूरी रहने र नेपालको सन्दर्भमा यो क्षमता नेकपा (एमाले)सँग मात्र रहेको प्रष्ट पार्नुभयो । 
नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा (एमाले) भएको भनाइ उहाँले राख्नुभयो  ।  महासचिव पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । बैठकमा पार्टीका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।