detail-img

लेखा आयोगको नवौं बैठक सदस्य मनोनयन र कार्य योजना निर्माण गर्दै सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको नवौं पूर्ण बैठक सम्पन्न बाराको सिमरामा सम्पन्न भएको छ । 
आयोगका अध्यक्ष डाक्टर पुष्प कँडेलको अध्यक्षता गत फागुन २८ र २९ गते बसेको बैठकले अघिल्लो बैठकयता गरिएका कामहरूको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको योजना निर्माण गरेको छ ।
बैठकले लेखापरीक्षण हुन बाँकी जिल्ला, महानगर, उपमहानगर र जनसंगठनहरूको लेखापरीक्षण सम्पन्न गर्ने, पालिका कमिटी र मातहत  कमिटीहरूको लेखापरीक्षणका लागि प्रदेश लेखा कमिटीहरूलाई परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, प्रदेश तहसम्म सफ्टवेयर प्रणाली लागू गराउने, लेखा दिग्दर्शनको दोस्रो संस्करण प्रकाशन गर्ने निर्णय गरेको छ ।


बैठकले चालु आर्थिक वर्ष २०८०÷०८१ को पार्टी केन्द्रीय कोषको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने, आयोगका रिक्त सदस्यमा पार्टी बिधान बमोजिम मोहन रेग्मी (काठमाडौं) र अशोक के.सी.(सिराहा) तथा समायोजन प्रक्रियाबाट हरिकुमार श्रेष्ठ (पर्वत) लाई मनोनित गर्ने, लेखा नियमावली, लेखा निर्देशिका, लेखा ढाँचा संशोधन र आन्तरिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदनको परिमार्जित फर्मेट लागू गर्ने, लेखापरीक्षण कार्यविधि, २०८० पारित गर्ने, आयोगको तीनवर्षे आवधिक कार्ययोजना पार्टीको महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा पेश गर्ने, आर्थिक सुशासनका आधारमा कमिटीहरूको मूल्याङ्कन गर्नका लागि मूल्याङ्कन कार्यविधि निर्माण गर्ने, स–सानो आर्थिक कारोवार गर्ने कमिटीका लागि संक्षिप्त लेखा ढाँचा निर्माण गर्ने समेतका निर्णयहरू गरेको छ ।  
बैठकमा आयोगका अध्यक्ष कंडेलले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुहुँदै निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिनुभएको  आयोगका सचिव शिव अधिकारीले बताउनुभयो ।